सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सले काठमान्डु गोर्खाजलाई १३१ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा काठमान्डुले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ६ विकेटको क्षतिमा १३० रन मात्र बनाउन सक्यो।
चार ओभरभित्र ३३ रन जोडेको जनकपुरले पाँचौं ओभरमा दुई विकेट गुमाएको थियो।
पाँचौं ओभरमा काठमाडौंका लागि मिलिन्द कुमारले दुई विकेट लिँदा एक रन मात्र खर्चिएका थिए।
उनले जनकपुरका ओपनर लाहिरु मिलान्थालाई विकेट किपर सिमसनबाट क्याच गराए भने एक बलपछि कप्तान अनिलकुमार साहलाई शून्यमा इरासमसबाट क्याच गराउँदै पेभिलियनको बाटो देखाए।
दुई ओभरपछि मिलिन्दले यान निकोल लोफ्टी इटनलाई २ रनमा बोल्ड गरेपछि जनकपुर दबाबमा पर्यो। भारतको रणजी ट्रफी तथा आइपिएल खेलेका मिलिन्द कुमार अहिले अमेरिकाको राष्ट्रिय टोलीमा छन्। उनै मिलिन्दले आफ्नो चार ओभरको स्पेलमा १५ रन खर्चिदा काठमाडौंले खेलमा दबाब बनाउन सफल भयो।
अलराउन्डर मिलिन्द कुमारले हालै युएईमा सकिएको नेपाल र युएई विरूद्धको आइसिसी विश्वकप लिग-२ को खेलमा अमेरिका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले सिरिजमा सुरूआती तीन खेलमा अर्धशतक प्रहार गर्दा युएईविरूद्धको अन्तिम खेलमा शतक प्रहार गरेका थिए। उनी सो सिरिजमा बलिङमा भने चल्न सकेका थिएनन्।
जनकपुरका लागि ओनपिङ ब्याटर आसिफ शेखले अर्धशतक प्रहार गर्न सके।
उनले ४१ बलमा ६ चौका र १ छक्काको मद्दतमा ५४ रन बनाए।
शाहब अलामको बलमा काठमाडौंका विकेटकिपर सिमसनबाट आसिफ स्टमपिन हुनुअघि जनकपुरका अर्का विदेशी खेलाडी सन्जय कृष्णमूति २ रनमा सन्तोष यादवको बलमा बोल्ड भएका थिए।
तर मयन कुमार र लाहिरु समाराकूनले पाँचौ विकेटका लागि ४८ रनको साझेदारी भयो। समाराकूनले २१ बलमा २ छक्काको मद्दतमा २२ रन बनाए। अन्तिम ओभरको पाँचौ ओभरमा उनी करण केसी बलमा शाहबबाट क्याच भए। यस्तै मयन यादवले नटआउट ३४ रन बनाए। उनले २९ बलमा २ चौका र १ छक्का प्रहार गरे। अन्तिम बलमा रुपेश सिंहले चौका प्रहार गरे।
बलिङमा मिलिन्द कुमारले ३ विकेट लिँदा करण केसी, सन्तोष यादव र शाहब अलामले १-१ विकेट लिए।