सम्पादकीय नोट: काठमाडौं उपत्यका कोरोनाको नयाँ 'हटस्पट' हुने सम्भावना बढेको छ। यस्तो बेला जनशक्ति र पूर्वाधारको प्रभावकारी परिचालन गरी काठमाडौं, भक्तपुर र ललितपुरका घना बस्तीमा संक्रमण फैलिनबाट रोक्न सकिन्छ।
यो जिम्मेवारी सरकारले कसरी निर्वाह गरिरहेको छ? संक्रमित पत्ता लगाउने, उनीहरूलाई आइसोलेसनमा राख्ने, अस्पताल पुर्याउने पूर्वाधार र जनशक्तिको तयारी के छ? हामीले यी प्रश्न काठमाडौं उपत्यकाभित्रका १८ महानगर/नगरपालिकाका मेयर/उपमेयरलाई सोधेका छौं।
तपाईंको नगरपालिका कुन हो? आफ्नो नगरभित्र के हुँदैछ? तयारी के छ? यसबारे आफ्ना मेयर/उपमेयरलाई सुन्नुस् है:
...
मदनसुन्दर श्रेष्ठ (मेयर, मध्यपुर थिमी नगरपालिका):
मध्यपुरमा अहिलेसम्म ८५-९० जना संक्रमित छन्। तीमध्ये बाहिरबाट आएका ८५ प्रतिशत छन् र स्थानीय स्तरमै भएका १५ प्रतिशत छन्।
संक्रमितमध्ये १२ जना स्थानीय छन्। अरू बाहिरबाट आएका छन्। अहिले समुदायस्तरमा परीक्षण भइरहेको छ। हामीले आफ्नै ल्याब सञ्चालन गरेका छौं। नेपाल कोरिया मैत्री अस्पतालमा दैनिक ३ सय देखि ३ सय ५० सम्म परीक्षण गरेका छौं।
अहिलेसम्म ६ हजार २ सय जनाको परीक्षण भएको छ। समुदायमा जाने खतरा भएकाले २ हजार किट किन्न ३४ लाख खर्च लाग्ने रहेछ। त्यसका लागि बजेट छुट्टाएका छौं।
कन्ट्याक्ट ट्रेसिङको काम पनि भइरहेको छ। अहिलेसम्म संक्रमितहरूको अवस्था समान्य नै छ। लगभग ४५ जना होम आइसोलेसनमा छन्। २४ जना आइसोलेसन सेन्टरमा छन्। २० जना आर्मी र प्रहरी भएकाले विभागीय अस्पतालमै छन्। संक्रमितहरूमा लक्षण देखिएको छैन। देखिएकाहरूको पनि सामान्य छ। अस्पतालकै ११ जनाको देखिएको छ। उनीहरू धेरैको रिपोर्ट नेगेटिभ आइसकेको छ।
मैले नेतृत्व गरेको नगरपालिकामा २० बेडको आइसोलेसन छ। हामीले भक्तपुरका चारैवटा नगरपालिकामा गरी ८ सय देखि १ हजार बेडसम्मको आइसोलेसन बनाउने योजना बनाएका छौं। यसका लागि भक्तपुरको खरिपाटीमा ३ सय, काठमाडौं मेडिकल कलेजमा ३ सय रहेको छ। भक्तपुर अस्पतालमा ७५ वेडको आइसोलेसन वार्ड बनाउने योजना भइरहेको छ। ५ सय बेड तयारी अवस्थामा छ। अन्य ठाउँहरूको पनि खोजी भइरहेको छ।
कन्ट्याक्ट ट्रेसिङ, टेस्टिङसँगै नियन्त्रणका लागि लकडाउन र निषेधाज्ञा पनि गरिएको छ। घरबाट ननिस्किन भनेका छौं। अहिलेलाई कन्ट्याक ट्रेसिङ गरेर आइसोलेट गर्दै लैजाने हो। हामी त्यही अभियानमा छौं।
पाँच हजारको संख्यामा परीक्षण गरेर संक्रमितहरू पत्ता लगाउने अनि आइसोलेट गर्ने अभियानमा छौं। आइसोलेसन बनाउने काम भक्तपुरमा एकीकृत रूपमा गर्ने हो।
मध्यपुर थिमीमै २० वटा आइसोलेसन र २५ आइसियु तयारी अवस्थामा छ। जसमध्ये भेन्टिलेटर ८ वटा छ।
घरमै आइसोलेसन बसेकाहरूका लागि ९ वटा वडामा ९ वटा टोली बनाएका छौं। वडाध्यक्षहरूको नेतृत्वमा स्वास्थ्यकर्मीहरूले निगरानी गर्नुहुन्छ। आइसोलेसनमा बसेकाहरूसँग फोनमार्फत् निरन्तर कुराकानी भइरहेको छ। अहिले हामीकहाँ राहतको प्याकेज ल्याइएको छैन। पहिला त १ लाख १२ हजारलाई खाना खुवाएको हो। त्यो त्यति प्रभावकारी भएन। लाइनमा राखेर राहत दिँदैनौं तर खानै नपाउने समस्या भयो भने वडा कार्यालयमा सम्पर्क गर्न भनेका छौं।
कोरोना संक्रमणमा स्वास्थ्यकर्मीहरू पनि संक्रमित देखिएका छन्। त्यसले अलि बढी समस्या भएको छ। सुरक्षा प्रणाली अपनाएर काम गर्नुपर्दा ढिलो र खर्चिलो हुने समस्या छ।
बजेटको हामीलाई समस्या छैन। लगभग ३ अर्ब २६ करोडको बजेट छ। दुई वटा मात्रै योजना रोक्दा पनि धेरै काम गर्न सकिन्छ। संघीय सरकारबाट सहयोग भएको छैन। हामी आफैं खर्च गरेर काम गर्न सक्छौं।
यी पनि हेर्नुहोस्: