सम्पादकीय नोट: काठमाडौं उपत्यका कोरोनाको नयाँ 'हटस्पट' हुने सम्भावना बढेको छ। यस्तो बेला जनशक्ति र पूर्वाधारको प्रभावकारी परिचालन गरी काठमाडौं, भक्तपुर र ललितपुरका घना बस्तीमा संक्रमण फैलिनबाट रोक्न सकिन्छ।
यो जिम्मेवारी सरकारले कसरी निर्वाह गरिरहेको छ? संक्रमित पत्ता लगाउने, उनीहरूलाई आइसोलेसनमा राख्ने, अस्पताल पुर्याउने पूर्वाधार र जनशक्तिको तयारी के छ? हामीले यी प्रश्न काठमाडौं उपत्यकाभित्रका १८ महानगर/नगरपालिकाका मेयर/उपमेयरलाई सोधेका छौं।
तपाईंको नगरपालिका कुन हो? आफ्नो नगरभित्र के हुँदैछ? तयारी के छ? यसबारे आफ्ना मेयर/उपमेयरलाई सुन्नुस् है:
...
वासुदेव थापा (मेयर, सूर्यविनायक नगरपालिका):
सूर्यविनायक नगरपालिकामा ७३ जना कोरोना संक्रमित छन्। उनीहरूमध्ये १० प्रतिशत स्थानीय हुन्। अहिलेसम्म ३०० जनाको परीक्षण गरिएको छ। संक्रमितको स्वास्थ्य अवस्था हेरेर त्यहीअनुसार अस्पताल र होम आइसोलेसनमा राखिएको छ।
संक्रमितमध्ये चार जनालाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपरे पनि अहिले सबैको अवस्था सामान्य छ। उहाँहरू खतरामुक्त हुनुहुन्छ। चारवटा नगरपालिकाको समन्वयमा पाँच सय बेडको आइसोलसन वार्ड स्थापना गरिएको छ। अहिले यति नै पर्याप्त छ, आवश्यक परे बढाइनेछ।
कोरोना संक्रमण नियन्त्रणका लागि हामीले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्ड पालना गर्न माइकिङ तथा सञ्चार माध्यमबाट नगरबासीलाई आह्वान गरिरहेका छौं। स्थानीय सरकारका पदाधिकारीलाई पनि भनेका छौं। दसवटै वडामा विपद व्यवस्थापन समिति बनाइएको छ।
नगरपालिकाभित्र भदौ १५ गतेसम्म अत्यावश्यकबाहेक अन्य काम केही नगर्ने भएको छ। कोरोनालाई परास्त गर्न स्वास्थ्य मापदण्ड पालना गर्नु नै सबभन्दा ठूलो कु्रा हो। त्यही भएर यो जानकारी जनतामा पुर्याउनु नै नगरपालिकाको नीति हो।
सूर्यविनायक नगरपालिकामा अस्पताल नभएकाले भेन्टिलेटरको सुविधा हुने कुरै भएन। अन्य अस्पताल लैजानुपर्छ हामीले उपचारका लागि। उपत्यकामा कोरोना संक्रमण फैलिँदै छ तर नाकामा कडाइ गरेपछि संक्रमण घट्ने विश्वास गरेका छौं। नगर प्रहरी, सशस्त्र प्रहरीहरू खटिएका छन्। संक्रमण देखिएका विभिन्न स्थान हामीले सिल गरेका छौं। त्यही भएर सूर्यविनायकमा विस्तारै घट्छ।
होम आइसोलेसनमा बस्नु भएका संक्रमितहरूको अवस्था सामान्य भएकाले उहाँहरू खतरामा हुनुहुन्न। तै पनि बेलाबेला हामी जनप्रतिनिधिहरू र स्वास्थ्यकर्मीले उहाँहरूको अवस्था बुझिरहेका हुन्छौं।
कोरोनाले गर्दा सूर्यविनायकमा भोकले मर्ने कोही छैन। हामी फुकेर राहत वितरण गर्दैनौं, किनभने हल्लाखल्ला गरेर राहत बाँड्दा यहाँ जो पनि विपन्न बन्छन्। समस्या नै परेको खण्डमा वडासँग गुनासो वा समस्या बताए अवस्था हेरेर सहयोग तथा राहत उपलब्ध गराउन हामी सधैं तयार छौं।
अहिलेको अवस्थामा सबैलाई समस्या भएको छ। हामी भनेका त अभिभावक हौं। अभिभावक भएको नाताले हामीसँग गुनासो गर्नुहुन्छ, रिस पोख्नुहुन्छ। यो स्वाभाविक कुरा मानेर सुन्ने गरेका छौं।
यी पनि हेर्नुहोस्: