सम्पादकीय नोट: काठमाडौं उपत्यका कोरोनाको नयाँ 'हटस्पट' हुने सम्भावना बढेको छ। यस्तो बेला जनशक्ति र पूर्वाधारको प्रभावकारी परिचालन गरी काठमाडौं, भक्तपुर र ललितपुरका घना बस्तीमा संक्रमण फैलिनबाट रोक्न सकिन्छ।
यो जिम्मेवारी सरकारले कसरी निर्वाह गरिरहेको छ? संक्रमित पत्ता लगाउने, उनीहरूलाई आइसोलेसनमा राख्ने, अस्पताल पुर्याउने पूर्वाधार र जनशक्तिको तयारी के छ? हामीले यी प्रश्न काठमाडौं उपत्यकाभित्रका १८ महानगर/नगरपालिकाका मेयर/उपमेयरलाई सोधेका छौं।
तपाईंको नगरपालिका कुन हो? आफ्नो नगरभित्र के हुँदैछ? तयारी के छ? यसबारे आफ्ना मेयर/उपमेयरलाई सुन्नुस् है:
...
सोमप्रसाद मिश्र (मेयर, चाँगुनारायण नगरपालिका):
हामीकहाँ २५ जना कोरोना भाइरस संक्रमित छन्। त्यसमध्ये सशस्त्र प्रहरीमा बढी संक्रमण देखिए। संक्रमितमध्ये पाँच जना स्थानीय र अन्य सशस्त्र प्रहरी छन्। पाँचै जनाको अवस्था सामान्य नै छ।
अस्पतालमा भएका एक जना होम आइसोलेसनमा बस्नुभएको थियो। हल्का ज्वरो लगायतको सामान्य लक्षण देखिएपछि अस्पतालमा राख्यौं।
नगरपालिकाभित्र कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि कन्ट्याक ट्रेसिङ गर्ने तथा निषेधाज्ञा पालना गर्न आह्वान गरिएको छ। हामीले हाम्रो नीतिअनुसार सुरूमा निषेधाज्ञा पालना गर्ने-गराउने, लक्षण नदेखिएका संक्रमितलाई होम आइसोलेसनमै राख्ने, होम आइसोलेसनमा बस्न अप्ठ्यारो हुने परिवारलाई वा एकतले मात्रै घर भएको, कमन रूम भएकाहरूलाई कम्युनिटी एजुकेसन सेन्टरमा राख्ने र लक्षण देखिएका, गाह्रो भएकाहरूलाई हस्पिटलमा लैजाने काम गरिरहेका छौं।
अहिलेसम्म नगरपालिकामा ३०० जनामा कोरोना परीक्षण गरिएको छ भने ५० बेडको आइसोलेसन कक्ष स्थापना गरिएको छ।
भक्तपुरका चार नगरपालिका मिलेर खरिपाटीमा २०० बेडको आइसोलेसन कक्ष निर्माण गरिएको छ। संक्रमितको संख्या र अवस्था हेरेर त्योअनुसार बढाउनुपरे बढाउँछौं।
नगरपालिकामा होम आइसोलेसनमा बसेका संक्रमितलाई स्वास्थ्यकर्मीले दैनिक दुईचोटि सम्पर्क गरेर अवस्था बुझ्ने र अप्ठ्यारो भयो भने अस्पताल पुर्याइने व्यवस्था गरेका छौं।
कोरोना संक्रमितको संख्या बढे पनि अहिलेसम्म समुदायमा फैलिसकेको छैन। तर फैलियो भने भेन्टिलेटर तथा आकस्मिक उपचारका लागि उपत्यकाका अन्य अस्पतालमै बिरामीलाई लैजानुपर्ने अवस्था छ।
बिरामीलाई गाह्रो भएको अवस्थामा चाँगुनारायणमै उपचार गर्ने अवस्था छैन। उपत्यकाकै विभिन्न अस्पतालमा लैजानुपर्ने भएकाले महामारी बढ्दै गए भेन्टिलेटरहरू नपुग्ने अवस्था हुनसक्छ।
कोरोना भाइरस उपचारका लागि भक्तपुरमै भक्तपुर कोभिड अस्पताल र काठमाडौं मेडिकल अस्पताल दुवाकोटमा पनि छ। तर संक्रमणको अवस्था हेरेर महामारी फैलिए अन्य अस्पतालमै जानुपर्छ।
नगरपालिकाले हाल कुनै पनि राहत प्याकेज ल्याएको छैन। यसअघि खाद्यान्नका लागि रोजगार कार्यक्रम ल्याए पनि अब कोरोना संक्रमणको अवस्था हेरेर मात्र कार्यक्रम अगाडि बढाउने हो। पहिला रोजगार कार्यक्रम ल्याएका थियौं। कामअनुसार ज्याला दिने गर्थ्यौं। कार्यविधि ल्याएर काम गर्ने भएकाले दाल, चामल, तेल दिँदैनौं। समस्या आयो भने हामी काम दिन्छौं तर बाँड्ने काम चाहिँ गर्दैनौं।
कोरोनाका कारण अहिले नगरपालिकाका सबै काम प्रभावित भएका छन्। बिरामी भनेको समयमा अस्पताल जान नपाएको, बेरोजगारी समस्या बढेको तथा विकास निर्माणका काम ठप्प भएका छन्।
यी पनि हेर्नुहोस्: