सम्पादकीय नोट: काठमाडौं उपत्यका कोरोनाको नयाँ 'हटस्पट' हुने सम्भावना बढेको छ। यस्तो बेला जनशक्ति र पूर्वाधारको प्रभावकारी परिचालन गरी काठमाडौं, भक्तपुर र ललितपुरका घना बस्तीमा संक्रमण फैलिनबाट रोक्न सकिन्छ।
यो जिम्मेवारी सरकारले कसरी निर्वाह गरिरहेको छ? संक्रमित पत्ता लगाउने, उनीहरूलाई आइसोलेसनमा राख्ने, अस्पताल पुर्याउने पूर्वाधार र जनशक्तिको तयारी के छ? हामीले यी प्रश्न काठमाडौं उपत्यकाभित्रका १८ महानगर/नगरपालिकाका मेयर/उपमेयरलाई सोधेका छौं।
तपाईंको नगरपालिका कुन हो? आफ्नो नगरभित्र के हुँदैछ? तयारी के छ? यसबारे आफ्ना मेयर/उपमेयरलाई सुन्नुस् है:
...
सुनील प्रजापति (मेयर, भक्तपुर नगरपालिका):
भक्तपुर नगरपालिकामा आइतबारसम्म ३० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। तीमध्ये २३ जना निको भइसकेका छन्।
संक्रमित सबै आइसोलेसनमा छन्। अहिलेसम्म बाहिरबाट आउनेहरूलाई मात्रै देखिएजस्तो लागेको थियो तर शनिबार र आइतबार समुदायकै मान्छेमा देखिएको छ।
कन्ट्याक ट्रेसिङमा जाँदा परिवार-परिवारमा देखिएको छ। त्यो अलि गम्भीर हो। केहीको त लक्षण पनि देखिएको छ तर अरूको खासै छैन। पोजेटिभ आउनेबित्तिकै हामीले आइसोलेसनमा राखेका छौं। दुई जना जति अलि बिरामी भएको सुनेका छौं।
अहिलेसम्म हामी एकीकृत रूपमा काम गर्ने योजनामा छौं। त्यसैले एकीकृत आइसोलेसन बेड बनाउन लागेका छौं। भक्तपुर अस्पताल पनि एकीकृतमै पर्छ।
नगरपालिकाले आइसोलेसन वार्डभन्दा क्वारेन्टिन बनाएको छ। त्यो क्वारेन्टिनमा स्थानीयलाई राखेका छैनौं। विदेशबाट आएकाहरूलाई राखेका थियौं। १ सय ४ जना क्वारेन्टिनमा बसेका थिए। नगरपालिकाले होटल र होम क्वारेन्टिनमा प्राथमिकता दिएको छ। अहिले १२ जना क्वारेन्टिनमै छन्।
संक्रमण नियन्त्रणका लागि भिडभाड हुन नदिन सबै खालका जात्रा रोकेका छौं। दैनिक माइकिङ गरेर तथ्यांक दिएका छौं। साबुनपानी पनि टोलटोलमा राखेका छौं।
जिल्ला प्रशासन कार्यालयले एकतर्फी रूपमा बिहान ९.१५ सम्म अत्यावश्यक सामग्रीका पसल खोल्ने भनेपछि समस्या आएको छ। एक सातासम्म एकदमै कडाइ गर्ने सोच बनाएका थियौं। किनभने एक साताभित्र भएका लक्षण बाहिर आउन सक्छन्। त्यसपछि विस्तारै खोल्न सकिन्छ भन्ने थियो। तर समन्वय नभइकन काम गर्दा अलि जटिल हुने देखिएको छ।
विपद व्यवस्थापनमा तिनै तहको समन्वय गरेर जानुपर्छ। महामारीमा त अझै बढी समन्वयको जरूरी पर्छ। भटाभट प्रमुख जिल्ला अधिकारीहरूले निर्णय गर्न थाले समस्या हुन्छ। हामीले काम गर्न खोज्दा प्रशासनसँग सल्लाह गर्छौं तर प्रशासनले एकतर्फी रूपमा गर्दा समस्या हुनसक्छ।
हिजो मात्रै १ सय १ जनालाई कन्ट्याक्ट ट्रेसिङ गरेका छौं। कन्ट्याक्ट ट्रेसिङका लागि पनि कडाइ गर्नुपर्छ भनेर हामी लागेका छौं। अब सिडिओहरूले एकतर्फी निर्णय गर्ने हो भने अफ्ठ्यारो पर्छ। यस्तो भए यहाँ मात्र होइन, कहीँ पनि नियन्त्रण हुन सक्दैन। देशै बर्बाद हुन्छ।
भक्तपुर नगरपालिकासँग आइसियु र भेन्टिलेटर छैन। भक्तपुर अस्पताल प्रदेश मातहत छ। महामारी बेला समन्वयात्मक हिसाबले संघर्ष गर्ने हो। स्थानीय विशेषताअनुसार काम गर्नुपर्छ। हाम्रो नगरमा ३ र ४ वडामा संक्रमण छ। यी दुई वडामा मात्र कडाइ गर्दा ठिक होला भनेर सोचेको तर अर्कै भइराछ।
घरमा आइसोलेसन बसेकालाई जनस्वास्थ्यका साथीहरूले निगरानी गरेका छन्। हामीले दुई जना डाक्टर खटाएका छौं। उनीहरूको नम्बर दिएका छौं।
विपन्नका लागि राहत दिनेबारे सोच्या छैन। यो अवस्था लम्बिँदै गएपछि सोच्ने हो। हामीलाई समस्या खासै छैन तर समन्यवको अभाव बढी छ। यहाँको समस्या स्थानीयलाई थाहा हुन्छ। यसमा ध्यान दिने हो। यो काम केन्द्र प्रदेश र स्थानीयको भन्ने होइन, समन्वय गरेर गर्ने हो।
यो पनि हेर्नुहोस्: