सम्पादकीय नोट: काठमाडौं उपत्यका कोरोनाको नयाँ 'हटस्पट' हुने सम्भावना बढेको छ। काठमाडौं देशभरिमै सबभन्दा बढी कोरोना संक्रमित भएको जिल्ला हो। यस्तो बेला जनशक्ति र पूर्वाधारको प्रभावकारी परिचालन गरी काठमाडौं, भक्तपुर र ललितपुरका घना बस्तीमा संक्रमण फैलिनबाट रोक्न सकिन्छ।
यो जिम्मेवारी सरकारले कसरी निर्वाह गरिरहेको छ? संक्रमित पत्ता लगाउने, उनीहरूलाई आइसोलेसनमा राख्ने, अस्पताल पुर्याउने पूर्वाधार र जनशक्तिको तयारी के छ? हामीले यी प्रश्न काठमाडौं उपत्यकाभित्रका १८ महानगर/नगरपालिकाका मेयर/उपमेयरलाई सोधेका छौं।
तपाईंको नगरपालिका कुन हो? आफ्नो नगरभित्र के हुँदैछ? तयारी के छ? यसबारे आफ्ना मेयर/उपमेयरलाई सुन्नुस् है:
...
गीता सत्याल (उपमेयर, ललितपुर महानगरपालिका):
भदौ ७ गतेसम्म ललितपुर नगरपालिकामा २८९ जना कोरोना संक्रमित छन्। पालिकाले आफ्नै आइसोलेसन वार्ड बनाएको छैन। पाटन अस्पताल लगायतलाई बिरामी रेफर गरिने हुँदा कति बिरामी निको भए हामीसँग तथ्यांक छैन।
पाटन अस्पतालसँग महानगरले समन्वय गरेको छ। निको भएका बिरामीको तथ्यांक पनि पाटन अस्पतालबाटै आइरहेको छ।
आइसोलेसन वार्ड बनाउनेबारे पहिले छलफल भएको हो। त्यसपछि फेरि बोर्ड बैठक बसेको छैन। सुनाकोठीमा ६६ जना क्षमताको आइसोलेसन छ। तर त्यहाँ कोही पनि छैनन्।
पायक पर्ने ठाउँमा आइसोलेसन बनाउने तयारी भइरहेको छ। मेयर फोरमले संयुक्त रूपमा के निर्णय गर्छ सोहीअनुरुप अघि बढ्छौं।
पालिकामा बाहिरबाट आएका संक्रमितको संख्या धेरै छ। स्थानीयको संख्या पनि उस्तै छ। यी दुवै संक्रमित संख्या र संक्रमणको अनुपात हेर्दा ललितपुरमा पनि कोरोना स्थानीय स्तरमै फैलिएको अनुमान गर्न सकिन्छ। १४ र १५ वडा हटस्पट बनेको छ।
संक्रमित बिरामीहरूमध्ये ७५ जना जति होम आइसोलेसनमा छन्। वडामा ४ जनाको दरले स्वास्थ्यकर्मी खटाएर कोभिड टिम बनाएका छौं। होम आइसोलेसनमा बस्नेको स्वास्थ्य रिपोर्ट लिन यही टिमलाई लगाएका छौं। संकलित स्वाब टेकु र पाटनमा पठाएका छौं।
ललितपुर महानगरसँग समन्वय भएका अस्पतालमा ६८ वटा भेन्टिलेटर छन्। यो संख्या हामीले बढाउन सकेका छैनौं।
स्थानीय सचेत नहुनु नै हाम्रो समस्या हो। हरेक व्यक्ति आफ्नो रक्षक हुनु जरूरी छ। मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, स्यानिटाइटर प्रयोग गर्ने भनेर हामीले पटक-पटक भन्दै आएका छौं। तर यो नियम स्थानीयले फलो गरेका छैनन्। अझै पनि चोकमा, चिया पसलमा जम्मा भएर बसिरहेका छन्। यसबाट कोरोना महामारीले अझै विकराल रूप लिने मैले देखेको छु।
समाधानको बाटो भनेको हामी आफैं हौं। यो कुरा बुझ्नुपर्यो। आफू मात्रै होइन, आफ्नो परिवार र आफ्नो समाज नै बिरामी पर्ने हो भनेर सोच्नुपर्छ।
पछिल्लो समय महानगरको बैठक नबसेकाले यसरी अघि बढ्नेछौं भनेर भन्न सक्ने अवस्था छैन। लकडाउन, निषेधाज्ञा समाधान होइन। समूहमा बन्द कोठामा गर्ने कामबाहेक निर्माण क्षेत्रमा हुने कामहरू पहिलेकै तुलनामा सुरक्षित भएर चालू हुनुपर्छ जस्तो मलाई लाग्छ। कोरोनाले जागिर खोसेकाहरूलाई कामसँगै राहतको व्यवस्था गर्न पहल गर्नेछौं।
यो पनि हेर्नुहोस्: