दिनेश राउतको निर्देशनमा निर्माण भइरहेको प्रेम कथानक फिल्म 'कुमारी' को सम्पूर्ण छायांकन सकिएको छ।
गत भाद्र १७ गतेदेखि सुरू भएको छायांकन प्रक्रिया शनिबार औपचारिक रूपमा पूरा भएको निर्माण पक्षले जनाएको छ।
छायांकन सकिए पनि फिल्मको रिलिज मिति भने केही दिनमै घोषणा गरिनेछ। निर्देशक राउतका अनुसार पोस्ट-प्रोडक्सनको प्रगति मूल्यांकन गर्दै अन्तिम मिति तय गरिनेछ।
यसअघि नै फिल्म 'कुमारी' छायांकनकै क्रममा चर्चामा आएको थियो। फिल्मको घोषणा कार्यक्रममा प्रत्यक्ष प्रस्तुत गरिएको गीत ‘कता छौ मेरो फूल’ इन्टरनेटमा भाइरल बनेको थियो। हाल देशव्यापी कन्सर्टमा रहेका गायक केहर सिंहले दर्शकको अत्यधिक मागसँगै यो गीत गाइरहेका छन्।
गायक लिम्बु र उनको ब्यान्ड 'केहर एन्ड द लुङा' ले गाएको लाइभ भर्सन अहिले टिकटक र युट्युबमा लोकप्रिय छ। 'जेन-जी' पुस्ताका प्रयोगकर्ताले टिकटकमा सर्वाधिक प्रयोग गरिरहेको यस गीतको स्टुडिओ भर्सन भने फिल्म रिलिजसँगै मात्रै सार्वजनिक गरिनेछ।
यस फिल्मबाट अभिषेक खड्का र आकृति राजभण्डारीले प्रमुख भूमिकामा डेब्यु गरेका छन्। उनीहरूसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा र भूपी लुहार पनि फिल्ममा देखिनेछन्।
फिल्मको छायांकन निर्देशन सुसन प्रजापतिले गरेका हुन्।
बिनिश इन्टरटेन्मेन्टले पिक्चर फ्रेमसँगको सहकार्यमा निर्माण गरेको फिल्मका निर्माता महेन्द्र अधिकारी हुन्। विकास सुवेदीले लेखेको यस फिल्ममा पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)को रहेको छ।
'कुमारी' मा चार गीत समावेश छन्। सबै गीतमा गायक केहर सिंह लिम्बुले नै स्वर दिएका छन्। संगीतमा केहर सिंह लिम्बु, सुमन तामाङ र प्रशान्त सिवाकोटीको संयुक्त योगदान रहेको छ भने गीतका शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका हुन्।
निर्देशक दिनेश राउत लामो समयपछि लभस्टोरी फिल्ममा फर्किएका हुन्।