कर दिवसको अवसरमा अर्थ सचिव घनश्याम उपाध्याय र राजस्व सचिव भुपाल बरालले देशको वर्तमान आर्थिक अवस्था, राजस्व प्रशासनका चुनौती तथा आगामी कार्यदिशाका बारेमा आ-आफ्नो धारणा राखेका छन्।
दुवै सचिवले प्रविधिको प्रयोगमार्फत कर प्रशासनलाई थप व्यवस्थित र करदातामैत्री बनाउने प्रतिबद्धता व्यक्त गरे।
अर्थ सचिव घनश्याम उपाध्यायले थोरै आशा र सकारात्मकताको कुरा मात्र राख्न चाहेको बताए।
आन्दोलन भएको सात दिनभित्रै अर्थ मन्त्रालयको अग्रसरतामा नेपाल सरकारले एकीकृत आर्थिक पुनरुत्थान योजना घोषणा गरेको उनले स्मरण गराए।
हालको आर्थिक अवस्था सकारात्मक रहेको जनाउँदै उनले भने, 'आयातमा ९० देखि ९१ प्रतिशतले वृद्धि भएको छ, निर्यातमा ७ प्रतिशतले वृद्धि भएको छ र कर राजस्वमा पनि वृद्धि भएको छ।'
उनले विदेशी विनिमय सञ्चिती २२ अर्ब डलरभन्दा बढी रहेको तथा न्यून ब्याजदर र न्यून मुद्रास्फीति रहेको जानकारी दिए।
'अहिलेको खाँचो भनेको लगानी गर्नु र रोजगार केन्द्रित लगानी गर्नु हो। लगानीको वातावरण बनाउन कर प्रशासन, निजी क्षेत्र सबैले हातेमालो गरेर अघि बढ्नुपर्छ,' उनले भने।
उनले करदाताका हरेक समस्याहरूलाई समाधान गर्न मन्त्रालय सदा अग्रसर रहने प्रतिबद्धता पनि व्यक्त गरे।
राजस्व सचिव भुपाल बरालले राज्य सञ्चालनका लागि आवश्यक प्रशासनिक र विकास खर्च जुटाउन तथा वैदेशिक सहायतामाथिको निर्भरता कम गर्न राजस्व परिचालन आवश्यक रहेको प्रतिवेदनमा उल्लेख गरिएको बताए।
उनले विभागले सूचना प्रविधि प्रयोग गरी सेवा प्रवाह सुरु गरेको जानकारी दिए, जसमा राष्ट्रिय परिचयपत्र (एनआईडी) मा प्राप्त अनलाइन प्रक्रिया र क्यूआर कोड कर प्राप्त प्रणालीको सुरुवात समावेश छ।
'राज्य सञ्चालनका लागि आवश्यक प्रशासनिक खर्च र विकास खर्च जुटाउन तथा वैदेशिक सहायतामाथिको निर्भरता कम गर्न राजस्व परिचालन आवश्यक छ,' उनले भने।
उनले कर शिक्षाको माध्यमबाट सम्पूर्ण करदाता र व्यवसायीको कर प्रयत्नलाई मजबूत बनाउन आवश्यकता देखिएको उल्लेख गरे।
'सूचना प्रविधिको प्रयोगबाट प्रशासनलाई कागजविहीन, भौतिक उपस्थिति नचाहिने र सम्पर्कविहीन सेवा प्रवाहतर्फ लैजान जरुरी छ,' उनले भने।
उनले कृत्रिम बुद्धिमत्ता (आर्टिफिशियल इन्टेलिजेन्स) को माध्यमबाट तथ्याङ्क विश्लेषण गरी स्वस्थ र पारदर्शी वातावरण बनाउनु कर प्रशासनको प्राथमिकता रहेको बताए।
उनले प्रशासनमा एक वर्षको अवधिमा पटकपटक प्रमुखहरू परिवर्तन हुँदा प्रणाली सुधारको काम प्रभावित भएको महसुस गरिएकोतर्फ पनि जोड दिए।