सम्पादकीय नोट: काठमाडौं उपत्यका कोरोनाको नयाँ 'हटस्पट' हुने सम्भावना बढेको छ। यस्तो बेला जनशक्ति र पूर्वाधारको प्रभावकारी परिचालन गरी काठमाडौं, भक्तपुर र ललितपुरका घना बस्तीमा संक्रमण फैलिनबाट रोक्न सकिन्छ।
यो जिम्मेवारी सरकारले कसरी निर्वाह गरिरहेको छ? संक्रमित पत्ता लगाउने, उनीहरूलाई आइसोलेसनमा राख्ने, अस्पताल पुर्याउने पूर्वाधार र जनशक्तिको तयारी के छ? हामीले यी प्रश्न काठमाडौं उपत्यकाभित्रका १८ महानगर/नगरपालिकाका मेयर/उपमेयरलाई सोधेका छौं।
तपाईंको नगरपालिका कुन हो? आफ्नो नगरभित्र के हुँदैछ? तयारी के छ? यसबारे आफ्ना मेयर/उपमेयरलाई सुन्नुस् है:
...
सन्तोष चालिसे (मेयर, गोकर्णेश्वर नगरपालिका):
हाम्रो नगरपालिकामा अहिलेसम्म ४३ जना संक्रमित भए। सबैजसो डिस्चार्ज भएका छन्। अहिले ४ वटा मात्र एक्टिभ केस छन्। उनीहरू सबै अस्पतालमा छन्।
हामीले प्रत्येक आइतबार सय जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्ने गरेका छौं। हजारभन्दा धेरैको स्वाब परीक्षण गरिसकेका छौं। अवस्था नियन्त्रणमा छ।
हामीले नेपाल मेडिकल कलेजमा १ सय बेड क्षमताको आइसोलेसन बनाउने समझदारी गरेका छौं। तर सबै रित्तै छन्। त्यहाँ ४ वटा भेन्टिलेटर र १० वटा आइसियू कोभिडका बिरामीलाई प्रयोग गर्न सकिन्छ। त्यस्तै जोरपाटीमा खाङ्ग्री इन्टरनेसनल भन्ने अस्पतालमा ८ वटा आइसियू र ३ वटा भेन्टिलेटर छन्। शंकरापुर अस्पताल र नेपाल अर्थोपेडिक अस्पतालसँग पनि हामीले कुराकानी गरेका छौं।
कन्ट्याक्ट ट्रेसिङका लागि आर्मी, प्रहरीसमेत रहेको ११ जनाको टोली बनाएका छौं। ११ जना स्वास्थ्यकर्मीलाई कोभिडकै काममा खटाउन परिचालन गरेका छौं।
केन्द्र सरकारले के गर्छ के गर्दैन मलाई थाहा छैन। तर मेरो नगरपालिकाकको जिम्मा मै लिन्छु। सरकारले काम गर्छ कि गर्दैन पनि मलाई मतलब छैन।
नगरपालिकाले ५ करोडको कोभिड कोष बनाएको छ। पिसिआर मेसिन किन्ने भनेर डेढ करोड छुट्याएका छौं। तर न त केन्द्र सरकारले किन्न दिन्छ न त प्रदेश सरकारले। सरकारले तोकेका दुई-चार ठाउँमै जाँच्न जानुपर्ने भनिराखेको छ। परीक्षण बढाउन यसले अवरोध गरिरहेको छ। राज्यले यसो गर भनेर निर्देशन दिन सकेको अवस्था छैन।
कोभिड महामारी भएकै सात महिना हुन लाग्यो। प्रदेश र केन्द्र सरकारले एउटा सही निर्णय गरेको छैन। यति बेला आएर क्वारेन्टिन र आइसोलेसनको कुरा गर्दैछ। काठमाडौं महानगरले क्वारेन्टिनसम्म बनाउन सकेको छैन।
गोकर्णेश्वर महानगरपालिका कोभिड व्यवस्थापनमा उत्कृष्ट नगरपालिका भने हुन्छ। यो सबै काम दिनरात खटेर गरेको मान्छेले राम्रो भन्दियोस् भनेर हो। ७ सय ५३ वटै स्थानीय तहमा हामीले जति व्यवस्थापन अरूले गरेका छैनन्।
हामीले होम आइसोलेसनमा बस्छु भन्नेलाई पनि हरेक दिन फोन गर्ने कर्मचारी छुट्यायौं। उसले दैनिक हेल्थ रिपोर्ट बनायो। ज्वरो घटे-बढेको र लक्षण भए-नभएको टिप्यो। समस्या भए अस्पताल लैजान एम्बुलेन्स तयारी अवस्थामा छ।
यति धेरै अस्पतालसहितको व्यवस्था अरू नगरपालिकाले गर्न सकेका छैनन्। कुनै पनि मान्छेले अस्पताल जान्छु भन्यो भने तुरुन्त पुर्याउन हामीलाई कुनै समस्या छैन।
यी पनि हेर्नुहोस्: