नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण हुन नसक्दा डाइभर्ट गर्नुपर्ने अवस्थामा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई वैकल्पिक (अल्टरनेटिभ) विमानस्थलका रूपमा प्रयोग गर्ने निर्णय गरेको छ।
निगमका प्रवक्ता अनिल घिमिरेका अनुसार मंसिर ३ देखि लागू हुने गरी उक्त निर्णय गरिएको हो।
निगमले सोमबार एक विज्ञप्ति जारी गर्दै वैकल्पिक विमानस्थल प्रयोग गर्दा समय बचत र खर्च कटौती हुने विश्वास गरिएको जनाएको छ।
निगमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पनि वैकल्पिक विमानस्थल बनाउने अध्ययन प्रक्रिया सुरू गर्ने बताएको छ।
गत शुक्रबार बिहान दुबईबाट काठमाडौंका लागि उडेको नेपाल वायुसेवा निगमको 'आरए २३०' जहाज दिल्ली डाइभर्ट भएपछि सञ्चालक समितिले यस्तो निर्णय गरेको हो।
उक्त जहाज ९:४० बजे काठमाडौं अवतरण हुने तालिका थियो। काठमाडौं विमानस्थलको अन्तर्राष्ट्रिय तर्फको पार्किङ व्यस्त भएपछि जहाज सिमरामा होल्ड भयो।
विमानस्थल कार्यालयका अनुसार एयर ट्राफिकका कारण निगमको जहाजलाई ३० मिनेट सिमराकै आकासमा होल्ड गरिएको थियो। निगमको जहाजसँगै अरू जहाज पनि होल्डिङमा थिए। त्यसैबीच 'पार्किङ वे खाली छैन, अझै २५ मिनेट लाग्छ' भन्दै विमानस्थलबाट एयर ट्राफिक कन्ट्रोलर (एसिटि) ले जानकारी गराएपछि दिल्ली डाइभर्ट गरिएको थियो।
यो घटनापछि नेपालमै अर्को अन्तर्राष्ट्रिय विमानस्थल हुँदा हुँदै किन जहाज अवतरण हुन दिल्ली गयो भन्ने प्रश्न उठेको थियो।
कुनै पनि जहाजले उडानअघि नै सम्पूर्ण जानकारी विमानस्थललाई दिएको हुन्छ। यसलाई 'फ्लाइट प्लान' भनिन्छ।
उक्त फ्लाइट प्लानमा कुन जहाज उड्ने, कहाँ जाने, कति उचाइसम्म उड्ने, पाइलट को हुन्, कति इन्धन बोकेको छ लगायत समावेश गरिएको हुन्छ। साथै जुन गन्तव्यमा जाने हो, त्यहाँ केही कारण अवतरण हुन सकेन भने त्यसका लागि अल्टरनेट विमानस्थलको समेत टुंगो भइसकेको हुन्छ।
एउटा गन्तव्य र दुइटा वैकल्पिक गरी तीनवटा विमानस्थल राखिएको हुन्छ। कुनै समस्याले गन्तव्यको विमानस्थलमा अवतरण हुन नसकेको खण्डमा जहाज पहिलो विकल्पमा अवतरणका लागि जान्छ। त्यसमा पनि अवतरण हुन समस्या भयो भने दोस्रो विकल्पमा अवतरण गर्छ।
नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार डाइभर्टका लागि उनीहरूले विमानस्थलको मौसम र सेवासुविधा हेर्छन्। आफ्ना कर्मचारी र नियमित उडान भइरहेको सजिलो विमानस्थल छान्छन्।
'आकाशमा होल्ड गरिरहेको जहाज गन्तव्यको विमानस्थलमा जान नसकेर कुन वैकल्पिक विमानस्थलमा अवतरण गर्ने भन्नेबारे पाइलट वा सम्बन्धित एयरलाइन्सको निर्णयमा भर पर्छ,' सूचना अधिकारी भुलले भने, 'उड्डयन प्राधिकरण लगायत विमानस्थलमा भएका निकायको भूमिका हुँदैन।'
यसको अधिकार सम्बन्धित वायुसेवा कम्पनीको अपरेसन टिम र क्याप्टेनसँग हुने उनी बताउँछन्। जहाँ उनीहरूलाई सहज हुन्छ, त्यही अनुसार वैकल्पिक विमानस्थल तय हुन्छन्। त्यसैले काठमाडौंमा आएको जहाज भैरहवा जानुपर्छ वा पोखरा जानुपर्छ भनेर अनिवार्य गर्ने अधिकार कुनै पनि मुलुकको उड्डयन प्राधिकरणलाई नहुने उनले बताए।
त्यसो भन्दैमा हामीकहाँ सञ्चालनमा रहेका काठमाडौं बाहेकका दुई अन्तर्राष्ट्रिय विमानस्थल डाइभर्टका लागि योग्य छैनन् वा त्यहाँ डाइभर्ट गर्न सकिँदैन भन्ने होइन। काठमाडौंमा उडान-अवतरण गरिरहेका वाइडबडी जहाज भैरहवामा पनि अवतरण गर्न सक्छन्। यी दुई विमानस्थलमा भन्दा एक तह सानो जहाज पोखरामा उडान-अवतरण गर्न सक्छन्। यसमा कुनै समस्या नरहेको सूचना अधिकारी भुल बताउँछन्।
उनका अनुसार भैरहवाबाट वाइडबडी र पोखराबाट न्यारोबडीले उडान गर्न कुनै प्राविधिक समस्या छैन।
'यसमा कुनै पनि देशको प्राधिकरणले मेरै देशमा डाइभर्ट गर्नुस् भन्ने बाध्यकारी नियम बनाउन पाउँदैन,' उनले भने, 'वायुसेवा कम्पनीले स्वतन्त्र रूपमा छान्न पाउनुपर्छ।'
वायुसेवा कम्पनीले नै आफ्नो वैकल्पिक विमानस्थल छान्न पाउने अधिकार अनुसार अहिले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले भैरहवालाई वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्ने निर्णय गरेको हो।