बंगलादेशको अन्तर्राष्ट्रिय अपराधसम्बन्धी विशेष न्यायाधीकरणले सोमबार पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरूद्ध अपराधमा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको छ।
अदालतमा न्यायाधीशले फैसला वाचन गर्दा इजलासभित्र र बाहिर ठूलो संख्यामा भिड जम्मा भएको थियो।
अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीका अनुसार जति बेला शेख हसिनालाई मृत्युदण्ड सुनाइयो, इजलासभित्र र बाहिर उपस्थित मानिसहरूले उत्सव मनाए र 'हसिनालाई फाँसी दिऊँ' भन्दै नाराबाजी गरे।
केही सेकेन्डको उत्सवपछि अदालतले उपस्थितहरूलाई न्यायालयको शिष्टाचार कायम राख्न अनुरोध गरेको थियो।
न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजुमदारले ४५३ पृष्ठको फैसला ६ भागमा विभाजन गरेर पढ्ने घोषणा गरेका थिए। उक्त फैसला बंगलादेश टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो।
अभियोजन पक्षले गत जुनमा शेख हसिना र दुई अन्यलाई पाँचवटा औपचारिक आरोपमा मुद्दा दर्ता गरेको थियो। अदालतले यसकै आधारमा पक्राउ पुर्जी पनि जारी गरेको थियो।
गत वर्षको सरकार विरोधी प्रदर्शनमा बंगलादेशभर हिंसात्मक घटनाहरू भएका थिए। अभियोजन पक्षका अनुसार त्यस क्रममा १,४०० जनाको हत्या र करिब २५ हजार मानिस घाइते भएका थिए। अदालतमा मृतकहरूको सूची पेस गरिएको थियो।
अभियोजन पक्षले तीनै जना अभियुक्तविरुद्ध ७४७ पृष्ठको दस्तावेज पनि पेस गरेको थियो।
उनीहरूमाथि लगाइएका पाँच मुख्य आरोपमा हत्या, हत्या प्रयास, षड्यन्त्र, हिंसालाई सहयोग र प्रोत्साहन छन्। यसमा १३ जनाको हत्या पनि समेटिएको थियो।
अभियोजन पक्षको दाबी अनुसार सन् २०२४ जुलाई १४ मा प्रधानमन्त्रीको पदमा रहँदा शेख हसिनाले प्रेस सम्मेलनमा विद्यार्थीहरूलाई 'रजाकारका छोरा–नाति' भन्दै उक्साहटपूर्ण टिप्पणी गरेकी थिइन्।
बंगलादेशमा 'रजाकार' शब्द १९७१ को मुक्तियुद्धमा पाकिस्तानी सेनासँग मिलेर काम गरेका गद्दारलाई जनाउन प्रयोग हुन्छ।
आरोपपत्र अनुसार, असदुज्जमान खान कमाल र चौधरी अब्दुल्ला अल मामुनसहित सरकारका शीर्ष अधिकारीहरूको निर्देशन र सहयोगमा सुरक्षा निकाय र अवामी लिगका हतियारबन्द समूहले निहत्था विद्यार्थी र सर्वसाधारणमाथि व्यवस्थित हमला र हत्या गरेको थियो।
शेख हसिना सहित तीन अभियुक्तमाथि रंगपुरको बेगम रोकैया विश्वविद्यालयका विद्यार्थी अबु सईदको हत्या, राजधानीको चंखर पुलमा ६ जनाको हत्या र ५ अगस्टमा असुलियामा पाँच जनालाई गोली हानी हत्या र एक व्यक्तिलाई जीवित जलाउने आरोपहरू छन्।