काठमाडौं उपत्यका कोरोनाको नयाँ 'हटस्पट' हुने सम्भावना बढेको छ। अहिले देशभरिमै काठमाडौं सबभन्दा बढी कोरोना संक्रमित भएको जिल्ला हो।
पछिल्लो एक सातामा उपत्यकाभित्र दैनिक दुई सयभन्दा बढी संक्रमित थपिएका छन्। देशभरिमा जति संक्रमित भेटिन्छन्, तीमध्ये २५ प्रतिशतभन्दा बढी काठमाडौं उपत्यकाकै हुन्छन्।
काठमाडौंलाई 'हटस्पट' बन्न नदिन उपत्यकाका तीनै जिल्ला प्रशासनले भदौ १७ गतेसम्म निषेधाज्ञा लागू गरेका छन्। यसबीच तीनै तहको सरकारबाट जनशक्ति र पूर्वाधारको प्रभावकारी परिचालन गरी काठमाडौं, भक्तपुर र ललितपुरका घना बस्तीमा संक्रमण फैलिनबाट रोक्न सकिन्छ।
यो जिम्मेवारी सरकारले कसरी निर्वाह गरिरहेको छ? संक्रमित पत्ता लगाउने, उनीहरूलाई आइसोलेसनमा राख्ने, अस्पताल पुर्याउने पूर्वाधार र जनशक्तिको तयारी के छ? हामीले यी प्रश्न काठमाडौं उपत्यकाभित्रका १७ महानगर/नगरपालिकाका मेयर/उपमेयरलाई सोधेका छौं।
काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यसँग भने सोमबार दिउँसोदेखि बुधबार दिउँसोसम्म बीसौंचोटि प्रयास गर्दा पनि सम्पर्क हुन सकेन। उनका सञ्चार विज्ञ मोहन बास्तोलामार्फत् सम्पर्क गर्दा पनि हामी सफल भएनौं। उपमेयर हरिप्रभा खड्कीलाई सम्पर्क गर्दा उनले आफू बिरामी भएकाले पछिल्लो अपडेटबारे जानकारी नभएको बताइन्। त्यसैले, हामीले तिनै प्रश्न काठमाडौं महानगरका प्रवक्ता ईश्वरमान डंगोललाई गरेका छौं।
तपाईंको नगरपालिका कुन हो? आफ्नो नगरभित्र के हुँदैछ? तयारी के छ? यसबारे आफ्ना मेयर/उपमेयरलाई सुन्नुस् है। उनीहरूले कसरी आफ्नो जिम्मेवारी निर्वाह गरेका छन्, त्यसले नै कोरोना महामारीविरूद्धको लडाइँमा काठमाडौं उपत्यका कुन बाटोमा हिँड्छ भन्ने निर्धारण हुनेछ।
...
ईश्वरमान डंगोल (प्रवक्ता, काठमाडौं महानगरपालिका)
काठमाडौं महानगरपालिकामा भदौ ८ गतेसम्म कोरोना संक्रमितको संख्या १ हजार ८ सय ४० पुगेको छ भने १२ जनाको मृत्यु भएको छ।
महानगर प्रवक्ता ईश्वरमान डंगोलका अनुसार १५ प्रतिशत संक्रमितलाई लक्षण देखिएको छ। संक्रमितमध्ये ५०० जना होम आइसोलेसनमा छन् भन्ने उनको अनुमान छ। महानगरले कति जना अस्पताल वा आइसोलेसन र कति जना होम आइसोलेसनमा छन् भन्ने ठ्याक्कै तथ्यांक निकालेको छैन।
होम आइसोलेसनमा बसेकालाई प्रत्येक वडाको टिमले निगरानी गरिराखेको डंगोलको भनाइ छ। 'महानगरको जनस्वास्थ्य महाशाखाअन्तर्गत वडा-वडामा भएका स्वास्थ्यकर्मीसँग संक्रमितको डाटा हुन्छ। उनीहरूले नै बिरामी निगरानी गरिरहेका छन्,' उनले भने।
होम आइसोलेसनमा बसेका बिरामीले आफूलाई गाह्रो हुँदै गए महानगरको हटलाइन् ११८०, वडाध्यक्ष वा वडाकै स्वास्थ्यकर्मीलाई फोन गरेर समस्या राख्न सक्ने व्यवस्था मिलाइएको उनले बताए।
'कोरोनासम्बन्धी समस्या भए महानगरको हटलाइन ११८० मा फोन गर्न सकिन्छ भनेर जनतालाई अवगत गराएका छौं। महानगरको वेबसाइटमा सबै जनप्रतिनिधिको नम्बर (http://kathmandu.gov.np/elected-officials) छ। कसैलाई आवश्यक परे फोन गर्न सक्नुहुन्छ,' उनले भने।
महानगरमा रहेका कसैलाई कोरोनाको शंका लाग्यो भने आफैं जचाउन जान सक्छन्। टेकु वा अन्यत्र जहाँ परीक्षण गरे पनि पोजेटिभ आएको नतिजा महानगरको जनस्वास्थ्य महाशाखा हुँदै सम्बन्धित वडामा रिपोर्ट जान्छ। लक्षण देखिने वा नदेखिने कस्तो संक्रमण भएको हो त्यसको रिपोर्ट हेरेर संक्रमितलाई कहाँ राख्ने निर्णय हुन्छ।
वडामा सूचना आएपछि संक्रमितको कन्ट्याक ट्रेसिङ, संक्रमितको व्यवस्थापन अनुगमन लगायत काम गरिन्छ। स्वास्थ्यकर्मी र जनप्रतिनिधि आफैंले पनि संक्रमितहरूलाई फोन गर्छन्। १४ दिनपछि कोरोना परीक्षण गरेर निको भए-नभएको पत्ता लगाउने गरिएको उनले बताए।
उनका अनुसार १४ दिनकै बीचमा लक्षण देखिए र अवस्था गम्भीर हुँदै गए संक्रमितले वडालाई वा महानगरको हटलाइनमा फोन गरे अस्पतालसम्म पुर्याइदिने व्यवस्था गरिएको छ।
महानगरसँग अहिले ७ वटा एम्बुलेन्स छन्। ती एम्बुलेन्स हरबखत तयारी अवस्थामा रहेको उनले बताए।
महानगरमा होम आइसोलेसनमा बस्न सक्ने सुविधा सबैको नभएकाले आइसोलेसन बढाउन लागिएको उनको भनाइ छ। काठमाडौंको बलम्बु, भक्तपुरको खरिपाटी लगायत विभिन्न ठाउँ गरी अहिलेसम्म काठमाडौंमा १५ सय आइसोलेसन भएको उनले जानकारी दिए। 'ती भरिने बेला भएकाले थप्ने कुरा भइरहेको छ,' उनले भने।
उनका अनुसार काठमाडौं महानगर वा उपत्यकामा संक्रमितको उपचारका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार मिलेर काम गर्ने कुरा भएको छ।
'लक्षण देखिएका संक्रमितको उपचार जिम्मा संघीय सरकारले लिने, आइसोलेसन वार्डहरू प्रदेश सरकारले बनाउने र महानगरपालिकाले बिरामीलाई सहयोग, अनुगमन, कन्ट्याक ट्रेसिङ लगायत गर्ने समझदारी छ,' उनले भने, 'तीनवटै सरकार मिलेर ६ हजार आइसोलेसन उपत्यकामा बनाउने भनिएको छ।'
पहिलो चरणमा १५ सयदेखि २ हजार बेडको आइसोलेसन बनाउन सुरू गरिहाल्ने निर्णय भएको उनले बताए। साता दिनअघि नै महानगरपालिकाले १ हजार बेडको आइसोलेसन एक साताभित्र बनाउने घोषणा गरेको थियो। उनले भने, 'घोषणा गरेर मात्र नहुने रहेछ। आइसोलेसन वार्ड बनाउन त्यति सहज छैन। जहाँ ठाउँ छ, त्यहाँ मान्छेले डिस्टर्ब गरेको छ, राख्न दिएको छैन। जहाँ डिस्टर्ब हुन्न, त्यहाँ ठाउँ भए पनि बनाउन सम्भव भएन।'
कहाँ बनाउने भनेर दुई-तीनवटा विकल्पमा छलफल भइरहेको उनले जानकारी दिए।
पहिलो, सञ्चालनमा रहेका अस्पताललाई नै प्रयोग गर्ने। सञ्चालनमा नआइसकेका एक-दुईवटा अस्पताल छन्, तिनलाई प्रयोग गर्ने कि भन्ने पनि छ।
दोस्रो, सबै होटलहरू खाली छन्। होटल एरिया छानेर त्यहाँ आइसोलेसन राख्न सकिन्छ।
तेस्रो, दशरथ रंगशालामा आइसोलेसन वार्ड बनाउने कि भन्ने पनि सोच छ। यसबाहेक अरू खाली ठाउँहरू पनि हेरिरहेको डंगोलले जानकारी दिए।
'ठाउँ पनि हेर्ने र सम्भव भएका ठाउँमा सुरू गर्दै जानेबारे संघीय, प्रदेश र स्थानीय सरकार बसेर हिजो एउटा समझदारी भएको छ,' उनले भने, 'सय सकिन्छ कि दुई सय सकिन्छ बनाइहाल्ने गरी आजैबाट त्यसको वर्कआउट सुरू गर्ने भन्ने थियो।'
परीक्षणको दायरा बढाउन उपत्यकाको नगरपालिका फोरमले निर्णय गरेको छ। उपत्यकाभरको कन्ट्याक ट्रेसिङ सक्ने अनि धेरै भिडभाड हुने, बाहिरबाट आएका मान्छे बस्ने ठाउँ पहिचान गरेर सामुदायिक स्तरमा नमूना लिने कुरा भएको उनले जानकारी दिए।
'यो निषेधाज्ञा वा लकडाउन अवधिभर भिडभाड हुने ठाउँमा ४ हजार, ५ हजार, २० हजार कति स्याम्पल लिनुपर्ने हो लिने भन्ने छ,' डंगोलले भने, 'यो अवधिमा कन्ट्याक ट्रेसिङ, स्याम्पल कलेक्सन र तिनको परीक्षण टुंगाउनुपर्छ, नभए नियन्त्रण गर्न गाह्रो हुन्छ।'
परीक्षण र आइसोलेसन बढाउन महानगरले अहिले जोड दिएको छ।
'लकडाउन अवधिभर यो काम सकेर पोजेटिभ आएकालाई एकठाउँ राख्ने हो भने संक्रमण घट्छ भन्ने छ। त्यसो भयो भने त समुदायमा भयावह स्थिति नआउला। महिनौं लगाउने हो भने हामीले खोजेजस्तो उपलब्धि आउँदैन,' उनले भने।
संक्रमित र सम्भावित मानिसहरूलाई ट्रेसिङ गरेर क्वारेन्टिन र आइसोलेसनमा पठाइहाल्ने हो भने संक्रमण नियन्त्रण गर्न सकिने उनको विश्वास छ।
यसरी एक चरणको संक्रमण नियन्त्रण भएपछि निषेधाज्ञा खोल्ने र फेरि देखियो भने अर्को चरणको ट्रेसिङ र परीक्षण गर्न आफूहरूले प्रदेश र संघीय सरकारलाई भनेको डंगोलले जानकारी दिए।
पिसिआर किट, जनशक्ति, स्वास्थ्यकर्मी बढाइदिन पनि महानगरले सरकारलाई भनेको छ।
यो सातदिनमा कामको रफ्तार बढेको उनले बताए। 'वडाले लिस्टिङ गरेको छ। आज वडा नम्बर २६ मा १०० जना देखियो। महानगरले आवश्यक जनशक्ति र किट लिएर वडाले व्यवस्थापन गरेको ठाउँमा जान्छ। त्यहीँ स्वाब संकलन गरी ल्याबमा पठाइन्छ। आज २७, २६ र २४ नम्बर वडामा काम भइरहेको छ,' उनले भने।
उनले संक्रमण जित्न सरकार मात्र लागेर नहुने बताए। नागरिकहरूले नै आफू सुरक्षित रहने उपाय नअपनाए स्थिति भयावह हुने उनको भनाइ छ।
'मास्क लगाएर हिँड्ने, भौतिक दुरी कायम गर्ने काम नागरिकले गर्ने हो भने हामीलाई नियन्त्रण गर्न सहज हुन्छ। कतिपयले जानी जानी गरेको लापरबाहीका कारण संक्रमण फैलिएको पनि छ,' उनले भने।
लकडाउन बढ्दै गए दैनिक गुजारा चलाउन मुश्किल हुनेमा महानगर सचेत रहेको उनको भनाइ छ। अहिले भर्खरै राहत वितरण गर्ने कुरा महानगरले सोचेको छैन। 'लकडाउन बढ्यो भने ज्याला मजदुरी गरेर खाने वर्गबारे सरकारले सोच्नुपर्छ भनेर हामीले माथि कुरा गरिसकेका छौं,' उनले भने।
यी पनि हेर्नुहोस्: