सम्पादकीय नोट: काठमाडौं उपत्यका कोरोनाको नयाँ 'हटस्पट' हुने सम्भावना बढेको छ। काठमाडौं देशभरिमै सबभन्दा बढी कोरोना संक्रमित भएको जिल्ला हो। यस्तो बेला जनशक्ति र पूर्वाधारको प्रभावकारी परिचालन गरी काठमाडौं, भक्तपुर र ललितपुरका घना बस्तीमा संक्रमण फैलिनबाट रोक्न सकिन्छ।
यो जिम्मेवारी सरकारले कसरी निर्वाह गरिरहेको छ? संक्रमित पत्ता लगाउने, उनीहरूलाई आइसोलेसनमा राख्ने, अस्पताल पुर्याउने पूर्वाधार र जनशक्तिको तयारी के छ? हामीले यी प्रश्न काठमाडौं उपत्यकाभित्रका १८ महानगर/नगरपालिकाका मेयर/उपमेयरलाई सोधेका छौं।
तपाईंको नगरपालिका कुन हो? आफ्नो नगरभित्र के हुँदैछ? तयारी के छ? यसबारे आफ्ना मेयर/उपमेयरलाई सुन्नुस् है:
...
कृष्णहरि थापा (मेयर, कागेश्वरी मनहरा नगरपालिका):
हाम्रो नगरपालिकामा भदौ ७ गतेसम्म महिला ३१ जना र पुरुष ६१ जना गरी ९२ जना संक्रमित भएका छन्। तीमध्ये २९ जना निको भएर घर फर्किसके।
नगरपालिकाले समन्वय गरेको मूलपानी नगर अस्पतालमा ६५ जना क्षमता भएको आइसोलेसन सञ्चालनमा छ। बाँकी रहेका कोरोना संक्रमितलाई त्यहाँ राखिएको छ। बिरामीको चाप बढ्दै जाँदा अस्पतालको क्षमता बढाएर १०० शैय्या बनाउने तयारी सुरू गरिएको छ।
यो अस्पतालमा कोभिडका बिरामीलाई मात्र जाँच्ने व्यवस्था मिलाइएको छ। साथै डेडिकेटेड एम्बुलेन्स पनि सञ्चालनमा छ। नगरमा कसैलाई कोरोना संक्रमण भए, आइसोलेसनसम्म आउनुपरे यही एम्बुलेन्स प्रयोग गर्छौं।
लक्षण नदेखिएका बिरामी धेरै छन्। उनीहरूको रेखदेखमा २४ घन्टा डाक्टर-नर्स खटाएका छौं। लक्षण देखिएका बिरामीलाई सुविधासम्पन्न अस्पतालमा रेफर गरिरहेका छौं। तर जटिल केस आएको छैन।
बिरामीको संख्या बढ्दै जाँदा होम आइसोलेसनलाई प्रोत्साहित गरिरहेका छौं। होम आइसोलेसन बस्नेहरूको नियमित रिपोर्टिङ भइरहेको छ। स्वास्थ्य जाँच गरी रिपोर्ट बनाउने, स्वाब लिने काममा स्वास्थ्यकर्मी परिचालन गरिरहेका छौं।
सुरूमा भेटिएका संक्रमित बाहिरबाट आएका हुन्। केही दिनअघि ९ नम्बर वडामा कपाल काट्ने सैलुनबाट धेरैलाई कोरोना संक्रमण भएको भेटियो। त्यो स्थान सिल गरेर कन्ट्याक ट्रेसिङ गरिरहेका छौं।
साताको दुईपटक सोमबार र शुक्रबार कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने गरेका छौं। नगरपालिकाकै डाक्टरले संकलन गरेर जाँचका लागि टेकु पठाउने गरिएको छ।
हामीले मात्रै पहल गरेर नहुने रहेछ। स्थानीय आफैं सचेत हुनुपर्यो पहिले त। दोश्रो, केन्द्रीय र प्रदेश सरकारले पनि सल्लाह सुझाव दिनुपर्यो। मुख्य कुरा मास टेस्ट गर्न हामीले माग गरिरहेका छौं। एक चरण सबैको परीक्षण गरेपछि समाधान गर्न सजिलो हुने देखिएको छ।
अहिले दोस्रो चरणको लकडाउन वा निषेधाज्ञा सुरू भएको छ। अर्को साता पनि थपियो भने हामीले पालिकामा रहेका विपन्नका लागि पनि खाद्यान्न वितरण गर्ने योजना बनाएका छौं।
पहिलो चरणको लकडाउनमा विपन्न परिवारलाई खाद्यान्न वितरणमा कुपन बनाएर प्रतिपरिवार १ हजार, ठूलो परिवार भए २ हजार बराबरको खाद्यान्न वितरण गरिएको हो। जेठ महिनापछि नगरपालिकाले सामान्य रोजगारी दिएर रकम भुक्तानी समेत गरेको थियो।
विपन्नलाई रोजगारी पनि हुने हिसाबले लकडाउनमा पनि विकास निर्माणको काम गर्न पाए दोहोरो रूपमा समस्या समाधान हुन्छ भन्ने लागेको छ। यो विषयमा छलफल हुन बाँकी छ।
पालिकामा एक जना मुटु रोगी महिलाको कोरोनाका कारण मृत्यु भएको छ।