भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले राष्ट्रिय गौरवको आयोजनालाई अघि बढाउन आफू सफल भएको बताएका छन्। मन्त्री लेखकले हुलाकी राजमार्ग निर्माणको कामलाई अघि बढाएर आफूले मधेशको जनताको आर्थिक उन्नतिको आधार तयार पारेको दावी समेत गरे।
१० महिने आफ्नो कार्यकालको कामबारे जानकारी दिन विहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अन्यौलमा रहेको हुलाकी राजमार्गको कामलाई अघि बढाउन आफू सफल भएको र त्यसमा प्रधानमन्त्री पुष्पकमल दाहालको सहयोग रहेको पनि स्पष्ट पारे।
८ सय किलोमिटर लामो हुलाकी राजमार्गको निर्माण कार्य भारत सरकारको सहयोगमा संचालित हुनेछ । मन्त्री लेखकले राजमार्ग निर्माणमा नेपालको आन्तरिक स्रोत पनि परिचालन हुने जानकारी दिए।
‘लामो समयदेखि अड्कीएको हुलाकी राजमार्गको हामीले गाँठो फुकाएका छौं’ उनले भने ‘मधेसको विकास र समृद्धिसँग जोडिएको आठसय किलोमिटर सडक कालोपत्रे गर्ने उपक्रम शरु भएको छ।’
मन्त्री लेखकले आयोजनाको ठेक्काको काममा ढिलाई नगर्न कानुनी व्यवस्था नै गर्न लागिएको पनि उल्लेख गरे। ठेकेदारहरुले एउटा आयोजनाको काम सम्पन्न नगरी अर्कोमा ठेक्का लिन नपाउने कानुनी व्यवस्था गर्न लागिएको बताए।
‘ठेकेदारहरुले हात हाल्ने तर समयमै काम सम्पन्न नगरेकाकारण मुलुकका ठूला आयोजनाहरुको निर्माण कार्यसमेत प्रभावित हुँदै आएको छ’ मन्त्री लेखकले भने,‘एउटा आयोजनाको काम सम्पन्न नगर्ने ठेकेदारलाई अर्को आयोजनाको ठेक्का नलिने व्यवस्था गरेपछि आयोजनाको कामहरु समयमै सम्पन्न गर्न सहज हुन्छ।’
यसबारेमा आफू मन्त्री भएदेखि नै चिन्तित् भएको र त्यसबारेमा अध्ययन गर्न समिति बनाएर उक्त समितिले दिएको सुझाव कार्यन्वयन गर्न मन्त्रीपरिषदमा प्रस्ताव लिइएको बताए।
छिटोछरितो र गुणस्तरिय निर्माणको लागि उक्त समितिले दिएको सुझावअनुसार कानूनी परिवर्तनको तयारी अन्तिम चरणमा पुगेको उनले जानकारी दिएका।
उनका अनुसार अहिले मन्त्रीपरिषद्ले सार्वजनिक खरिद अनुगमन कार्यलयलाई संसोधन प्रस्ताव तयार पार्न निर्देशन दिइसकेको छ। यसबाट ठुला आयोजना निर्माणको जिम्मा लिने ठेकेदारहरुले निर्माणसम्पन्न भइसकेपछि पाँचवर्षसम्म विग्रे भत्केमा मर्मतसम्भार गर्नुपर्ने र त्यसको लागि उत्तरदायी डिपोजिट गर्ने व्यवस्था गर्न लागिएको छ।