अर्थमन्त्री रामेश्वर खनालले वर्तमान संकटको अवस्थामा पनि निजी क्षेत्रले देखाएको आँट प्रशंसनीय रहेको बताउँदै लगानीको सुरक्षा र नीतिगत सुधारमा सरकार गम्भीर रहेको धारणा राखेका छन्।
उनले कर वृद्धिको माध्यम आर्थिक गतिविधि बढाउनु रहेको स्पष्ट पारेका छन्।
कर दिवसको अवसरमा बोल्दै अर्थमन्त्री खनालले हालै ५५ जिल्लामा भएको क्षतिको प्रारम्भिक आँकडा प्रस्तुत गर्दै यसबाट सबैले पाठ सिक्नुपर्ने आवश्यकता औँल्याए।
'संकटमा पनि निजी क्षेत्रले जुन आँट देखाएको छ, यसमा हरेक कोणबाट सहयोग गर्न सरकार तयार छ। सुरक्षाका लागि गृहमन्त्री र म दुवै गम्भीर छौं,' उनले भने। उनले अब यस्तो हुन नदिन सबै तत्पर हुनुपर्नेमा जोड दिए।
अर्थमन्त्री खनालले लगानी जसको भए पनि त्यो राष्ट्रकै सम्पत्ति भएकाले निजी क्षेत्रको क्षतिलाई पनि सबैको नोक्सानीका रूपमा लिनुपर्ने बताए। उनले नीतिगत सुधारमार्फत व्यावसायिक वातावरण निर्माणमा आफ्नो ध्यान केन्द्रित रहेको उल्लेख गरे।
'म वातावरण बनाउन नीतिगत सुधारमा केन्द्रित छु। प्रणाली बलियो बनाउने हाम्रो ध्यान हो। क्षति जसको भएको भए पनि अन्ततः त्यो हामी सबैको लागि नोक्सानी हो। लगानी जसको भए पनि त्यो राष्ट्रकै हो,' उनले भने।
कर प्रशासनलाई सुधार गरेर करदातामैत्री बनाउने कार्य क्रमिक रूपमा भइरहेको जानकारी दिँदै उनले कर वृद्धि गर्ने मुख्य उपाय आर्थिक गतिविधि बढाउनु रहेको उल्लेख गरे।
'कर वृद्धि गर्ने भनेको आर्थिक गतिविधि बढाएर हो। सरकारको ध्यान यसमै हो। प्रतिस्पर्धी व्यापार र निजी क्षेत्र हुनुपर्छ भन्ने मेरो मान्यता छ,' उनले भने। उनले आवश्यकता देखेमात्र पूर्ण लेखापरीक्षण (फूल अडिट) हुने र अब जोखिममा आधारित अडिट गरिने जानकारी दिँदै प्रशासन र निजी क्षेत्र दुवै एक भएर अगाडि बढ्न आवश्यक रहेको बताए।
यसैगरी, उनले दोहोरो कर मुक्ति सम्झौता (डबल ट्याक्सेसन रिलिफ एग्रिमेन्ट) गर्नका लागि अर्थ मन्त्रालयले छुट्टै डेक्स बनाएर काम गरेको जानकारी दिए।