सम्पादकीय नोट: काठमाडौं उपत्यका कोरोनाको नयाँ 'हटस्पट' हुने सम्भावना बढेको छ। यस्तो बेला जनशक्ति र पूर्वाधारको प्रभावकारी परिचालन गरी काठमाडौं, भक्तपुर र ललितपुरका घना बस्तीमा संक्रमण फैलिनबाट रोक्न सकिन्छ।
यो जिम्मेवारी सरकारले कसरी निर्वाह गरिरहेको छ? संक्रमित पत्ता लगाउने, उनीहरूलाई आइसोलेसनमा राख्ने, अस्पताल पुर्याउने पूर्वाधार र जनशक्तिको तयारी के छ? हामीले यी प्रश्न काठमाडौं उपत्यकाभित्रका १८ महानगर/नगरपालिकाका मेयर/उपमेयरलाई सोधेका छौं।
तपाईंको नगरपालिका कुन हो? आफ्नो नगरभित्र के हुँदैछ? तयारी के छ? यसबारे आफ्ना मेयर/उपमेयरलाई सुन्नुस् है:
...
सरस्वती खड्का (उपमेयर, कीर्तिपुर नगरपालिका):
कीर्तिपुर नगरपालिकामा कोरोना संक्रमित संख्या २६ पुगेको छ। स्थानीय बासिन्दा र बाहिरबाट आएकाहरूमा कोरोना पुष्टि भएको हो। अधिकांशलाई नगर स्तरबाटै स्वाब संकलन गरी परीक्षण गरिएको छ। कोही आफैंले पनि चेकअप गर्नुभएको छ।
यीमध्ये केहीलाई मात्र कोरोनाका लक्षण देखियो र एक जना संक्रमित पुरूषको निधन भयो। अरूको स्वास्थ्य अवस्था ठिक छ।
कीर्तिपुर जनस्वास्थ्य केन्द्रीय कार्यालयमा २०० बेडको आइसोलेसन छ। आयुर्वेदिक रिसर्च सेन्टरमा पनि २० बेडको आइसोलेसन छ। अरू पनि थप गर्दैछौं।
संक्रमण नियन्त्रणका प्रयासस्वरूप शंका लागेकालाई क्वारेन्टिनमा राख्ने, पुष्टि भएकालाई आइसोलेसनमा राख्ने र बस्न चाहनेलाई होम आइसोलेसनमा पनि राखिएको छ। संक्रमण बढ्यो भने अझै आइसोलेसन बनाउने तयारी छ। अहिले त्रिविको आयुर्वेदिक रिसर्च सेन्टरमा भेन्टिलेटर छ। कीर्तिपुर अस्पतालमा पनि बनाउने तयारीमा छौं।
होम आइसोलेसन बसेकालाई नगरका स्वास्थ्यकर्मीले जाँच गर्छन्। केही समस्या पर्यो भने उनीहरूलाई नगरकै स्वास्थ्यकर्मीले सहयोग गर्छन्। स्वास्थ्यकर्मी र संक्रमित नियमित सम्पर्कमा छन्।
राहत बाँड्ने योजना अहिले नगरपालिकासँग छैन। विकास निर्माणका कामलाई हामीले प्रोत्साहन गरेका छौं। भौतिक दूरी कायम गरेर काम लगाएका छौं। केन्द्र र प्रदेशबाट सहयोग भइरहेको छ।
यो पनि हेर्नुहोस्: