सम्पादकीय नोट: काठमाडौं उपत्यका कोरोनाको नयाँ 'हटस्पट' हुने सम्भावना बढेको छ। यस्तो बेला जनशक्ति र पूर्वाधारको प्रभावकारी परिचालन गरी काठमाडौं, भक्तपुर र ललितपुरका घना बस्तीमा संक्रमण फैलिनबाट रोक्न सकिन्छ।
यो जिम्मेवारी सरकारले कसरी निर्वाह गरिरहेको छ? संक्रमित पत्ता लगाउने, उनीहरूलाई आइसोलेसनमा राख्ने, अस्पताल पुर्याउने पूर्वाधार र जनशक्तिको तयारी के छ? हामीले यी प्रश्न काठमाडौं उपत्यकाभित्रका १८ महानगर/नगरपालिकाका मेयर/उपमेयरलाई सोधेका छौं।
तपाईंको नगरपालिका कुन हो? आफ्नो नगरभित्र के हुँदैछ? तयारी के छ? यसबारे आफ्ना मेयर/उपमेयरलाई सुन्नुस् है:
...
रामेश्वर श्रेष्ठ (मेयर, महालक्ष्मी नगरपालिका, ललितपुर):
महालक्ष्मी नगरपालिकामा अहिले पनि ५० जना संक्रिय संक्रमित छन्। तीमध्ये २४ जनालाई उपत्यकाको विभिन्न अस्पताल भर्ना गरिएको छ। बाँकी होम आइसोलेसनमा छन्।
संक्रमित अधिकांश बाहिरी जिल्लाबाट नगरपालिकामा डेरा बस्दै आएकाहरू छन्। पछिल्लो समय केही स्थानीयलाई पनि संक्रमण देखिन थालेको छ। विभिन्न पेसाकर्मी र व्यवसायीलाई पनि संक्रमण देखिएको छ। किराना पसल, बैंकका कर्मचारी र औषधि पसलमा काम गर्ने व्यक्तिहरू पनि संक्रमित छन्।
होम आइसोलेसनमा रहेका संक्रमितलाई स्वास्थ्यकर्मीहरूले दैनिक दुईपटक फोन गरेर उहाँहरूको स्वास्थ्य अवस्था बुझ्नुहुन्छ। उहाँहरूलाई केही समस्या भयो भने तुरून्त पुग्ने र आवश्यकता हेरेर अस्पताल पुर्याउने काम हुन्छ।
संक्रमितको व्यवस्थापन गर्न हामीकहाँ दुइटा कन्ट्याक्ट ट्रेसिङ टिम छ, जसले संक्रमित फेला पर्नेबित्तिकै उहाँहरूको अवस्था हेरेर होम आइसोलेसन वा अस्पताल भर्ना गर्ने काम गर्नुहुन्छ। साथै, उहाँहरूको क्लोज कन्ट्याक्टमा आएकाहरूको परीक्षण गर्ने तयारी गर्नुहुन्छ।
त्यसरी क्लोज कन्ट्याक्टमा आएका ६० जनाको परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको पनि छ। हाम्रो नगरपालिकामा आइसोलेसन छैन। क्वारेन्टिन भने ५५ बेड क्षमताको छ।
आइसोलेसन बनाउन असहज, आइसियू र भेन्टिलेटर छैन
हामीलाई समुदायबाट अवरोध हुँदा क्वारेन्टिन र आइसोलेसन बनाउन असहज भयो। हिजो मात्र हामीले सबै १० वडामै कम्तिमा २० बेडको क्वारेन्टिन बनाउने भन्दा समुदायका मानिसहरूले हुन्न भन्नुभयो।
हामीले हरेक वडामा भएका सरकारी भवन, विद्यालय र पार्टी प्यालेसलाई क्वारेन्टिन बनाउने र त्यसलाई नै आइसोलेसनमा परिवर्तन गर्ने भन्दा पनि स्थानीयहरूले यहाँ हुँदैन भन्नुहुन्छ। त्यसैले सबभन्दा पहिले समुदायमा चेतना आउनुपर्छ।
आइसोलेसन नै नभएपछि हाम्रो नगरमा आइसियू र भेन्टिलेटर हुने त कुरै भएन।
कुनै संक्रमितलाई आइसियू वा भेन्टिलेटरमा भर्ना गर्नुपर्यो भने हामी किस्ट अस्पतालसँग समन्वय गर्छौं। त्यहाँ भएन भने अन्य कोभिड अस्पतालहरूसँग समन्वय गर्छौं।
अर्को मुख्य समस्या भनेको पूर्वाधार व्यवस्थापनमा चाहिने जनशक्ति हो। हामीले क्वारेन्टिन र आइसोलेसन बनाउने कुरा गरिरहँदा त्यहाँ चाहिने जनशक्ति पाइँदैन। खाना पकाउनेदेखि फोहोर व्यवस्थापन गर्नेसम्म मान्छे पाउन सकिएको छैन।
हामीले उहाँहरूलाई पिपिईदेखि सबै सुरक्षा सामग्री दिने भन्दा पनि डर मान्नुहुन्छ। सबभन्दा ठूलो समस्या भनेकै यही हो। नत्र हामीलाई आइसोलेसन बनाउन कुनै ठूलो समस्या छैन।
मेरो विचारमा उपत्यकामा कोरोना महामाहरीसँग लड्न तीन तहकै सरकार मिलेर एकीकृत नीतिबाट अगाडि बढ्नुपर्छ।
पूर्वाधार तयार गर्ने कुरामा केन्द्र सरकारको नेतृत्वमा कम्तिमा उपत्यकामा १५ देखि २० हजार क्षमताको क्वारेन्टिन वा आइसोलेसन सेन्टर बनाउनुपर्छ। केन्द्र सरकारले जनशक्तिदेखि सबै कुराको व्यवस्थापन गर्न सक्छ। बरू हामीले के सहयोग गर्नुपर्छ, तनमन दिएर सबै सहयोग गर्न तयार छौं।
हामीले अहिलेको स्थितिमा नगरभित्र त संक्रमणलाई स्थिर बनाएकै छौं। संक्रमण समुदायमा गइसकेको छैन भन्ने छ। तर यो कुनै पनि बेला पुग्नसक्छ। चुनौती र जोखिम पाइला-पाइलामा छ। हामीले त्यसका लागि निेषेधज्ञा कडाइ गर्ने र जनस्वास्थ्यका मापदण्ड पालना गर्न मानिसहरूलाई सचेत गराइरहेका छौं।
श्रम बैंक कार्यान्वयन
अब निषेधज्ञाले नगरभित्रका विपन्न वर्गलाई बढी असर पर्छ। त्यस्ता व्यक्तिको समस्या सम्बोधन गर्न हामीले श्रम बैंकको अवधारणा कार्यान्वयन गरेका छौं। जसअनुसार हामीले त्यस्ता व्यक्तिलाई दुई दिन काम लगाउने र ३० केजी चामल दिने गरेका छौं।
हामीले उहाँहरूलाई राजकुलो, नाली, पाटी पौवा, मठ मन्दिर सफा गर्ने काम गराइरहेका छौं। यसले उहाँहरूलाई पनि सहज भइरहेको छ। अहिलेसम्म नगरभित्र कसैलाई पनि हातमुख जोर्न समस्या भयो भन्ने छैन।
यी पनि हेर्नुहोस्: