प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरहरूसँग सामूहिक कुराकानी गर्न सोमबार साँझ बालुवाटारमा डाकेको छलफलमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह सहभागी भएनन्।
उपत्यका मेयर्स फोरमका सदस्यहरूसँगको छलफलमा मेयर बालेन अनुपस्थित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यो फोरम भनेको उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तह प्रमुखहरूको साझा मञ्च हो।
उपत्यकाका समस्या सामूहिक छलफलबाट समाधान गर्न र एकअर्काका अनुभव आदानप्रदान गर्न गठन गरिएको फोरमका बैठकमा यसअघि पनि मेयर बालेन जाने गरेका थिएनन्। उनी अहिलेसम्म फोरम बैठकमा तीन पटक मात्र सहभागी भएका छन्। एउटा बैठक त बीचैमा छाडेर निस्केका थिए। यसपालि प्रधानमन्त्रीले नै डाक्दा पनि उनी अनुपस्थित रहे।
हामीले प्रधानमन्त्रीसँगको छलफल र बालेनको अनुपस्थितिको कारणबारे फोरमका संयोजक तथा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग कुरा गरेका छौं।
उनका अनुसार बालेनको अनुपस्थितिलाई लिएर प्रधानमन्त्री कार्कीले ठूलो चित्तदुखाइ प्रकट गरेकी थिइन्।
'तपाईंहरू सबै आउन हुने, बालेनजी चाहिँ किन आउन नहुने,' प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै महर्जनले भने, 'भन्ने बेला मलाई सबैले बालेनले बनाएको प्रधानमन्त्री भन्छन्, तर उहाँ मैले नै बोलाउँदा पनि छलफलमा आउनुहुन्न।'
काठमाडौं उपत्यकाको समग्र समस्याबारे छलफल गर्न बोलाउँदा पनि राजधानीकै मेयर अनुपस्थित हुनुलाई लिएर प्रधानमन्त्री कार्कीले दु:ख व्यक्त गरेको पनि फोरमका संयोजक महर्जनले बताए।
'हामीले बालेनजी अनुपस्थितिबारे कुरै नगर्दा पनि उहाँले आफैले कुरा उठाउनुभयो र चित्तदुखाइ व्यक्त गर्नुभयो,' उनले भने, 'हामीले प्रधानमन्त्रीसँग काठमाडौं उपत्यकाको फोहोरमैला समस्या समाधानबारे कुरा राखेका थियौं। सबभन्दा बढी फोहोर उत्पादन हुने काठमाडौं महानगरपालिकाकै मेयर यस्तो छलफलमा अनुपस्थित रहेपछि यो समस्याको निकास कसरी निकाल्न सकिन्छ?'
उनका अनुसार फोरमले काठमाडौं उपत्यकाका समस्या प्रधामन्त्रीलाई सुनाउन लामो समयदेखि भेटघाटको समय मिलाउन खोजेको थियो। त्यही क्रममा सोमबार साँझको समय मिलेपछि संयोजकका रूपमा आफ्नै सचिवालयले उपत्यकाका सबै मेयरलाई सूचना पठाएको उनले बताए।
'प्रधानमन्त्रीबाट आजको समय पाएपछि मेरो सचिवालयले उपत्यकाका सबै मेयरलाई फोन गरेको थियो,' उनले भने, 'अरू सबै मेयरसँग कुरा भयो, बालेनजीसँग चाहिँ हाम्रो सम्पर्क भएन। उहाँले मेरो सचिवालयको फोन पनि उठाउनुभएन, मेसेजको जबाफ पनि दिनुभएन।'
छलफलमा अन्य दुई-तीन जना मेयर पनि अनुपस्थित थिए। तर उनीहरूले आफू विभिन्न कारणले उपस्थित हुन नसक्ने जानकारी पठाएको ललितपुरका मेयर महर्जनले बताए।
नियमित रूपमा बस्ने फोरमको बैठकमा पनि मेयर बालेन तीन पटक मात्र सहभागी भएको उनले जानकारी दिए।
प्रधानमन्त्री सुशीला कार्की सोमबार साँझ उपत्यका मेयर्स फोरमसँग छलफल गर्दै। तस्बिर स्रोत: प्रधानमन्त्रीको सचिवालय
बालुवाटार छलफलमा सहभागी स्थानीय तह प्रमुखहरूले उपत्यकाले भोगिरहेका समस्याबारे अवगत गराउँदै सरकारले निर्णय गर्न डराउन नहुने धारणा राखेका थिए।
फोहोर व्यवस्थापन समस्याको गाँठो फुकाइदिन र सडक बत्तीको बक्यौता रकमसम्बन्धी विवाद मिलाइदिन पनि उनीहरूले आग्रह गरे।
ललितपुर महागरपालिकाका प्रमुख महर्जनले आफू निर्वाचित भएर आउनुअघिको समेत बक्यौता रहेको जानकारी दिँदै उक्त रकम राफसाफ गरिदिन अनुरोध गरेका थिए।
सडक बत्तीको महसुल ६० प्रतिशत स्थानीय सरकारले तिर्न सक्ने र ४० प्रतिशत संघीय सरकारले तिर्ने व्यवस्था गर्नुपर्ने उनको माग थियो।
जेनजी आन्दोलनपछि उत्पन्न सुरक्षा चुनौती सम्बोधन गर्दै स्थानीय तहका कार्यालय सञ्चालनमा सहजीकरण गरिदिन उनीहरूले प्रधानमन्त्रीसमक्ष आग्रह गरे।
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपककुमार रिसालले नेपाल ट्रस्टको जग्गामा सडक विस्तार गरिदिन आग्रह गरे भने टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीको आग्रह टोखा-छहरे बाटो चौडा पार्न स्थानीयलाई मुआब्जा दिने निर्णय गरिदिनू भन्ने थियो।
त्यस्तै, बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले भदौ २४ गते जेनजी आन्दोलनसँग सम्बन्धित नै नभएकारूले व्यक्तिका घर घरमा लुटपाट मच्चाएको भन्दै तिनलाई कानुनबमोजिम कारबाही हुनुपर्ने माग गरे।
नगरपालिकाले नै जाहेरी दिएर केही व्यक्ति पक्राउ गरिएको भए पनि प्रहरी र अदालतबाट छुट्न थालेको भन्दै उनले चिन्ता व्यक्त गरे।
छलफलमा प्रधानमन्त्री कार्कीले आफू निर्वाचनमा केन्द्रित रहेको जानकारी दिँदै त्यसमा सहयोग गर्न आग्रह गरेकी थिइन्।
निर्वाचन गराउन आएको सरकारले अरू काम गर्न हुँदैन भनेर प्रश्न उठेकोतर्फ संकेत गर्दै उनले भनिन्, 'निर्वाचन मात्र गराऊ, अरू काम नगर भन्ने कुरा पनि उठेको छ। अब त चुनावको आचारसंहिता पनि लाग्ला। तैपनि तपाईंहरूले अघि सार्नुभएका समस्यामा के-कति गर्न सकिन्छ, हेरौंला। जे-जति समस्या छन्, तिनको समाधान तपाईं–हामी मिलेर नै गर्नुपर्छ।'
उनले अगाडि भनिन्, 'समाज भाँडियो, बिग्रियो भने पनि हामीले बनाउनैपर्छ। भागेर कहाँ जाने? अन्यत्र जाँदा पनि फर्केर आउने ठाउँ यही हो। कोही आएर बनाइदेला, सपारिदेला र हामी सुध्रिऊँला भनेर हुँदैन। जे-जस्ता राम्रा-नराम्रा काम भए, ती हामीबाटै भए। अब यिनको समाधान पनि हामीले नै खोज्नुपर्छ।'
***