सिमेन्टको भाउ प्रतिबोरा २० रूपैयाँले बढेको हार्डवेयर व्यापारीहरूले बताएका छन्।
हार्डवेयर व्यापारी अनसन साखः भन्छन्, 'तिहारपछि सिमेन्टको मूल्य प्रति बोरा २० रूपैयाँले बढेको छ।'
एक साता अघि ओपिसी सिमेन्ट प्रतिबोरा आठ सय रूपैयाँदेखि आठ सय ५० रूपैयाँसम्म कारोबार भइरहेको थियो। भाउ बढेसँगै अहिले ओपिसी सिमेन्ट प्रतिबोरा आठ सय २० रूपैयाँदेखि आठ सय ७० रूपैयाँसम्ममा किनबेच भइरहेको छ।
पिपिसी सिमेन्टको मूल्य पनि प्रति बोरा छ सय ८० रूपैयाँदेखि सात सय रूपैयाँसम्म कारोबार भइरहेकोमा अहिले सात सय २० रूपैयाँसम्म पुगेको साख:ले बताए।
पछिल्लो एक वर्षमा सिमेन्टको मूल्यमा करिब ३१ प्रतिशतसम्म वृद्धि भएको छ।
गत वर्ष कात्तिक महिनामा ओपिसी सिमेन्ट प्रतिबोरा छ सय २५ रूपैयाँदेखि छ सय ५० रूपैयाँमा कारोबार भइरहेको थियो।
उद्योगीहरूले यसअघि विभिन्न स्किममार्फत् सिमेन्टको कारखाना मूल्यमा प्रति बोरा १० देखि १२ रूपैयाँ बराबर छुट दिइरहेका थिए, तर हाल उक्त छुट पनि कटौती गरिएको साखः ले बताए।
सिमेन्ट उत्पादकहरूले पूर्ण क्षमतामा उत्पादन गर्न नसकेकाले मूल्य बढेको साखः बताउँछन्।
उद्योगीहरूका अनुसार विद्युत् महसुलको बक्यौता विवादका कारण पनि उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्।
लामो समयदेखि उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीचको विवादका कारण केही समयअघि उद्योगहरूको लाइन समेत काटिएको थियो।
केही दिनअघि मात्रै सरकारले यो समस्या समाधानका लागि पहल गर्दै उद्योगीहरूसँग छलफल गरेको थियो। तर, अहिले पनि समस्या समाधानका लागि ठोस काम हुन सकेको छैन।