सर्वोच्च अदालतले आगजनी भएको दुई महिनापछि सोमबारबाट सबै प्रकारका न्यायिक सेवा सुरू गरेको छ।
कात्तिक २० गते बसेको पूर्ण बैठकले सबै प्रकारका सेवा सुरू गरी सुनुवाइ गर्ने निर्णय गरेको हो।
यसअघि सर्वोच्च अदालतले मुद्दा तथा रिट दर्ताको मात्र काम गर्दै आएको थियो।
सोमबारबाट भने नष्ट भएका मिसिल कागजात प्राप्ति र प्रमाणीकरणको काम पनि सुरू भएको छ।
यसका लागि पछिल्ला केही दिन अघिदेखि कर्मचारी कसरी व्यवस्थापन गर्ने, कसरी सेवा दिने र कसरी सुधार गर्ने भन्ने विषयमा अदालत केन्द्रित थियो।
भदौ २४ को आगजनीपछि सर्वोच्चको ठूलो भवनमा कुनै काम हुँदैन।
बायाँपट्टि रहेका केही खाली ठाउँबाट सूचना दिने लगायत काम भइरहेका थिए।
सुरूआती दिनमा त त्यहाँ पाल टाँगेर बन्दी प्रत्यक्षीकरणको रिट दर्ता र सुनुवाइ गरियो। त्यसको छेवैमा आगजनीबाट नष्ट भएका गाडीका अवशेष थिए।
सोमबार भने सर्वोच्चको दृश्य फरक थियो। धेरै सेवाग्राही सेवा लिन आइपुगेका थिए।
सेवा दिने कर्मचारी पनि सबै परिसरमै देखिएका थिए।
'आजदेखि म्याद, तारेख, पुनरावेदन लगायत सबै काम सञ्चालन भएका छन्। आज जो जो आउनुहुन्छ, उहाँहरूले यहाँको सोधपुछ कक्षमा मुद्दा जलेको छ कि छैन भनेर थाहा पाउन सक्नुहुन्छ,' सर्वोच्चका उपरजिस्ट्रार तथा सूचना अधिकारी निराजन पाण्डेले भने, 'अरू सबै फाँटहरू परिसरमै राखेर सेवाग्राहीका लागि सहजीकरण गरिदिएका छौं।'
सेवा सञ्चालन गर्न कर्मचारीहरूलाई बदलिएको व्यवस्थापनमा बदलिँदो व्यवहार गर्न पनि निर्देशन दिइएको उनले बताए।
'कर्मचरी साथीहरू आज बिहान ७ बजेदेखि नै आएर व्यवस्थापनमा लाग्नुभयो। बदलिँदो व्यवस्थापनमा बदलिँदो व्यवहार राखौं भनेर सबै कर्मचारीलाई भनेका छौं,' उनले भने, 'पहिलेजस्तो सेवाग्राहीलाई यहाँ जानू, त्यहाँ जानू होइन; बरू कहाँ जाने हो देखाइदिने हिसाबले प्रस्तुत हौं भनेका छौं।'
हामीले सोमबार सर्वोच्चमा ५ वटा फरक दृश्य देखेका छौं –
उपरजिस्ट्रार निराजन पाण्डे।
१. जलेका गाडी हटाएर पालमुनि सर्वोच्चका फाँट
भदौ २४ गते जलाइएका सवारी साधन थुपारिएको ठाउँमा अहिले सर्वोच्च अदालतका फाँटहरू सञ्चालन गरिएका छन्। कतिपय फाँट भवनभित्र पनि सञ्चालन भइरहेका छन्।
सेवाग्राहीको सहजताका लागि चउरमै पाल टाँगेर सेवा दिइरहेको उपरजिस्ट्रार पाण्डेले जानकारी दिए। यहाँ पहिले जलेका ४७ वटा गाडी र ९१ वटा स्कुटर तथा मोटरसाइकल राखिएका थिए।
'हामीलाई जलेका सवारी साधन सके लिलामी गर्न, नभए सहरी विकास मन्त्रालयमा पठाउन भनिएको थियो,' उनले भने, 'त्यसै अनुसार गाडी हटाएपछि हामीले माटो सम्याएर आजबाट पालमुनि सेवा दिएका हौं। यसले धेरै सहज भएको छ।'
-ink-1763370013.jpeg)
२. मुद्दाका कागजात सेवाग्राहीसँग लिँदै
भदौ २४ गते जलेका मिसिलहरू पुन: प्राप्ति गर्न सर्वोच्च अदालतले सेवाग्राहीहरूसँग आह्वान गरेको छ।
आगजनीबाट चालू रहेका मुद्दाका मिसिल २० हजार ३४ वटा नष्ट भएका थिए। त्यसबाहेक ४ हजार २०० वटा जोगिएका थिए।
यी मिसिललाई सुरक्षित राख्न अहिले छुट्टै ठाउँ तोकिएको छ। त्यस्तै मिसिल प्राप्त गर्न सर्वोच्चले 'विशेष परिस्थितिका कारण नष्ट भएका कागजातको प्राप्ति र प्रमाणीकरण सम्बन्धी निर्देशिका, २०८२' लागू गरेको छ।
सर्वोच्च अदालतमा अभिलेख पुन: प्राप्तिका लागि छुट्टै स्थान तोकिएको उपरजिस्ट्रार पाण्डेले बताए।
'सर्वोच्च प्रवेश गर्नबित्तिकै सूचना कक्ष राखेका छौं। त्यहाँबाट सेवाग्राहीले आफ्ना फाइलको अवस्था के-कस्तो छ भनेर बुझ्न सक्नुहुन्छ। त्यसमा जलेको अवस्था छ भने उहाँहरूसँग भएका कागजात, फैसला भएका मुद्दाको मिसिलका कागजात यहाँको तोकिएको स्थानमा दिन सक्नुहुन्छ,' उनले भने, 'पुन: फाइल प्राप्ति भएपछि हामीले मिसिल सिर्जना गरी फैसला लेखन गर्छौं।'
-ink-1763370018.jpeg)
३. जलेका मिसिल पुन: प्राप्तिमा सघाउनेलाई 'धन्यवाद पत्र'
सर्वोच्चले जलेका मिसिल प्राप्तिका लागि अधिवक्ता, वरिष्ठ अधिवक्ता, सरकारी वकिल, पक्ष-विपक्ष सबैसँग अनुरोध गरेको छ।
कतिपय फैसला वा मुद्दाका फाइल सर्वोच्चले आफ्नो सर्भरबाट पुन: प्राप्ति गरिरहेको छ। त्यसरी प्राप्त हुन नसकेका फाइल सेवाग्राहीसँग माग गरिएको हो।
फाइल दिन आउने सेवाग्राहीलाई प्रोत्साहनका लागि एउटा 'धन्यवाद पत्र' दिइएको पाण्डेले बताए।
'सानो टोकन अफ थ्याङ्क्स भनेर दिन पनि सुरू गरेका छौं। तपाईंहरूले हाम्रो मुद्दाको फाइल पुन: प्राप्तिमा सहयोग पुर्याउनुभएकोमा धन्यवाद भनेर अफिसको स्ट्याम्प लागेको पत्र दिन थालेका छौं,' उनले भने।
-ink-1763370015.jpeg)
४. जलेकै भवनभित्र इजलास राख्ने तयारी
अहिलेसम्म सर्वोच्च अदालतको एनेक्स भवनमा केही फाँट तथा इजलास व्यवस्थापन हुँदै आएका छन्।
त्यस भवनभित्र पाँच वटा इजलास चलाइँदै आएको छ। तर थप इजलासमा सुनुवाइ गर्न सर्वोच्च अदालतले जलेकै भवनमा व्यवस्थापन गर्ने तयारी पनि गरिरहेको छ।
एनेक्स भवनतर्फ फर्किएको जलेको भवनमा दुई वटा इजलास राख्ने तयारी गरिएको छ। त्यसका लागि सरसफाइ तथा रंगरोगनका काम भइरहेका छन्।
'पुरानो जलेको भवनमा सकिन्छ भने इजलास थप्ने प्रयास भइरहेको छ। निर्णय नै भइसकेको होइन। तर त्यहाँ पनि व्यवस्थापन गर्न सक्यौं भने सातवटा जति इजलास सञ्चालन गर्न सकिन्छ,' पाण्डेले भने, 'नयाँ भवनहरूमा अभिलेख राखिएका छन्। आइटीको टिम पनि त्यहाँ सरेको छ। त्यहाँ पनि इजलास थप्ने काम भइरहेका छन्।'
-ink-1763370014.jpeg)
५. सेवाग्राहीको सहजीकरणका लागि 'के म सहयोग गर्न सक्छु?' लेखिएको पोसाकमा कर्मचारी
सोमबार अदालतका केही कर्मचारी पहेँलो पोसाकमा देखिएका थिए। उनीहरूको पोसाकमा लेखिएको थियो, 'के म सहयोग गर्न सक्छु?'
'साथीहरू त्यो पोसाक लगाएर परिसरमा घुमिरहनुभएको छ। उहाँहरूको काम सेवाग्राहीलाई सहजीकरण गर्ने हो। उहाँहरूले कसलाई कहाँ सेवा चाहिएको हो भन्ने देखाइदिनुहुन्छ,' उपरजिस्ट्रार पाण्डेले भने।
त्यस्तै सहरजिस्ट्रार र उपरजिस्ट्रारहरूलाई पनि सर्वोच्च परिसरमै बसेर काम गर्न भनिएको थियो।
यसरी सहजीकरणका लागि ट्रेड युनियनले पनि मुख्य भूमिका खेलेको उपरजिस्ट्रार पाण्डेले बताए।
के म सहयोग गर्न सक्छु? लेखिएको पोशाकमा कर्मचारी।
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी