नेपाली चलचित्र निर्माताहरूको छाता संस्था 'नेपाल चलचित्र निर्माता संघ' को अध्यक्षमा उदय सुब्बा निर्वाचित भएका छन्। उनले १५३ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन्।
अध्यक्षका अर्का उम्मेदवार सुनील कुमार थापाले १२६ मत पाएका थिए।
संघको सोमबार भएको १९औं साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो। निवर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका सुब्बा यसअघि एक पटक वरिष्ठ उपाध्यक्ष र तीन पटक उपाध्यक्ष भइसकेका छन्।
यसैगरी, महासचिवमा खगेन्द्र लामिछाने निर्वाचित भएका छन्। उनले १५२ मत पाए भने उनका प्रतिस्पर्धी किरण नेपालीले १२५ मत प्राप्त गरे। सचिवमा युवराज गिरी १५९ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी किसान पोखरेलले ११२ मत प्राप्त गरे।
उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यमा निर्विरोध चयन
संघको उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य पदहरूमा भने सर्वसम्मत नेतृत्व चयन भएको छ।
उपाध्यक्ष पदमा रौनकविक्रम कँडेल र ज्योतिराज राई निर्विरोध चुनिएका छन्।
कोषाध्यक्षमा रामप्रसाद रिजाल पनि निर्विरोध निर्वाचित भएका छन्।
नौ जनाको सदस्य पदका लागि ७ जनाले मात्र आवेदन दिएकाले सबैजना सर्वसम्मत भएका छन्।
चुम्बनजंग शाही, टंकबहादुर बुढाथोकी, श्रीधर पौडेल, मनोजकुमार अधिकारी, प्रवीण कार्की, घनेन्द्र थपलिया र राजकुमार पण्डित सदस्यमा चुनिएका हुन्।