दसैं फूलपातीको अवसर पारेर तीन नेपाली फिल्म 'बलिदान', 'माइतीघर' र 'हरिबहादुरको जुत्ता' एकसाथ प्रदर्शनमा आउँदैछन्।
सोमबारदेखि प्रदर्शनमा आउने यी तीन फिल्मको लागि देशभरका अधिकांश मल्टिप्लेक्सहरूले अग्रिम टिकट बुकिङ खुलाइसकेका छन्।
मल्टिप्लेक्सहरूमा बिहान ५ः३० देखि मध्यरात ११ः५५ बजेसम्म शोहरू राखिएका छन्। सन्तोष सेन निर्देशित 'बलिदान' ले अन्य दुई फिल्मको तुलनामा बढी शो पाएको छ।
देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले 'बलिदान' लाई काठमाडौंका आउटलेटमा मात्र ४१ शो दिएको छ। मिलन तामाङ निर्देशित 'माइतीघर' ले २८ शो पाउँदा दीपेन्द्र के. खनाल निर्देशित 'हरिबहादुरको जुत्ता' ले २७ शो पाएको छ।
दोस्रो ठूलो मल्टिप्लेक्स चेन आइएनआईले आफ्ना पाँच आउटलेटमा 'बलिदान' लाई २४ शो उपलब्ध गराएको छ। आइएनआईमा 'माइतीघर' ले १५ शो र 'हरिबहादुरको जुत्ता' ले १४ शो पाएका छन्।
वान सिनेमाजमा 'बलिदान' लाई १० शो, 'माइतीघर' लाई ९ शो र 'हरिबहादुरको जुत्ता' लाई ७ शो दिइएको छ। बिग मुभिजले भने तीनवटै फिल्मलाई समान ५/५ शो दिएको छ। अन्य मल्टिप्लेक्सहरूले पनि बुकिङ सुरु गरिसकेका छन्।
'बलिदान' मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायतको अभिनय छ। यसको रनटाइम २ घण्टा १० मिनेट तय छ।
त्यस्तै, 'माइतीघर' मा केदार घिमिरे, धीरज मगर, प्रकाश सपुत र उपासना सिंह ठकुरी लगायतको अभिनय छ। यसको रनटाइम २ घण्टा ७ मिनेट छ।
त्यस्तै, 'हरिबहादुरको जुत्ता' वरिष्ठ अभिनेता हरिवंश आचार्यको शीर्ष अभिनय रहेको फिल्म हो। यसमा हरिवंशसँगै प्रकाश सपुत, प्रियंका कार्की र स्वस्तिमा खड्का लगायतको शीर्ष अभिनय छ। यसको रनटाइम २ घण्टा २१ मिनेट तय छ।
'बलिदान', 'माइतीघर' र 'हरिबहादुरको जुत्ता' तीनवटै प्रतीक्षितमध्येका फिल्महरू हुन्।
अब दसैंको रमझममा यीमध्ये कुन फिल्मले दर्शकहरूको मन जित्ला, त्यो हेर्न बाँकी नै छ।