सहिद परिवार
भदौ २१ गते बिहानको कुरा।
मधु सारू मगर बिरामी छोरीलाई अस्पताल लैजाने तयारीमा थिइन्। त्यति बेलै छोरा माधवले फोन गरे।
अस्पताल जाने हतारोमा उनले छोरासँग कुरा गर्न पाइनन्। 'साँझपख फोन गर् है' भन्दै राखिन्।
माधवले फोन गरेनन्। बिरामी छोरीको स्याहारमा व्यस्त मधुले पनि गरिनन्। फोन गरिहाल्नुपर्ने असामान्य अवस्था पनि थिएन।
एक्कासि भदौ २४ गते साँझ ५ बजेतिर मधुको घरमा केही आफन्त आए।
उनीहरूले भने — तपाईंको छोरालाई काठमाडौंमा गोली लागेर घाइते भएका छन् रे!
'त्यति सुन्नासाथ मेरो शरीर थरर काम्न थाल्यो,' मधुले भनिन्।
उनले रूँदै विदेशमा रहेका श्रीमान चन्द्रबहादुरलाई फोन गरिन्। चन्द्र रोजगारीका लागि सात–आठ वर्षदेखि कतारमा छन्।
उनीहरूको घर आर्घखाँची भूमिकास्थान नगरपालिका वडा नम्बर फलामखिल्जी भन्ने ठाउँमा पर्छ। मधु र चन्द्रको सानै उमेरमा प्रेम विवाह भएको थियो। तीन सन्तान जन्मिएपछि उनीहरूलाई हुर्काउन–बढाउन चन्द्र विदेश भासिएका हुन्।
बीस वर्षका माधव उनीहरूका जेठा छोरा थिए। माधवका एक भाइ र बहिनी छन्।
माधवले एसइईसम्म गाउँकै स्कुल र प्लस–टू बुटवलमा पढेका हुन्। प्लस–टूको परीक्षा दिएर यही साल जेठमा काठमाडौं आएका थिए।
'खाडीमा कमाएको पैसाले दु:खसुख पढाएका हौं,' मधुले भनिन्, 'छोराछोरी पढाउनकै लागि बुढा विदेश भासिएका हुन्।'
विदेशमा काममा खटिइरहेका श्रीमानलाई तत्काल छोरालाई गोली लागेको कुरा नसुनाऊँ कि भन्ने मधुलाई लागेको थियो। तर नसुनाई बस्न सकिनन्।
चन्द्रको त्यो दिन रातिको ड्युटी थियो। खबर सुनेपछि मधु र चन्द्र दुवैको रात छटपटीमै बित्यो।
माधव कीर्तिपुरमा गाउँकै दुई जना साथीहरूसँग मिलेर डेरामा बस्थे। मधुले ती साथीहरूलाई तारन्तार फोन गरिन्। केही जानकरी पाउन सकिनन्।
'डेरामा सँगै बस्ने साथीहरू भने आन्दोलनमा गएका रहेनछन्,' मधुले भनिन्, 'डेराका साथीलाई जाऊँ भन्दा नमानेपछि काम गर्ने साथीहरूसँग गएछ।'
साथीहरूले मधुलाई बताए अनुसार माधव साइकलमा सामान डेलिभरीको काम गर्थे। डेराबाट डेलिभरी ब्याग नै बोकेर निस्किएका थिए। कम्पनीमा गएर साइकल र ब्याग राखेर त्यहीँ काम गर्ने साथीहरूसँग जेनजी आन्दोलनमा गएको थाहा भयो।
मधुलाई त काठमाडौंमा भदौ २३ गते आन्दोलन छ भन्नेसम्म जानकारी थिएन। एक्कासि छोरा घाइते भएको खबर पाएपछि मात्र थाहा पाएको उनले बताइन्।
'छोरालाई गोली लागेर अस्पताल पुर्याएको पनि आफन्तले दिउँसो दुई/तीन बजेतिरै थाहा पाएका रहेछन्,' उनले भनिन्, 'फोनमा भन्दा गाह्रो हुन्छ भन्ने सोचेर साँझपख घरमै आएर भनेका थिए।'
आफन्तहरूले माधव घाइते भएको सुनाएका थिए। त्यो रात तनावमै बित्यो।
अर्को दिन छोराबारे सोधपुछ गर्न थालिन्। काठमाडौं आउने खोज्दा बस पाइनन्। माधवका साथीहरूलाई नै हालखबर सोधिरहिन्। कसैले उनलाई यकिन जानकारी दिएन।
भदौ २४ गते उनका श्रीमान चन्द्र कतारबाट फर्किए। तर काठमाडौं विमानस्थलबाट बाहिर निस्किनै पाएनन्। कर्फ्यु जारी भएको भन्दै चन्द्रलाई विमानस्थलभित्रै राखिएको मधुले बताइन्।
सवारीसाधन ठप्प भएकाले मधु पनि काठमाडौं आउन पाइनन्।
चन्द्र एक रात विमानस्थलमा बसेपछि प्रहरीसँग कुराकानी गरेर छोरा खोज्न अस्पताल धाउन थाले। माधवका साथीले ट्रमा सेन्टरमा छ भनेपछि उनी त्यहाँ पुगे।
त्यहाँ शवका रूपमा ढलेको छोरा माधवको अनुहार बुबा चन्द्रले हेर्नै सकेनन्।
यतिन्जेल मधुलाई पनि कसैले माधवको मृत्यु भइसकेको सुनाएका थिएनन्। चन्द्रले पनि सुनाएनन्।
जब भदौ २७ गते उनी काठमाडौं आइपुगिन्, तब मात्र छोराको मृत्यु भएको थाहा पाइन्।
'गोली लागेर घाइते भएको भनेका थिए। त्यही होला भन्ने सोचिरहेकी थिएँ,' मधुले भनिन्, 'काठमाडौं आएपछि पो मृत्यु भइसकेको थाहा पाएँ।'
ट्रमा सेन्टरको एक कोठामा माधवको शव थियो। जेठमा काठमाडौं आउनुअघि मधुले उनलाई देखेकी थिइन्। त्यसपछि एकैपटक अस्पतालमा शव देख्दा उनी बेहोस भइन्।
उनले थपिन्, 'एकपल्ट भए पनि छोरालाई हेर्छु भन्ने लागेर बुढालाई मलाई अस्पताल लैजान आग्रह गरेँ। बुढाले हेर्न सक्नुभएन, म त एकपल्ट अनुहार हेर्छु भनेर जबरजस्ती हेरेँ। बेहोस नै भएछु।'
माधवको भदौ २३ गते राति नै मृत्यु भएको थियो। उनको टाउकोमा गोली लागेको चिकित्सकहरूले बताएका थिए।
'आन्दोलन छ भन्ने थाहा भएको भए त फोन गरेर नजान भन्थेँ होला नि,' मधुलाई अहिले पनि यस्तो लागिरहन्छ।
उनका श्रीमान चन्द्र केही साताअघि कतार फर्किसकेका छन्।
मधु अहिले दुई सन्तानका साथमा माधवको सम्झनामै छिन्। अझै पनि उनलाई छोरालाई गोली चाहिँ नहानिदिएको भए हुन्थ्यो भन्ने लागिरहन्छ।
गोली चलाउन आदेश दिने, चलाउनेलाई कारबाही हुनुपर्ने उनी बताउँछिन्। सरकार जसले चलाए पनि भ्रष्टाचार नभइदिए सहिदहरूको आत्माले शान्ति पाउँथ्यो भन्ने उनलाई लागेको छ।
'जनताका छोरालाई गोली हान्यो, खै कसैलाई कारबाही भएको छै,' मधुले भनिन्, 'गोली हान्नेले बिर्सिसके होला, हामीलाई त बाँचुन्जेल पिर हुन्छ।'
सहिद परिवारका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्