नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले अर्थतन्त्रलाई पुरानो लयमा फर्काउन र व्यावसायिक मनोबल उकास्नका लागि उपभोक्ताको क्रय शक्ति तथा उद्यमीको लगानी क्षमता बढाउन करका दरहरूमा समयसापेक्ष विचार गर्नुपर्ने धारणा राखेका छन्।
कर दिवसको अवसरमा राखिएको कार्यक्रममा अग्रवालले अर्थतन्त्रलाई पुरानो लय (६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर) मा फर्काउन न्यानो र मैत्रीपूर्ण व्यावसायिक वातावरणको निर्माण आवश्यक रहेको बताए।
कोभिड–१९ को प्रभाव तथा त्यसपछिका अस्थिर र संकुचित मौद्रिक एवं वित्त नीतिहरूका कारण नेपालको अर्थतन्त्रले पुरानो लय हासिल गर्न नसकेको उनले उल्लेख गरे।
अध्यक्ष अग्रवालले उपभोग तथा लगानी क्षमता बढाउन कर समायोजन अनिवार्य रहेको जोड दिए।
'उपभोक्ताहरूको क्रय शक्ति बढाउन र उद्यमी व्यवसायीहरूको लगानी क्षमता बढाउनका लागि विश्वका धेरै देशहरूले गरिरहेको करका दरहरू घटाउने परिवर्तनलाई नेपालले पनि समय सापेक्ष विचार गर्नुपर्ने आवश्यकता छ,' उनले भने।
लगानी आकर्षणका लागि यूएईमा समेत आयकर अत्यन्त न्यून गरिएको उदाहरण उनले दिए।
उनका अनुसार हालै जेनजी पुस्ताले सञ्चालन गरेको आन्दोलनका क्रममा भएको मानवीय क्षतिलाई ऐतिहासिक त्रासका रूपमा लिइएको छ।
आन्दोलनका क्रममा औद्योगिक/व्यावसायिक प्रतिष्ठान एवं निजी सम्पत्तिहरूमा आक्रमण हुनु दुःखद भएको भन्दै उनले यसले सम्पूर्ण उद्यमी व्यवसायीहरूको मनोबल अत्यन्त कमजोर भएको बताए।
'आन्दोलनका क्रममा औद्योगिक/व्यवसायिक प्रतिष्ठानहरू एवं निजी सम्पत्तिहरूमा आक्रमण हुनु दुखद भएको र यसले समग्र व्यावसायिक एवं औद्योगिक वातावरणमा नकारात्मक असर पार्नुका साथै सम्पूर्ण उद्यमी व्यवसायीहरूको मनोबल अत्यन्त अन्य भएको छ,' उनले उल्लेख गरे।
भन्सार, भ्याट र अन्तशुल्कमा समायोजनको माग:
अध्यक्ष अग्रवालले भन्सार मूल्यांकनको आधार कारोबार मूल्य हुनुपर्ने र सन्दर्भ पुस्तिका हटाइनुपर्ने कुरालाई अविलम्ब संशोधन गरिएको तथा अनलाइन भ्यालुएसन सिस्टमको सुरुवात गरिएकोमा सरकारलाई धन्यवाद ज्ञापन गरे।
यद्यपि, भारतमा जिएसटीका दरहरूमा भएको व्यापक कटौतीलाई ध्यानमा राखी नेपालमा पनि भन्सार तथा मूल्य अभिवृद्धिका दरहरूलाई समायोजन गरी प्रतिस्पर्धी बजार निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनले औँल्याए।