ग्लोबल नेपाली
धन तामाङ सन् २०१० मा बेलायत गएका हुन्। काभ्रे तिमालका धन सुरूमा लन्डनस्थित गेल्स बेकरीमा काम गर्थे। पछि वारिस्टा भएर काम गरे।
अहिले उनी आफै रोजगारदाता बनेका छन्।
धन अहिले विनचेस्टर हाई–स्ट्रिटमा दुइटा कफी–शप चलाउँछन्। एउटाको नाम 'कवि' र अर्कोको 'निडेड' (kneaded) हो।
'नेपाली नामलाई नै ब्रान्डिङ गर्ने मेरो ठूलो सपना भएकाले कवि नाम राखेको हुँ,' उनले भने।
कवि उनले सन् २०२४ मेदेखि सुरू गरेका हुन्। उनका अनुसार यो क्याफेमा करिब ६ लाख पाउन्ड स्टरलिङ (बेलायती रकम) सुरूआती लगानी भएको छ।
निडेड भने सन् २०२४ डिसेम्बरमा किनेका हुन्। अंग्रेजी शब्द निडेडको अर्थ पिठो मुछ्नु हो।
कवि कफी–शपमा एकै पटकमा सय जना मानिस बसेर कफीको मजा लिन सक्छन्। यो त्यो क्षेत्रको ठूलोमध्येको कफी–शप भएको धनको दाबी छ।
कविमा बेकरी र अन्य खाजा परिकार पनि पाइन्छ।
'कफी–शप निकै राम्रो चलेको छ। कफीको ठूलो बार छ। उच्च प्रविधि प्रयोग गरेर कफी तयार गर्छौं। मीठो कफीसँगै स्वादिला खानेकुरा पनि पस्किएका छौं,' उनले भने।
शनिबार र आइतबार बिदा हुने भएकाले निकै भीड हुन्छ।
धन त्यहाँ कफी आर्ट र कुकिङ सम्बन्धी प्रशिक्षण पनि दिन्छन्। सिक्न पनि ठूलै भीड लाग्ने उनले बताए।
निडेड चाहिँ सानो पसल हो। यसमा धेरैजस्तो टेक–अवे (लिएर जाने) कारोबार हुन्छ।

'हुन त बेलायतमा बसेर कफी पिउनेभन्दा पनि कप लिएर पिउँदै हिँड्ने चलन छ। शपमा गफिएर धेरैबेर बस्ने चलन कम हुन्छ। त्यसो हुँदा सानो ठाउँमै पनि धेरै सेवाग्राहीलाई सेवा दिन सकिन्छ,' उनले भने।
यी दुइटा कफी पसलमा धनले करिब ३५ जनालाई रोजगारी दिएका छन्।
विश्वभर फैलिएको कोभिड महामारीअघि कफी–शप अझै धेरै राम्ररी चलिरहेको र २ सय जना हाराहारीलाई रोजगारी दिएको उनले बताए।
पहिलो पटक उनले सन् २०१६ मा आफ्नै कफी पसल खोलेका थिए। त्यो बेला ८/१० जना बस्न मिल्ने सानो ठाउँ थियो। लगानी पनि धेरै थिएन। कफी मेसिनहरू पनि प्रायः उपहार पाएकै चलाएका थिए।
त्यस बेलासम्म उनले कफीमा विभिन्न स्वाद र कला भरेर कफी–कला प्रदर्शनी गरिसकेका थिए। उनी 'सेलेब्रेटी' वारिस्टाका रूपमा चिनिन्थे। धन सन् २०१३ देखि २०१८ सम्म गरी ६ पटक 'युके लाटे आर्ट' का च्याम्पियन बने। सन् २०१६ को वर्ल्ड लाटे आर्ट च्याम्पियनसिपमा पनि फाइनलिस्ट बने। त्यसपछि त झन् उनको चर्चा चुलियो।
विभिन्न अन्तर्राष्ट्रिय कफी कम्पनीका ब्रान्ड एम्बास्डर समेत बनिसकेका उनको हातको कफीको स्वाद खोज्दै पारखीहरू टाढा टाढाबाट आइपुग्थे। यसरी धाउनेहरू खासगरी बेलायतीहरू नै हुन्थे। त्यसैले पसल सानो भए पनि एकदमै राम्रो चल्न थाल्यो।
कफी व्यवसायसँगै उनले सन् २०१७ मा 'कफी आर्ट' नामक किताब लेखे। कफी आर्ट कसरी गर्ने भन्नेबारेको यो किताब अहिले अंग्रेजी, जर्मनी, चिनियाँ लगायत विश्वका विभिन्न सात भाषामा उपलब्ध छ। अमेजनबाट विभिन्न मुलुकमा बिक्री भइरहेको धनले बताए।
'विश्वभर तीन लाख प्रतिभन्दा बढी बिक्री भइसकेको छ,' उनले भने।


धनले हरेक वर्ष कफी–शपका शाखा बढाउँदै लगे। सन् २०१६ देखि २०१९ सम्म १३ वटा पुर्याइसकेका थिए। कफीसँगै बेकरी पसल पनि थियो।
निकै फस्टाएको व्यवसायमा अचानक कोभिडले असर पार्यो। त्यो बेला करिब २० लाख पाउन्ड घाटा भएको उनले बताए।
'एक–दुइटा गर्दै सबै पसल स्थायी रूपमा बन्द गर्नुपर्यो,' उनले भने।
त्यसपछि उनले विभिन्न ठूला कफी कम्पनीहरूमा कन्सल्टिङको काम गरे। यही क्रममा विभिन्न देश पुगे। सन् २०२२ देखि २०२३ को अवधिमा कफी महोत्सव लगायत कार्यक्रममा सहभागी हुन् ५० वटाभन्दा धेरै देश पुगेको उनले बताए। थुप्रै कफी तथा कफी मेसिन सम्बन्धी कम्पनीका 'ग्लोबल ब्रान्ड एम्बास्डर' समेत बने।
यो अनुभव बटुलेर उनले सन् २०२४ जनवरीमा दोस्रो किताब 'कफी आर्ट मास्टरक्लास' ल्याए।
धनले सन् २००६ देखि नै कफी यात्रा सुरू गरेका हुन्। यो यात्रा खाडी मुलुक कुवेतबाट सुरू भएको हो। उनी कुवेतमा कफी–शपमा काम गर्न पुगेका थिए।
'त्यो बेला त कफी भन्ने त थाहा थियो, तर त्यसको भेराइटी थाहा थिएन। अमेरिकानो, क्यापचिनो जस्ता नाम सुनेकै कुवेत पुगेर हो,' उनले भने, 'कुवेतमा सिनियरले जुनियरलाई निकै पेलेर काम लगाउँथे। काम गर्न निकै दुःख हुन्थ्यो। तर त्यही दुःखले मलाई यहाँसम्म पुर्याएको हो।'
कुवेतमा दुई वर्ष काम गरेर उनी सन् २००८ मा नेपाल फर्किए। नेपालमा कफी बनाउन सिकाउने ठाउँहरूमा काम गरे।

त्यसपछि उनी डिपेन्डेन्ट भिसामा बेलायत गएका हुन्।
धनले सुरूमा लन्डनका बेकरी र कफी पसलमा काम गरे। कफीमा काम गर्दागर्दै एक पटक उनले आफ्नै मःम पसल पनि चलाए। कोठामा मःम बनाएर एउटा रेल स्टेसन छेउमा किराना पसल अगाडिको खाली ठाउँमा पकाएर बेच्थे। कमाइ राम्रै भए पनि पछि उनलाई कफीमै केही गर्न मन भयो।
पछि उनी लन्डनबाट विनचेस्टर सरे।
'अंग्रेजी भाषा राम्रो बनाउँछु भन्ने थियो। लन्डन बसेर त्यो होला जस्तो लागेन। एउटा कफी–शपमा कामको अवसर, बस्ने फ्ल्याट र भिसा पनि पाउने भएँ। भाषा पनि सिक्न पाइने भएपछि मःम व्यवसाय छाडेर विनचेस्टर आएको थिएँ,' उनले सम्झिँदै भने।
धनले आफ्नो हातको कफी नेपालसँगै अन्य मुलुकमा पनि फैलाउने योजना बनाइरहेका छन्। दुबई र कतारमा कविको शाखा विस्तार गर्ने पनि सोचेका छन्।
'नयाँ वर्षमा केही नयाँ सुरूआत गर्ने सोच छ,' धनले थपे।
