जीवन भर बस्नको लागि बनाइने घर होस या व्यवसाय तथा सेवा प्रवाहको लागि बनाइने ठूला ठूला भवन हुन्। तिनको गुणस्तरमा कसैले पनि सम्झौता गर्न चाहँदैनन्। तर गुणस्तरमा सम्झौता नगरी सस्तोमा निर्माण समाग्रीको खोजी सबैको हुन्छ।
विज्ञान र प्रविधिको विकासले निर्माण सामग्रीको आयाममा निकै परिवर्तन पनि भइसकेको छ। तर अधिकांश निर्माणकर्ताहरु प्रयोग गरिरहेको सामग्री परिवर्तनको जोखिम उठान भने हिचकिचाउँछन्।
भवन तथा पूर्वाधार निर्माणमा सिमेन्ट, स्टिल, फलामसँगै मुख्य सामाग्री हो इँटा। जुन नेपालमा सन् १९५० को दशकबाट व्यवसायिक रुपमा उत्पादन सुरु भएको मानिन्छ। पौने शताब्दी लामो इँटाको इतिहासमा नेपालमा हालैमात्र नयाँ प्रविधिमा आधारित उत्पादन आएको छ।
जर्मन, बेलायत लगायतका युरोपेली मुलुकमा प्रचलित नयाँ प्रविधिमा आधारित एएसी ब्लक नेपालमा पनि उत्पादन सुरु भएको छ। परम्परागत इँटाको तुलनामा करिब १० प्रतिशत सस्तो, साठी प्रतिशत हलुका र बलियो भनेर दाबी गरिएको यो ब्लक नेपालमै पहिलोपटक उत्पादन सुरु भएको छ।
समग्र भवन निर्माणमा यसको प्रयोगबाट बलियो, सस्तो तथा गुणस्तरीय सामग्री भएकै कारण युरोपमा अत्यन्त लोकप्रिय रहेको र भारतमा पनि यसको लोकप्रियता बढ्दै गएकोले यहाँ पनि यसको सम्भावना देखेर सुरु गरिएको नेपालमा एएसी ब्लकको उत्पादक कम्पनी एरोब्रिक्स प्रालिका प्रवन्ध निर्देशक जगदीश्वर महर्जन बताउँछन्।
मूल्यमा सस्तो, तौलमा हलुका, गुणस्तरमा बलियो, निर्माणप्रक्रिया छिटो छरितो, वातावरण मैत्री, १२ महिना उत्पादन गर्न सकिने र सर्वसुलभ उपलब्ध हुने भएकोले यो इँटा सबै कोणबाट अब्बल भएको महर्जनको दाबी छ।
केन्द्रिय प्रयोगशाला मात्र होइन प्रत्येक ब्याचको उत्पादन आफ्नै प्रयोगशालामा परीक्षण गरेर मात्र बजारमा उपब्ध गराइने भएकोले गुणस्तरमा कुनै पनि कमी नहुने उनी आश्वस्त पार्छन्।
परम्परागत इँटाभन्दा १० प्रतिशत सस्तो
हाल प्रचलनमा रहेका परम्परागत इँटाको तुलनामा एरोब्रिक्स ब्लकको मूल्य १० प्रतिशत सस्तो भएको कम्पनीले जनाएको छ।
गुणस्तर अब्बल तर मूल्यमा सस्तो सबैतिर सँधै उपलब्ध हुनेसक्ने यसको मुख्य विशेषता भएको महर्जनले जानकारी दिए।
हाल बजारमा राम्रो इँटाको मूल्य १६ रुपैयाँ पर्छ। एरोब्रिक्सको त्यही अनुपातमा १५ रुपैयाँ पर्ने महर्जनले जानकारी दिए। एउटा ४ इन्च मोटाईको ब्लक सामान्य नौवटा इँटा बराबर हुन्छ।
एरोब्रिक्स ब्लकका इँटाको तुलनामा मूल्यमा १० प्रतिशत सस्तोमात्र होइन यसको प्रयोगले अन्य निर्माण सामग्रीको लागत पनि कम गर्ने कम्पनीको दाबी छ। यसको प्रयोग गरेर वाल लगाउँदा पहिलो कुरा अतिरिक्त प्लास्टर गर्नुपर्दैन, त्यस्तै पेन्टिङको लागि अतिरिक्त पेन्ट नगरी सिधै रंग लगाउन सकिन्छ।
यस्तै एरोब्रिक्स अन्य इँटाको तुलनामा ठूलो हुने भएकोले लेबर कस्ट पनि जोगिने अर्का निर्देशक सुभाष अधिकारीको विश्लेषण छ। एउटा मेसनले एकपटकमा सामन्य इँटा ९ वटा राख्नुपर्ने ठाउँमा एउटै ब्लकले काम गर्ने भएकोले ५० प्रतिशत समय जोगिन्छ। जस्तो एक घण्टामा ५० वटा इँटा राख्न सकिन्छ भने एरोब्रिक्स १० वटा राखिन्छ। जसले गर्दा १० दिनमा निर्माण हुने वाल ५ दिनमा निर्माण हुनसक्छ।
त्यस्तै नौ वटा सामान्य इँटा राख्दा त्यसको नौ तहमा पर्खाल राख्न लाग्ने सिमेन्ट एरोब्रिक्सको एक ठाउँमा मात्र राख्दा हुन्छ जसले सिमेन्टको बचत गर्छ नै त्यसका लागि चाहिने ‘प्लास्टर’ पनि बचत हुन्छ।
एउटा घर बनाउँदा कति बचत हुन्छ ?
सामान्य इँटा र एरोब्रिक्सको मूल्यको हिसाब गर्दा तीन कोठाको साढे दुई तलाको घर बनाउँदा एक लाख रुपैयाँ बचत हुने निर्देशक अधिकारीको भनाइ छ।
८ सय स्क्वायर फिट ग्राउन्डमा तीन कोठाको साढे दुई तले घर बनाउँदा परम्परागत रातो इँटा ५० हजार लाग्छ जसको मूल्य प्रति इँटा १६ रुपैयाँ मान्दा आठ लाख रुपैयाँ पर्छ।
तर एएसी ब्लक प्रयोग गर्दा सात लाख तीस हजार रुपैयाँको हाराहारी पर्ने अधिकारीको भनाइ छ।
‘आकार अनुसार मूल्य निर्धारण गर्दा हाम्रो ब्लकको मूल्य सात लाख तीस हजार रुपैयाँ लाग्छ। यस हिसाबले हाम्रो ब्लकबाट एउटा घर बनाउँदा सत्तरी हजार रुपैयाँको इँटा मात्र बचत हुन्छ’ उनले भने।
एएसी ब्लक आउटर वालको लागि ६ इन्चको ३ हजार पिस र ४ इन्चको(भित्री वालको लागि) २ हजार पिस गरेर पाँच हजार पिस लाग्छ। जसको मूल्य सात लाख तीस हजार भन्दा बढी नपर्ने अधिकारीले बताए।
इँटाको मूल्य बाहेक ब्लकले घटाउने अन्य लागत जोड्दा उपभोक्तालाई इट्टाको लागतमा ३५ प्रतिशत फाइदा हुने अधिकारीको हिसाब छ।
‘सुरुमै हाम्रो ब्लकलाई आधार बनाएर डिजाइन बनाउने हो भने स्ट्रक्चर कस्ट १५ प्रतिशत घट्छ’ अधिकारीले सेतोपाटीसँग भने, ‘इँटाको मूल्य बाहेक, प्लास्टर, अतिरिक्त पेन्टिङ, श्रमिक लागत पनि कम हुन्छ।’
रातो इँटा, कंक्रिट ब्लक भर्सेस एएसी ब्लक
गुणस्तरको हिसाबले भारवहन क्षमता परम्परागत इँटा र ब्लकभन्दा बलियो हुने दाबी गरिएको एएसी ब्लक उत्पादन गरेर बजार पठाउनुभन्दा प्रत्येक ब्याचको आफ्नै प्रयोगशालामा परीक्षण गरिने अधिकारीले जानकारी दिए। यस्तो परीक्षण हाल उत्पादन र प्रयोग भइरहेका इँटा उद्योगहरुले एकपटक केन्द्रिय प्रयोगशालामा बाहेक नगर्ने उनको दाबी छ।यसले गर्दा कुनै पनि उत्पादन कम गुणस्तरीय बजारमा नजाने कम्पनीले जनाएको छ।
अधिकारीले रातो इँटासँग तुलना गर्दै भने, ‘इन्सुलेसन (बाहिर–भित्रको साउन्ड इन्टरफेस) र थर्मल इन्सुलेसन (भित्रको तापलाई बाहिर र बाहिरको लाई भित्र छिर्न नदिने) निक्कै बढी छ। त्यस्तै कम्प्रेसिभ स्ट्रेन्थ(भार वहन क्षमता कुनै निश्चित साइजको इँटाले कति तौलको बल कतिसमयसम्म बहन गर्नसक्छ भन्ने मापन) पनि अझ बढी छ।’
तौलमा कम र साइजमा ठूलो हुने हुँदा छिटो निर्माण हुने उनले बताए। एएसी ब्लकको प्रयोग गर्दा कुनै पनि वाल लगाउने समय रातो इँटाको तुलनामा आधा समय लाग्ने उनको हिसाब छ।
कसरी बन्छ एएसी ब्लक ?
९५ प्रतिशत कच्चा पदार्थ नेपालकै प्रयोग गरेर बनाइने यो ब्लक निर्माणमा माटोको प्रयोग भने हुँदैन। सिमेन्ट, बालुवा, चुना(लाइम), वालुवा र आल्मुनियमको धुलो यसका कच्चा पदार्थ भएको अधिकारीले जानकारी दिए।
सबैभन्दा पहिले यसमा बालुवा र पानीको समिश्रण गरिन्छ त्यसपछि सिमेन्ट र चुनासँग मिसाएपछि अल्मुनियमको धुलो मिसाइन्छ। त्यसरी बनेको घोललाई नियन्त्रित तापक्रममा मोल्ड बक्समा राखेपछि निर्माण हुने रसायनिक प्रतिक्रियाले सानासाना बबल्स(फोकाहरु बन्छन् जसको कारणले कम तौल, थर्मल र इन्सुलेसन उच्च हुने अधिकारीले जानकारी दिए।
चार इन्चको स्ट्यान्डर्ड ब्लकलाई आधार मान्दा जुन परम्परागत नौ वटा इँटा बराबर हो। नौ वटा इँटा जोड्दा २२ किलो हुन आउछ एएसी ब्लकको तौल साढे आठ किलोमात्र हुन्छ जुन ६० प्रतिशत कम हो।
बिकल्प बन्ला त ?
पचास करोडको लगानीमा चितवनमा स्थापना भएको एरोब्रिक्स प्रालिको पूर्ण उत्पादन क्षमता भने दैनिक पाँचसय घनमिटर हो (परम्परागत इँटाको साढे तीन लाख बराबर) भएपनि हाललाई १८० घनमिटर (१ लाख २० हजार बराबर) मात्र उत्पादन गरिरहेको अर्का निर्देशक बाबुराजा रावलले जानकारी दिए।
बजार विस्तार र माग बढ्दै गएपछि तीन महिनापछि पूर्ण क्षमतामा उत्पादन गर्ने उनको भनाइ छ। ठूला ठूला आयोजनाबाट ब्लकको अर्डर आइरहेकोले बजारको कमी नहुने उनको विश्वास छ।
अस्पताल, विद्यालय, जलविद्युत आयोजना जस्ता ठूला आयोजनाबाट सिधै अर्डर आइरहेको रावलले जानकारी दिए।
सस्तो, ह्यान्डल गर्न सजिलो, ड्यामेज कम हुने (बढीमा तीन प्रतिशतमात्र हुन्छ) लगाउन छिटो, निर्माण छिटो सम्पन्न हुने भएकाले युरोप अमेरिका र मध्यपूर्वमा यसको लोकप्रियता बढेको उनको भनाइ छ।
यस हिसाबले नेपालमा पनि यसको विश्वासनियता बढ्दै जाने र परम्परागत सामग्री विस्थापित हुनेमा रावल विश्वस्त छन्।
‘हाम्रो ब्लक कसैको बिकल्प होइन यो समान्तर उत्पादन हो परिष्कृत प्रविधि र सीपयुक्त उत्पादन हो’ उनले भने, ‘अहिले नेपालमा जति पनि उत्पादनहरु छन् (इँटा, कंक्रिट ब्लक, प्रिफ्याब बोर्ड) लाई आरामले प्रतिस्थापन गर्न सकिन्छ।’
गुणस्तर, सस्तो, छिटो छरितो निर्माण हुने भएकोले सबैको रोजाई बन्ने र आगामी दिनमा हाल इँटा उत्पादन गरिरहेकाहरु पनि यसैमा आउने उनको विश्वास छ।
नेपालमा इँटाको बजार
एक अध्ययनका अनुसार नेपालमा करिव हजारभन्दा बढी इँटा उद्योगहरु रहेका छन्। जसले प्रतिदिन ४० देखि ६० हजार इँटा उत्पादन गर्छन्। तर एरोब्रिक्सले दैनिक तीन लाख पचास हजार परम्परागत इट्टा बराबरको उत्पादन क्षमता जडान गरेको छ। परम्परागत इँटा उद्योगले वर्षायाममा उत्पादन गर्दैनन्।
त्यस्तै वार्षिक ४ देखि ५ अर्ब वटा इँटा उत्पादन हुने नेपाली बजारमा एरोब्रिक्सले ३ लाखलाई आधार मान्दा यसको मासिक एक करोड, वार्षिक १२ करोड थान इँटा बराबरको बजार लिने रणनीति बनाएको छ। बजार हिस्साको हिसाबले आफूहरुको हिस्सा नगन्य भएपनि यसको लोकप्रियता बढेपछि उत्पादन बढ्दै जाने एरो ब्रिक्सको विश्वास छ।