बंगलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाइएको छ।
हसिनाको मुद्दा हेर्न बनाइएको विशेष न्यायाधीकरणले सोमबार मानवता विरूद्धको अपराध कसुरमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम 'बिबिसी' ले जनाएको छ।
गत वर्ष जुलाई–अगस्टमा भएको विद्यार्थी विद्रोह क्रममा भएका व्यापक हिंसात्मक घटनामा हसिनाको संलग्नता रहेको ठहर गर्दै न्यायाधीकरणले यस्तो फैसला सुनाएको हो।
भारतमा निर्वासनमा रहेकी हसिनाको अनुपस्थितिमै यो मुद्दा चलाइएको थियो। ४५३ पृष्ठको फैसलालाई न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजुमदारले ६ भागमा विभाजन गरी अदालतमा वाचन गरेका थिए। यो फैसला बंगलादेश टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो।
पाँच आरोप, तीन अभियुक्त, गिरफ्तारी वारन्ट
अभियोजन पक्षले गत जुनमा शेख हसिनासहित तीन जनाविरुद्ध पाँचवटा औपचारिक आरोप दर्ता गरेको थियो। ती आरोपका आधारमा हसिना र पूर्वगृहमन्त्री असदुज्जमान खान कमालविरुद्ध गिरफ्तारी वारन्ट समेत जारी गरिएको थियो।
विद्रोहका दिनहरूमा देशभरि भएका विस्तृत हिंसात्मक घटनामा हसिनाको भूमिका रहेको अभियोजन पक्षको दाबी छ।
गत वर्ष जुलाई–अगस्टको आन्दोलनमा १,४०० जनाको हत्या र २५ हजारजति घाइते भएको दाबी अभियोजक ताजुल इस्लामले न्यायाधीकरणमा पेस गरेका थिए। मृतकहरूको सूचीसमेत अदालतमा बुझाइएको थियो।
अभियोजन पक्षले तीनै अभियुक्तविरुद्ध ७४७ पृष्ठको प्रमाण–दस्तावेज पेस गरेको थियो।
हत्या, हत्या प्रयास, षड्यन्त्र, हिंसा दुरूत्साहक र सञ्चालनमा भूमिका जस्ता पाँच मुख्य अपराधमा उनीहरूलाई दोषी बनाइएको छ।
'रजाकार' टिप्पणी मुख्य आधार
अभियोजन पक्षका अनुसार १४ जुलाईमा प्रधानमन्त्री रहेsf बेला हसिनाले पत्रकार सम्मेलनमा विद्यार्थीहरूलाई 'रजाकारका छोरा–नाति' भन्दै गरेको टिप्पणीले विद्रोहलाई थप हिंसात्मक बनाएको थियो।
बंगलादेशमा 'रजाकार' शब्द १९७१ को मुक्तियुद्धमा पाकिस्तानी सेनाको पक्षमा लागेको समूहका सदस्यहरूप्रति प्रयोग हुने अपमानजनक शब्द हो।
अभियोजन पक्षले दाबी गरेको छ, सरकारका शीर्ष अधिकारीहरूको उक्साहट र निर्देशनमा, सुरक्षा निकाय र सत्तारूढ अवामी लीगका समूहहरूले निहत्था विद्यार्थी तथा सर्वसाधारणमाथि संगठित आक्रमण गरेका थिए।