सम्पादकीय नोट: काठमाडौं उपत्यका कोरोनाको नयाँ 'हटस्पट' हुने सम्भावना बढेको छ। यस्तो बेला जनशक्ति र पूर्वाधारको प्रभावकारी परिचालन गरी काठमाडौं, भक्तपुर र ललितपुरका घना बस्तीमा संक्रमण फैलिनबाट रोक्न सकिन्छ।
यो जिम्मेवारी सरकारले कसरी निर्वाह गरिरहेको छ? संक्रमित पत्ता लगाउने, उनीहरूलाई आइसोलेसनमा राख्ने, अस्पताल पुर्याउने पूर्वाधार र जनशक्तिको तयारी के छ? हामीले यी प्रश्न काठमाडौं उपत्यकाभित्रका १८ महानगर/नगरपालिकाका मेयर/उपमेयरलाई सोधेका छौं।
तपाईंको नगरपालिका कुन हो? आफ्नो नगरभित्र के हुँदैछ? तयारी के छ? यसबारे आफ्ना मेयर/उपमेयरलाई सुन्नुस् है:
...
मोहन बस्नेत (मेयर, दक्षिणकाली नगरपालिका):
नगरभित्र संक्रमित संख्या १० पुगेको छ। तीमध्ये दुई जनाको नेगेटिभ आइसकेको छ। आठ जना नगरले नै व्यवस्था गरेको आइसोलेसनमा छन्।
काठमाडौं उपत्यकाभित्र आउजाउ गर्ने स्थानीय बासिन्दामा कोरोना संक्रमण पुष्टि भएको हो। एक/दुई जनालाई लक्षण देखिएको छ। अधिकांशलाई देखिएन पनि। तर उनीहरूको स्वास्थ्य राम्रो छ।
नगरभित्र सुरूमा पाँच बेडको आइसोलेसन बनाइएको थियो। संक्रमित संख्या बढ्ने देखिएर २० बेडको निर्माणाधीन छ। अबको एक सातामा तयार भइसक्छ।
संक्रमण नियन्त्रणका लागि जनचेतना फैलाउने कार्यक्रम गरिएको छ। साबुनपानीले हात धुने, कन्ट्याक ट्रेसिङ गर्नेजस्ता काम गरिएको छ। परीक्षणको संख्या बढाएका छौं।
नगरभित्र संक्रमित संख्या कम भए पनि लकडाउन खुलेको मौकामा राजधानी प्रवेश गर्ने मानिसको संख्या वृद्धि हुँदा त्यसको प्रभाव नगरभित्र पर्छ।
आइसोलेसन कक्षमा अक्सिजनसम्मको व्यवस्था हामीले मिलाएका छौं। भेन्टिलेटरको आवश्यकता अहिलेसम्म परेको छैन। आवश्यक परेको खण्डमा वीर, पाटन र मेडिसिटी अस्पताल लैजान्छौं। यी अस्पतालसँग नगरले सामान्य छलफल गरिसकेको छ।
नगरभित्र दुई जना घरमै आइसोलेसनमा बसेका छन्। केही समस्या पर्यो भने नगरका स्वास्थ्यकर्मीले उनीहरूको जाँच गर्छन्। घरमै आइसोलेसनमा बस्नेहरू नगरसँग समन्वयमै छन्।
कोरोना लकडाउनले लामो समयदेखि कामविहीन भएका विपन्न वर्गका मानिसलाई पहिले राहत दिए पनि अहिले भने राहत रोकेका छौं। विपन्न मात्र होइन, अब सम्पन्नहरूलाई पनि राहत दिनुपर्ने हो कि जस्तो भइसक्यो। पर्ख र हेरकै स्थितिमा छौं। संक्रमणले कस्तो रूप लिन्छ त्यसपछि राहतबारे निर्णय लिन्छौं।
केन्द्र र प्रदेश सरकारको मुख ताक्नुभन्दा स्थानीय तहबाटै सक्दो काम गरिरहेका छौं। हामीलाई यहीँका जनताले निर्वाचित गर्नुभएको हो। मरिमेटेर जनताकै सेवामा लागेका छौं। केन्द्र र प्रदेश सरकारले नियमअनुसार जे सहयोग गर्नुहुन्छ त्यो स्वागयोग्य नै छ।
यी पनि हेर्नुहोस्: