तुलसीपुरको विष्णु चलचित्र मन्दिरको सिट क्षमता ५ सय २८ छ। आइतबार उक्त सिनेमा हलमा जम्मा २८ जना दर्शक मात्रै सिनेमा हेर्न आए। यो हलमा मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेका लागि नेपाली चलचित्र ‘कान्छी’ चलिरहेको थियो।
आइतबार त्यही समयमा तुलसीपुरकै अर्काे ‘ऊँ शान्ती सिनेमा हल’ पुग्दा दृश्य झनै नाजुक देखियो। ५ सय ४० सिट क्षमताको यो हलमा जम्मा ५ जना मात्रै दर्शक हल भित्र थिए। जहाँ नेपाली कथानक चलचित्र ‘ब्लाइन्ड रक्स’ चलिरहेको थियो।
घोराही पुग्दा अवस्था लगभग उस्तै - उस्तै देखियो। स्वर्गद्धारीमा ‘कान्छी’ चलिरहँदा ६९ जना दर्शक थिए। यहाँ यो सिनेमा चलेको आइतबार ९औं दिन भएकाे थियो। घोराहीकै गणेश चलचित्र हलमा चलचित्र ‘कृ’ प्रदशन भइरहँदा जम्मा २६ जना मात्रै दर्शक थिए। यो चलचित्र चलेको ८ दिन भएको छ। घोराहीकै नीमा चलचित्र हलको अवस्था पनि यो भन्दा फरक थिएन।
दाङमा हाल कुल ७ वटा सिनेमा हलहरु छन्। तुलसीपुरमा दुईवटा, घोराहीमा तीन वटा, लमहीमा सत्य साही र भालुवाङमा भोले सिनेमा हलहरु छन्। दाङ नारायणपुरस्थित महालक्ष्मी सिनेमा हल बन्द भएको एक वर्ष भइसकेको छ। दर्शक आउन छोडेपछि उक्त सिनेमा हल बन्द गर्नु परेको सञ्चालक बताउँछन्। तर हाल घोराहीमा अत्याधुनिक सिनेमा हल निर्माण भइरहेको छ। पाँच तल्ले यो सिनेमा हल आगामी बैशाख सम्म सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेको लगानी कर्ताले बताए। पुराना हलहरुले आफ्नो स्तरउन्नतीमा ध्यान नदिने हो भने उनीहरुको भविष्य पनि निराश लाग्दो रहेको जानकारहरु बताउँछन्।
हलमा दर्शक किन दर्शक आउँदैनन् ? विगत २४ बर्षदेखि ऊँ शान्ति सिनेमा हल तुलसीपुरमा म्यानेजरको भूमिका निर्वाह गर्दै आएका ४७ बर्षीय कृष्ण प्रशाद अधिकारी निर्माता, वितरण प्रणाली र हल सञ्चालकको कमीकमजोरी देखाउँछन्।अधिकारीले दर्शकले खोजे जस्तो सिनेमा बन्न नसक्नुलाई नै मुख्य कमजोरी ठान्छन्।
‘दशलाख दिएर हिरो बन्नेहरु बढे,कलाकारिता मर्म र गुन बुझेर भन्दापनि मोजमस्ती गर्न सिनेमा बनाउँदा स्तर खस्कियो’, अधिकारीले भने। उनले हल सञ्चालकको कमिकमजोरी पनि थुप्रै रहेको बताए।
लामो समयदेखि हलहरुको सरसफाई नगर्नु,दर्शकहरुले रुचाउने खालका आधुनिक प्रविधि नभित्र्याउनु, पुरानौ साउन्ड सिस्टम, प्रोजेक्टरले काम चलाउन खोज्नुले गर्दा हलमा आउने दर्शकको संख्या खस्किएको अधिकारी बताउँछन्।
‘दर्शकहरुले हलमा आधुनिक प्रविधि जोड्नुहोस र टिकेटको दरपनि बढाउनुहोस भन्छन्, तर त्यो साहुले मान्दैनन्,’ अधिकारीले थपे ‘आज पनि धेरै दर्शक गाडिमा राम्रो हल खोज्दै बाँके र बुटवल सिनेमा हेर्न जाने गरेका छन्।’ उनले आफू कार्यरत रहँदादेखि आफ्नो हलमा थप लगानी नभएको तथा मर्मत सम्भार नभएको बताए। उलने विगत तीन वर्ष यता हल निरन्तर घाटामा रहेको र आफुहरुले समेत समयमै तलव खान नसेकेको दुखेसो पनि पोखे। हाल आफुसहित दुईजना मात्रै कर्मचारी रहेको उनले बताए।
त्यस्तै, तुलसीपुरको विष्णु चलचित्र मन्दिरमा विगत २३ बर्षदेखि म्यानेजरको भूमिका निर्वाह गर्दै आएका रमेशकुमार पोखरेलपनि समयको माग बमोजिम चलचित्र निर्माण नहुनु र दर्शकले चाहेजस्तो हल नहुनुलाई नै प्रमुख समस्या ठान्छन्। विगत एकवर्षदेखि हल घाटा सञ्चालन हुँदै आएको बताएका उनले दर्शक नआउँदा दैनिक एउटा सो पनि मुस्किलले सञ्चालन हुने बताए। ‘पाँचजनाले टिकेट काटेपछि हल सञ्चालन गर्छौं र कतिपटक त्यही संख्या नपुग्दा हामी आँफै सडकमा गएर फिलिम सुरु भयो हेर्न आउनुहोस भन्दै कराउनु परेको छ’ भने।
दिउँसो १२ देखि ३ बजेसम्मको एक सो समेत चल्न कठिन भइरहेको पोखरेलले बताए। त्यहाँबाट उठेको रकमपनि फिल्मका प्रतिनिधि र आफुहरुले आधा आधा बाँड्ने गर्दा कर्मचारीलाई तलब दिन समेत मुस्किल परिरहेको बताए। ‘ सुरुका दिनमा एकैदिन ६० हजारको टिकेट विक्रि हुने गर्दथ्यो, हलमा २ हजार २५ सय मानिस आउँथे, तर आज २५ जना पनि आउँदैनन् र मासिक ६० हजार पनि हुँदैन’, पोखरेलले सिनेमा हलको दयनिय अवस्था चित्रण गरे। उनले पनि फिल्म नचल्नुको मुख्य कारण भने स्तरिय फिल्म निर्माण नहुनुलाई नै मान्नुपर्ने तर्क प्रस्तुत गरे।
पछिल्लो समय गाउँ घरमा बिजुली बत्ति विस्तार हुनु, डिस होम घर घरमै भित्रनु, इमेल इन्टरनेटको पहुँच विस्तार हुनु जस्ता कारणहरुले गर्दा पनि हलमा दर्शक आउन छोडेको पोखरेलले बताए। घोराहीको गणेश चलचित्र मन्दिरका म्यानेजर चेतन कोईरालाले प्रमुख कारण सिनेमा कस्तो छ? भन्ने कुराले अर्थ राख्ने भएपनि हलको भौतिक पूर्वाधारले पनि उत्तिकै अर्थ राख्ने बताउँछन्।
‘मनोरञ्जन मात्रै हैन अबको पुस्ता तीन घन्टा आराम पनि चाहन्छ र हामीले त्यो दिन सकिरहेका छैनौं,’ कोइरालाले थपे ‘हलको शौचालयहरु निकै अस्त व्यस्त हुनु, पर्दादेखि साउन्ड सिस्टम उचित नहुनुले गर्दा हलमा दर्शक नआएका हुन।’
दाजुभाई संगै बसेर हेर्न सक्ने चलचित्र कम छन् – दर्शक विभिन्न सिनेमा हलहरुमा भेटिएका दर्शकहरुले स्तरिय चलचित्र निर्माण नहुँदा दर्शकहरु हलमा आउन छोडेको बताएका छन्। तुलसीपुुर उपमहानगरपालिका वडा नं. ५ निवासी ३० बर्षीया खिमा वलीले पछिल्लो समय निर्माण भएका चलचित्र दाजुभाई र आमाबुवा संगै बसेर हेर्न सक्ने खालका नहुनाले समस्या भएको बताइन्।
खिमाका अनुसार सामाजिक कथा बस्तुमा आधारित मौलिक चलचित्र निर्माण हुन छाडेको छ। हलिउड र बलिउडको व्यापक नक्कल हुन तथा उच्छृङखलता भित्रनुले नेपाली चलचित्र प्रतिको आकर्षण घट्दै गएको वलीले बताइन्। ‘तीजका गीतमा जस्तै गरि नेपाली चलचित्रमा विकृती भित्रिएको छ,’ वलीले भनिन् ‘कतिपय चलचित्र मौलिकता बिनाका अश्लिल र उच्श्रृखंल छन्।’
वलीले खाली लभ स्टोरीमा आधारित चलचित्र मात्रै निर्माण हुन थालेको र त्यसमा पनि अश्लिलताले व्यापक्ता पाएको हुँदा हलहरुमा परिवारका सदस्यसंग आउन अप्ठेरो लाग्ने गरेको बताइन्। सर्वसाधारणका जनजीविकालाई छुने खालका तथा स्वाभाविक लाग्ने खालका चलचित्र निर्माण गर्न आवश्यक रहेको उनको सल्लाह छ। वलीले नेपाली चलचित्र नै आफ्नो पहिलो रोजाईमा पर्ने बताइन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ रक्षाचौर निवासी ३९ बर्षीय तिलक खड्काले आफ्नो पहिलो रोजाईमा नेपाली चलचित्र नै पर्ने भएपनि स्तरियताको कुरा उठाए।
‘हिरो एकापट्टी हल्लिरहेको हुन्छ तर गीत संगीत अर्कै तालमा हुन्छ। गरिवीको कथा हुन्छ तर हिरो हिरोनी सुकिला कपडा लगाएका हुन्छन् र हिरोले एक पटक हान्दा दश पटक नाँचेको देखाइन्छ।’ खड्काले थपे ‘नेचुरल सिनको अभाव नेपालमा छैन, तर कथा र पात्रहरुले निर्वाह गर्ने भूमिका नेचुरल लाग्ने खालको पाइदैन।’
स्तरिय हलमा अभाव, हलको शौचालयमा जान मुस्किल पर्ने, साउन्ड बुझ्नै मुस्किल पर्ने खालका थोत्रा र आउट डेटेट पुरानै प्रविधि कायम रहेको जस्ता कारणहरुले दर्शक हलमा आउन छोडेको उनले धारणा राखे।
राजेश हमाल, शिव श्रेष्ठ जस्ता सार्वजनिक जीवनको भूमिका निर्वाह गर्ने खालका पात्र समाजले खोजेको पनि उनले बताए। त्यस्तै, सिनेमा हलमै भेटीएकी १६ बर्षीया पूजा केसीले भने आफ्नो पुस्ताले अब राजेश हमालको पुस्तालाई बाबुको भूमिकामा देख्न चाहेको बताइन्।
‘अनमोल, साम्राज्ञीको जमाना आयो। हिरो हिरोनी भनेपछि त अरु भन्दा पृथक र सुन्दर हुनुपर्यो नि।’ केसीले भनिन्।
लभ स्टोरी भएको नेपाली सिनेमा अफूलाई औधि मनपर्ने गरेको बताउने उनले अभिभावकसंगै बसेर हेर्न मिल्न निर्माण गर्नुपर्ने बताइन्। ‘घरमा अभिभावक सँग फिलिम हेर्दै गर्दा हेर्न सक्ने अवस्था नभएर म निस्किएकी छु, अन्तरंगका सिन आउँदा कति पटक अभिभावक पनि निस्किएका छन्’ केसीले भनिन्।
दर्शक बढी नेपाली सिनेमा हर्न आउँछन् – म्यानेजरहरु२४ बर्षसम्म ऊँ शान्ति सिनेहलमा म्यानेजरको भूमिका निर्वाह गरेका ४७ बर्षीय कृष्ण प्रशाद अधिकारी दर्शकहरुले अझैं पनि नेपाली चलचित्र नै बढी मन पराउने गरेको बताउँछन्। चलचित्र समाजिक परिवेश र कथा बस्तुमा आधारित हुनुपर्ने उनले बताए। चलचित्र ‘मुग्लान’ ७१ दिन चलको विगत स्मरण गर्दै उनले पछिल्लो समय छक्कापञ्जा, ए मेरो हजुर २, प्रेम गीत, कृ जस्ता नेपाली र एक था टाइगर जस्तो हिन्दी चलचित्रले राम्रो व्यापार गरेको बताए।
नेपाली भएपनि राम्रो फिल्म नभए लगाएकै दिन बन्द हुने र त्यो फेर्नु परेको उनी सुनाउँछन् । उनले अब चलचित्र ‘मंगलम’पनि दाङमा राम्रो चल्ने दाबी गरे। ‘यो गाउँले बजार हो र यहाँ हिन्दी भन्दा नेपाली सिनेमा रुचाउने संख्या धेरै छन्,’ म्यानेजर अधिकारीले भने, ‘तर पछिल्लो समय अधिकांश चलचित्र स्तरिय नबन्दा सिनेमा हलहरु डुबेका छन्।’
विगत २३ बर्षदेखि तुलसीपुरकै विष्णु चलचित्र हलमा म्यानेजरको जिम्मा सम्हाल्दै आएका रमेश कुमार पोखरेलले पनि ‘नाका’ नामक चलचित्र फागुन १७ गते रिलिज भएपनि लगाएको दिनमै हटाउनु परेको बताए। त्यस्तै, फिल्म ‘साढे ७’ लगाएको दिनमै हल बन्द गर्नु परेको थियो। हाल चलिरहेको ‘कान्छी’ले अरु भन्दा धेरै दर्शक तानेको उनले बताए।
‘तीन हप्ता भयो, अझैं फाट्टफुट्ट रुपमा दर्शक आएकै छन्। त्यसैले राम्रै भन्नुपर्छ।’ पोखरेलले भने।
चलचित्रमा मौलिकता हुनुपर्ने, उच्छृङखलता कम गर्नुपर्ने, विषय बस्तु सहाउँदो अभिनय र सिन समावेश गर्न सके नेपाली चलचित्र अझैं चल्ने उनले बताए। ‘जति इमेल इन्टर नेट र डिस होमको विस्तार भएपनि त्यसले हलहरुलाई कुनै प्रभाव तुल्याउँदैन बरु फाईदा नै पुग्छ,’ उनले भने, ‘हलमा सिनेमा हेर्नुको मज्जा नै बेग्लै हुन्छ। हल भने स्तरिय हुनुपर्यो।’
भालुवाङ र लमहीका व्यवस्थापकले पनि स्तरिय हल तथा समयको माग बमोजिमका सिनेमाहरु निर्माण गर्न आवश्यक छ। दर्शक नआउँदा करौडौंको लगानी डुबेको भन्दै उनीहरुले यदि यस्तै परिस्थिति कायम रहे अब हललाई अन्य कामका लागि लगाउने विकल्पको खोजी गर्ने पोख्रेलले बताए।
सबै तस्विर सौजन्यः राजेश खत्री