सम्पादकीय नोट: काठमाडौं उपत्यका कोरोनाको नयाँ 'हटस्पट' हुने सम्भावना बढेको छ। यस्तो बेला जनशक्ति र पूर्वाधारको प्रभावकारी परिचालन गरी काठमाडौं, भक्तपुर र ललितपुरका घना बस्तीमा संक्रमण फैलिनबाट रोक्न सकिन्छ।
यो जिम्मेवारी सरकारले कसरी निर्वाह गरिरहेको छ? संक्रमित पत्ता लगाउने, उनीहरूलाई आइसोलेसनमा राख्ने, अस्पताल पुर्याउने पूर्वाधार र जनशक्तिको तयारी के छ? हामीले यी प्रश्न काठमाडौं उपत्यकाभित्रका १८ महानगर/नगरपालिकाका मेयर/उपमेयरलाई सोधेका छौं।
तपाईंको नगरपालिका कुन हो? आफ्नो नगरभित्र के हुँदैछ? तयारी के छ? यसबारे आफ्ना मेयर/उपमेयरलाई सुन्नुस् है:
...
गजेन्द्र महर्जन (मेयर, गोदावरी नगरपालिका):
गोदावरी नगरपालिकामा अहिलेसम्म ३९ जनालाई संक्रमण देखिएको छ। तीमध्ये १२ जना अझै सक्रिय संक्रमित छन्। बाँकी निको भइसकेका छन्।
सक्रिय संक्रमितमध्ये ८ जना होम आइसोलेसनमा र ४ जना विद्यालयको क्वारेन्टिनमा छन्। एक जना बाहेक कुनै पनि संक्रमितमा लक्षण छैन। एक जना भने दमका बिरामी भएकाले श्वासप्रश्वासमा सामान्य समस्या छ।
संक्रमित १२ जनामध्ये ८ जना एकै परिवारका हुन्। ती दमका बिरामीलाई सुरूमा संक्रमण पुष्टि भएपछि उनको परिवारका सदस्यलाई परीक्षण गर्दा सबैमा संक्रमण पोजेटिभ देखियो। अहिले हामीले उहाँहरूमध्ये चार जनालाई होम आइसोलेसन र बाँकी चार जनालाई विद्यालयको क्वारेन्टिनमा राखेका छौं।
बाँकी संक्रमित भने कोही विदेशबाट र कोही बहिरी जिल्लाबाट आएका छन्।
हाम्रो चारवटा ठाउँमा १०० बेड क्षमताको क्वारेन्टिन छ। जसमा ढुकुचा, थेचो, लेले र साङ्ग्रिला स्कुलमा छन्। आइसोलेसन भने तत्काल बज्रबराही अस्पतालमा १५ बेडको छ। अहिले लेप्रोसी अस्पतालमा पनि १५ बेडको आइसोलेसन तयार हुँदैछ। बज्रबराहीमा रहेको १५ बेडको आइसोलेसनलाई २५ बेडमा पुर्याउँछौं।
यस्तै साङ्ग्रिला स्कुलमा ५० बेडको क्वारेन्टिनलाई आइसोलेसन बनाउने काम भइरहेको छ। त्यो भयो भने नगरपालिकामा सय-सय बेडको क्वारेन्टिन र आइसोलेसन हुन्छ। यो हामी एक साताभित्र सक्ने गरी काम गर्दैछौं।
अहिलेलाई तत्काल समुदायमा संक्रमण फैलिएको भन्ने लागेको छैन। हिजो झन्डै ८ सय जनाको परीक्षण गर्दा जम्मा ३९ जनालाई संक्रमण देखिएको छ। हामी संक्रमण समुदायमा नफैलियोस् भनेर सचेत पनि छौं। यसका लागि जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न अपिल गरेका छौं।
जारी निषेधज्ञा कडा पारिएको छ। मानिसहरूको अनावश्यक हिंडडुल रोकेका छौं। भौतिक दुरी कायम गर्ने, साबुनपानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्नेबारे निरन्तर सचेत गराइरहेका छौं। यसका लागि प्रत्येक वडामा रेडक्रसका टोली खटिएका छन्।
संक्रमण फैलिन नदिन हामीले कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङलाई छरितो र चुस्त बनाएका छौं। हामीसँग दुइटा कन्ट्याक्ट ट्रेसिङको टिम छ। उहाँहरू जहाँ संक्रमण देखिन्छ त्यहाँ तत्काल मुभ भइाहाल्नुहुन्छ। हामी जतिसक्दो चाँडो संक्रमित भएको ठाउँमा पुग्ने भन्ने हो।
कसैलाई संक्रमण देखियो भने हामी लक्षणको अवस्था हेरेर होम आइसोलेसनमा राख्ने कि आइसोलेसनमा पठाउने वा अस्पताल पठाउने भन्ने टुंगो गर्छौं। लक्षण छैन र अवस्था सामान्य छ भने होम आइसोलेसनमा बस्न सुझाउँछौं। त्यसका लागि पहिले उहाँहरूको घरमा बस्ने वातावरण छ/छैन भनेर हेर्छौं।
मापदण्डअनुसार घरमा बस्न मिल्ने छ भने मात्र संक्रमितलाई होम आइसोलेसनमा राख्छौं। होइन भने उहाँलाई आइसोलेसन सेन्टरमा राख्छौं।
होम आइसोलेसनमा रहेकाहरूको स्वास्थ्य निगरानी गर्न स्वास्थ्यकर्मी खटाएका छौं। त्यसका लागि प्रत्येक वडामा रहेका हेल्थपोस्टका स्वास्थ्यकर्मीले उहाँहरूको स्वास्थ्य निगरानी गर्ने र जानकारी लिने काम गर्नुहुन्छ। म आफैं पनि होम आइसोलेसनमा रहेका संक्रमितहरूको अवस्था बुझ्न जाने गरेको छु।
कडा लक्षण देखिएका बिरामीलाई भने अस्पताल भर्ना गर्छौं। अहिलेसम्म संक्रमितलाई अस्पताल भर्ना गर्नुपरेको छैन। हामीसँग अहिले आइसियू र भेन्टिलेटर छैन। त्यसैले त्यस्ता बिरामी भयो भने हामीले पाटन अस्पतालसँग समन्वय गर्छौं। पछिल्लो समय पाटन अस्पताल पनि भरिएकाले दुवाकोटस्थित केएमसी अस्पतालसँग पनि समन्वय भइरहेको छ।
ट्रेसिङ कार्यलाई हामीले चुस्त बनाएका छौं। कसैलाई संक्रमण देखियो भने तत्काल उहाँहरूका क्लोज कन्ट्याक्टमा पुगेका व्यक्तिहरूको पहिचान गरेर परीक्षण गर्छौं। यसअघि पनि एकै परिवारका ८ जनालाई संक्रमण देखिएपछि उहाँहरूको वरपरिका ४० जनाको परीक्षण गर्यौं।
पछिल्लो समय संघीय सरकारको निर्णय छिनछिनमा फेरबदल भइरहँदा स्थानीय तहलाई काम गर्न गाह्रो भइरहेको छ। हिजो खाद्यान्न पसल खुल्ने समय एउटा तोक्नुभयो, भोलिपल्ट फेरि अर्कै समय तोक्नुभयो। यसले हामीलाई कार्यान्वयन गर्न गाह्रो भएको छ।
यी बाहेक संक्रमण नियन्त्रण गर्ने काम स्थानीय तहले नै गरिरहेको छ। भोलि संक्रमण समुदाय स्तरमा भयावह भयो भने त्यसको जिम्मेवार हामी नै हुन्छौं। त्यसैले सरकारको मुख ताकेर बस्दैनौं, सक्दो बुता प्रयोग गरेर काम गर्छौं।
निषेधज्ञाले सबभन्दा ठूलो समस्या पर्ने भनेको निम्न वर्गका मानिसलाई हो। त्यसका लागि पनि हामी काम गरिरहेका छौं। उहाँहरूलाई हातमुख जोर्न समस्या नआओस् भनेर नगरपालिकाले खाद्यान्न व्यवस्थापन गर्दिने गरी काम गरिरहेको छ।
हामीले सुरूमा ११ हजार जनालाई राहत वितरण गर्यौं। अहिले त्यो कार्य रोकेका छौं। कोही साँच्चिकै समस्यामा पर्नुभएको छ भने नगरपालिकामा सम्पर्क गर्दा हुन्छ। हामी त्यस्ता व्यक्तिलाई खाद्यान्न उपलब्ध गराउँछौं।
यी पनि हेर्नुहोस्: