भारतको नयाँ दिल्लीमा जन्मिएका मिलिन्द कुमार अहिले अमेरिकाको राष्ट्रिय क्रिकेट टोलीबाट खेल्छन्।
३४ वर्षीय अलराउन्डर मिलिन्दले गत वर्ष अमेरिकाको एकदिवसीय र टी-२० टोलीबाट डेब्यू गरेका थिए।
डेब्यूको दुई वर्ष पूरा हुन नपाउँदै उनले अमेरिकी टोलीबाट २२ एकदिवसीय खेलमा एक हजार रन कटाइसकेका छन्। जसमा तीन शतक र सात अर्धशतक समावेश छन्। गत महिना युएईमा भएको आइसिसी विश्वकप लिग-२ मा उनले धमाका नै मच्चाए। उनले नेपाल र युएईविरूद्धका चार खेलमध्ये तीन खेलमा अर्धशतक र एक शतक (७०*, ७१, ७० र १२३* रन) प्रहार गरे।
एसोसिएट टोलीका उत्कृष्ट अलराउन्डरको छवी बनाएपछि उनीमाथि सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली काठमान्डु गोर्खाजको आँखा पर्यो। उनले सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु भएको दोस्रो संस्करणको एनपिएलमा आफ्नो अलराउन्डरको छवी प्रमाणीत गरे।
पहिले ब्याटिङ गरेको साविक विजेता जनकपुर बोल्ट्समाथि उनले धारिलो बलिङ गरे। मिलिन्दले जनकपुरका सुरूवाती तीन विकेट लिए भने केवल १५ रन मात्र खर्चिए। ब्याटिङमा १९ रन जोडेका उनी खेलको प्लेयर अफ दि म्याच समेत घोषित भए।
उनले जनकपुरका ओपनर लाहिरु मिलान्थालाई विकेट किपर जोन सिमसनबाट क्याच गराए भने एक बलपछि कप्तान अनिलकुमार साहलाई शून्यमा इरासमसबाट क्याच गराउँदै पेभिलियनको बाटो देखाए।
दुई ओभरपछि मिलिन्दले यान निकोल लोफ्टी इटनलाई २ रनमा बोल्ड गरेपछि जनकपुर दबाबमा पर्यो। उनकै कसिलो बलिङका कारण जनकपुर १३० रनमा समेटियो। १३१ रनको लक्ष्य काठमान्डुले दुई ओभर बाँकी छदा ५ विकेटको क्षतिमा पूरा गरेर जित निकाल्न सफल भयो।
‘मिलिन्दले अमेरिकी टोलीका लागि ठूलो सफलताका साथ आफ्नो भूमिका निर्वाह गर्दै आएका छन्, उनले ब्याटिङमा एकरुपता र संयमता देखाएका छन्,’ काठमान्डु गोर्खाजका प्रशिक्षक मोन्टी देसाईले मिलिन्द कुमारलाई भित्र्याएपछि भनेका थिए, ‘फरक परिस्थिति र दबाबमा पनि खेल्न सक्ने उनको क्षमता उत्कृष्ट छ।’
अमेरिका जानुअघि मिलिन्द कुमार भारतको घरेलु प्रतियोगिताका राम्रा खेलाडीमध्येका एक थिए। उनले सन् २०११ मा दिल्लीबाट रणजी ट्रफीमा डेब्यू गरेका थिए। दिल्लीपछि उनले त्रिपुरा र सिक्किमबाट समेत घरेलु क्रिकेट खेलेका थिए।
इन्डियन प्रिमियर लिग (आइपिएल) टोलीमा पनि उनी आबद्ध हुन सफल भए। सन् २०१४ मा हालको दिल्ली क्यापिटल्स त्यतिबेलाको दिल्ली डेयरडेभिल्समा १० लाखमा आबद्ध भएका थिए। यस्तै २०१९ मा पनि उनलाई रोयल च्यालेन्जर्स बेगलुरुमा २० लाखको न्यूनतम मूल्यमा टोलीमा भित्र्याएको थियो। तर दु:खद पक्ष के रह्यो भने उनले आइपिएलका खेलमा भने कहिल्यै अवसर पाउन सकेनन्।
त्यसपछि उनी अमेरिका हानिए। सन् २०२१ मा अमेरिका तल्लो श्रेणीको लिग माइनर लिग क्रिकेट खेल्न थाले। त्यसपछि उनी बिस्तारै अमेरिकी क्रिकेटमा स्थापित भए। जसका कारण उनले अमेरिकाको फ्रेञ्चाइज क्रिकेट लिग मेजर क्रिकेट लिगमा उच्च प्रदर्शन गर्न सफल भए। पछिल्लो तीन सिजनदेखि उनले मेजर क्रिकेट लिग टेक्सास सुपर किंग्सबाट खेल्दै आएका छन्।
सन् २०२४ मा राष्ट्रिय टोलीमा परेपछि उनले एकदिवसीय खेलमा लगातार उत्कृष्ट प्रदर्शन गरे। जसका कारण उनलाई आइसिसीले गत मे महिनामा प्लेयर अफ दि मन्थको मनोनयनमा राखेको थियो।
हाल चलिरहेको आइसिसी विश्वपकप लिग २ मा उनी सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । उनले २२ खेलमा ६७ माथिको औषत र १०० माथिको स्ट्राइक रेटमा १०१६ रन बनाइसकेका छन्, जसमा ३ शतक र ७ अर्धशतक समावेश छ। सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा रहेका जर्ज मुन्सेभन्दा उनी २१ रनले मात्र पछि छन्। लिग-२ उनले २८ विकेट पनि लिएका छन्।