'माग्ने बुढा' को नामले परिचित कलाकार केदार घिमिरे 'माग्ने राजा' बनेर दर्शकमाझ आउँदैछन्।
उनको शीर्ष भूमिका रहेको फिल्म 'माग्ने राजा' भदौंमा प्रदर्शन तयारीमा छ।
फिल्मको यसै साता टिजर सार्वजनिक गरिएको थियो, जसले यतिबेला दर्शकबाट विभिन्न खालका प्रतिक्रिया पाइरहेको छ।
अभिनेता केदारले 'माग्ने राजा' टिजरको प्रतिक्रियाले उत्साहित बनाएको बताएका छन्। फिल्मकर्मी र दर्शकबाट प्रशंसा पाएका उनले टिजरले अपेक्षित प्रतिक्रिया पाएको भन्दै खुसी व्यक्त गरे।
फिल्मका बाँकी प्रचार सामाग्रीले पनि सोही अनुसारको माया पाउने विश्वास रहेको उनले बताएका छन्।
उनी भन्छन्, 'टिजरमा आएको दर्शकको प्रतिक्रियाले निर्माण टिम खुसी छौं। मलाई नयाँ स्वरूपमा हेर्न खोज्नु भएको प्रतिक्रियालाई पनि हामीले सकारात्मक रूपमा लिएका छौं। तर 'माग्ने राजा' को चरित्र माग्नेकै निरन्तरता स्वरूप निर्माण भएकाले यसमा पुरानो माग्नेका लवज र थेगो प्रयोगमा आएका छन्। तर फिल्ममा नयाँ माग्ने पनि देख्न सक्नुहुनेछ।'
तीन दिनमा करिब १० लाख भ्युज पाएको टिजरका संवादलाई दर्शकले रूचाएका छन्। निर्देशक ऋषि लामिछाने टिजरले तीन दिनमा १० लाख हाराहारी दर्शक पाउनुलाई फिल्मले कमाएको विश्वासको रूपमा ग्रहण गरेको बताए।
उनका अनुसार फिल्म हास्य विधामा निर्माण भएको र टिज गर्ने हिसाबले टिजरले फिल्मलाई लिएर कौतुहलता सिर्जना गर्न सकेको आभाष भएको बताए।
उनले भने, 'टिजरको काम टिज गर्ने अर्थात दर्शकलाई फिल्मप्रति उत्सुक बनाउने हो। टिजरले त्यो गरेको छ। केदार घिमिरेलाई पहिलो पटक मुख्य भूमिकामा प्रस्तुत गर्ने चुनौती लिइरहँदा, दर्शकको स्वीकारोक्तिलाई लिएर दुविधाहरू थिए। तर टिजरमा आएको प्रतिक्रियाले हामी ढुक्क भएका छौं।'
फिल्मको मुख्य कथा माग्नेको चरित्र वरिपरि घुम्ने भएकाले प्रचार सामाग्रीमा उनकै चरित्रले स्थान पाउने बताए।
'यो कथालाई माग्नेकै स्पिन अफ चरित्र भने पनि हुन्छ र हामीले घोषणादेखि नै यही कुरा भन्दै आएका छौं। हामीले माग्नेलाई एउटा हास्यरसयुक्त कथासहित प्रस्तुत गर्ने प्रयास गरेका हौं। यही अपेक्षाअनुसार फिल्मलाई हेर्नुभयो भने निराश हुनुपर्दैन,' लामिछानेले भने।
भदौ ६ गतेबाट देशब्यापी प्रदर्शनमा आउने फिल्म मुनाल घिमिरेको लगानीमा बनेको हो। फिल्ममा केदार घिमिरेसँगै विल्सन विक्रम राई, वर्षा सिवाकोटी, शिशिर वाङदेल, शारदा गिरीलगायत कलाकारहरूको अभिनय छ।