दिल्लीको ऐतिहासिक लाल किल्ला नजिक गत सोमबार भएको कार विस्फोट अनुसन्धानमा एउटा महत्त्वपूर्ण सफलता हासिल भएको छ।
दस जनाको मृत्यु र दर्जनौं घाइते भएको उक्त घटनामा संलग्न एक युवकलाई राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआइए) ले आइतबार पक्राउ गरेको हो।
एनआइएले अमिर रशीद अली नामका कश्मीरी युवकलाई पक्राउ गरेको भारतीय अखबार 'हिन्दुस्तान टाइम्स' ले जनाएको छ।
ती युवकले विस्फोटक पदार्थ बोक्ने कारका चालक उमर उन नबीसँग मिलेर यो हमलाको योजना बनाएको एनआइएको आरोप छ।
पक्राउ परेका अलीकै नाममा उक्त कार दर्ता थियो, जसलाई नोभेम्बर १० का दिन लाल किल्ला हमलामा प्रयोग गरियो। एनआइएका अनुसार अलीलाई दिल्लीबाटै पक्राउ गरिएको हो।
'अभियुक्त जम्मु-कश्मीरको पाम्पोर, सामबूराका बासिन्दा हुन्,' एनआइएले भनेको छ, 'उनले आत्मघाती आक्रमणकारी मानिएका उमर उन नबीसँग मिलेर आतंक फैलाउने षड्यन्त्रमा भूमिका खेलेका छन्।'
अनुसन्धानले देखाए अनुसार, अमिर रशीद अलीले कश्मीरबाट दिल्ली आएर हमलामा प्रयोग भएको कार किन्न सहयोग गरेका थिए। त्यो कार विस्फोट हुनुभन्दा केही घन्टाअघि पुरानो दिल्लीका भिडभाडयुक्त चोक र सडकहरूमा घुमिरेको दृश्य ती क्षेत्रका सिसिटिभी क्यामरामा देखिएको थियो।
एनआइएको फरेन्सिक परीक्षणले उक्त कार चलाइरहेका मृत चालक उमर उन नबी भएको पुष्टि गरिसकेको छ। उनी हरियाणाको फरिदाबादस्थित अल-फलाह विश्वविद्यालयका सहायक प्राध्यापक भएको खुलेको छ।
यो घटनामा अल–फलाह विश्वविद्यालय महत्त्वपूर्ण कडीका रूपमा जोडिएपछि दिल्ली प्रहरीले केही दिनअघि तीन जनालाई पक्राउ गरेको थियो। तिनमा दुई जना डाक्टर समेत छन्।
यो आतंकवादी घटनामा संलग्न अन्य सदस्यहरूको पनि पहिचान गर्ने काम भइरहेको एनआइएले जनाएको छ।
के भएको थियो?
'हिन्दुस्तान टाइम्स' का अनुसार गत सोमबार साँझ करिब ७ बजे लाल किल्ला नजिक विस्फोट भएको कारका आधारमा अनुसन्धान चार मुख्य प्रश्नमाथि केन्द्रित छ —
१) किन त्यो स्थान रोजियो?
२) विस्फोट योजनाबद्ध थियो कि आकस्मिक थियो?
३) बम कारको बोनटमा लुकाइएको थियो कि?
४) कारभित्र को–को थिए?
किन रोजियो लाल किल्ला क्षेत्र?
अनुसन्धानकर्ताहरूको पहिलो प्रश्न हो — किन लाल किल्ला जस्तो कडाइका साथ निगरानी हुने स्थान नै रोजियो?
एनआइएका अधिकारीहरूका अनुसार, साँझ ६:५२ बजे भीडभाडका बेला भएको विस्फोट आकस्मिक पनि हुनसक्छ। अर्थात्, आक्रमणकर्ताहरूले आत्तिएर समयअगावै बम विस्फोट गराएका हुन सक्छन्।
दिल्ली प्रहरीका स्रोतका अनुसार मुख्य अभियुक्त डा. उमर उन नबीले लाल किल्ला र चाँदनी चोक क्षेत्र वरिपरि नै विस्फोट योजना बनाएका थिए। डा. उमरले त्यो कार चलाइरहेका थिए भन्ने प्रारम्भिक अनुमान गरिएको छ।
घटनास्थल र दिल्लीका विभिन्न क्षेत्रको सिसिटिभी फुटेजले उक्त कार चार घन्टासम्म त्यही क्षेत्र वरिपरि घुमिरहेको थियो।
विस्फोट हुनुअघि तीन घन्टाभन्दा बढी समय त्यो कार सुनहरी मस्जिद नजिक पार्क गरिएको थियो। त्यसपछि नेताजी सुभाष मार्ग र शान्तिवन रोड हुँदै दरीगन्ज र छत्ता रेल कट ट्राफिक सिग्नल वरिपरि घुमेको देखिन्छ।
विस्फोट हुनुभन्दा १० मिनेटअघि कार नेताजी सुभाष मार्गकै एक प्रसिद्ध मन्दिर नजिक केही समय रोकिएको पनि देखिन्छ।
डा. उमरले पहिलो पटक त्यही मन्दिर वरिपरि विस्फोट गराउने योजना बनाएको हुनसक्ने एक अनुसन्धान अधिकारीले बताए।
'त्यो ठाउँबाट चाँदनी चोकका ठूला बजारहरू जाने बाटो खुल्छ,' ती अधिकारीलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ, 'त्यो ठाउँ नो–पार्किङ क्षेत्र भएकाले उमरले त्यहाँ कार रोक्दा प्रहरी वा ट्राफिक कर्मचारीको ध्यान गयो होला, जसबाट डराएर उनी अघि बढ्न बाध्य भए होलान्।'
योजनाबद्ध कि आकस्मिक विस्फोट?
अर्को ठूलो प्रश्न हो — यो विस्फोट सोचेर गरिएको थियो कि हतारमा?
हिन्दुस्तान टाइम्सले लेखे अनुसार प्रहरीले यसमा तीनवटा सम्भावना हेरेको छ —
१) योजना अनुसारकै आक्रमण
२) डर वा हतारमा गरिएको विस्फोट
३) बम आकस्मिक रूपमा विस्फोट हुनु
आक्रमणकारीहरूले सोमबारको दिन नै यो विस्फोट किन गराए भनेर अनुसन्धान अधिकारीहरू चकित छन्। किनभने, त्यो दिन लाल किल्ला बन्द हुन्छ।
साथीहरू पक्राउ परेपछि उनले अत्तालिएर विस्फोटक पदार्थसहित भाग्ने प्रयास गर्दा यो घटना भएको हो कि भन्ने अधिकारीहरूको अनुमान छ।
'जो व्यक्ति योजना बनाउने र कार्यान्वयन गर्नेमा थिए, उनी आफै विस्फोटमा मारिएका छन्, त्यसैले साँचो कारण थाहा नपाइने सम्भावना पनि छ,' एक अधिकारीले भने।
के बम कारको बोनटमा लुकाइएको थियो?
अनुसन्धानकर्ताका अनुसार कारभित्र बम कहाँ राखिएको थियो भन्ने पनि ठूलो रहस्य हो।
प्रारम्भिक फरेन्सिक परीक्षण अनुसार बम कारको बोनटभित्र लुकाइएको हुनसक्छ।
एक वरिष्ठ अधिकारीले भने फरिदाबादमा आइतबार राति देखिएको सिसिटिभी फुटेजमा उमरको कार सामान्य अवस्थामा देखिन्थ्यो। तर सोमबार दिउँसो सुनहरी मस्जिद पार्किङमा देखिँदा कारको बोनट पूर्ण रूपमा बन्द थिएन।
'हामीलाई विश्वास छ, उमरले डेटोनेटर र एमोनियम नाइट्रेट–फ्युल अइल बोनट भित्र राखेका थिए,' ती अधिकारीले भने, 'उनले बोनट बन्द गर्न डोरी र स्टिकरजस्तो वस्तु प्रयोग गरेका थिए, जुन अघिल्लो फुटेजमा थिएन।'
फरेन्सिक टोलीले पछि बोनट क्षेत्रमा एमोनियम नाइट्रेटको उच्च मात्रा पाइएको पुष्टि गरेको छ। यसले पनि विस्फोटको स्रोत त्यही ठाउँ भएको संकेत गर्छ।
कारमा को को थिए?
प्रारम्भिक रिपोर्टमा कारभित्र दुई जना रहेको भनिएको थियो, तर पछिल्लो प्रमाणले उमर उन नबी एक्लै रहेको देखाउँछ।
'कार फरिदाबादबाट दिल्ली छिरेको बेला उनी एक्लै थिए,' एक अधिकारीले भने, 'त्यो भन्दाअघि अक्टोबर २९ मा उनलाई फरिदाबादको सेक्टर ३७ स्थित प्रदूषण परीक्षण केन्द्रमा दुई जनासँग देखिएको थियो। त्यसपछि उनी १० दिनसम्म लुकेका थिए।'
प्रहरी अहिले ती दुई व्यक्तिको पहिचान खोज्दैछ।
दिल्ली प्रहरी विशेष शाखाका एक अधिकारीले भने, 'हामीसँग ती दुई जनाको परिचयबारे केही सूचना छन् र उनीहरूका गतिविधि ट्र्याक गरिरहेका छौं।'
दिल्लीमा विस्फोट भएको कार यसरी आइपुगेको थियो लाल किल्ला
दिल्लीका विभिन्न भागको सिसिटिभी फुटेज जाँच गर्दा उक्त कारलाई सोमबार बिहान साढे ७ बजेतिर फरिदाबादको अस्पताल बाहिर देखिएको अनुसन्धान अधिकारीहरूले बताएका छन्।
त्यसपछि ८ बजेर ४ मिनेट जाँदा भद्रपुर टोल प्लाजा हुँदै त्यो कार दिल्ली प्रवेश गरेको थियो।
त्यसको १६ मिनेटपछि ओख्ला औद्योगिक क्षेत्रको पेट्रोल पम्प नजिक रहेको सिसिटिभीले उक्त कारको दृश्य कैद गरेको छ, जसमा उमर मास्क लगाइरहेका देखिन्छन्।
फरिदाबादबाट दिल्ली प्रवेश गरेको त्यो कार सहरका विभिन्न भागमा घुमिरहन्छ र दिउँसो साढे २ बजेतिर दिल्लीको मुख्य केन्द्र कनटप्लेसको भित्री भागमा गुडिरहेको पाइन्छ। विस्फोटका लागि बढी भिडभाड हुने साँझको समय प्रतीक्षा गरिएको हुनसक्ने आशंका अनुसन्धान अधिकारीहरूले गरेका छन्।
कनटप्लेसबाट चाँदनी चोकस्थित गौरीशंकर मन्दिर पुगेको र त्यहाँबाट सुनहरी मस्जिदको पार्किङमा करिब तीन घन्टा पार्क गरिएको अनुसन्धान अधिकारीहरूले बताएका छन्।
करिब सवा ३ देखि साढे ६ बजेसम्म सुनहरी मस्जिदमा पार्क गरेर राखिएको त्यो कार त्यसपछि लाल किल्लातर्फ बढेको सिसिटिभी फुटेजमा देखिएको छ।
सिसिटिभीमा देखिएका सबै दृश्यमा उमर कारभित्रै रहेको 'टाइम्स अफ इन्डिया' ले जनाएको छ।
अनुसन्धान अधिकारीका अनुसार विस्फोट हुनुभन्दा करिब २५ मिनेट अगाडि त्यो कार दिल्लीको व्यस्त बजार चाँदनी चोक प्रवेश गर्छ। त्यसपछि दिल्लीको प्रमुख ऐतिहासिक स्थल लाल किल्लाको गेट नम्बर १ अगाडि रोकिन्छ। त्यही ठाउँमा ६ बजेर ५० मिनेट जाँदा उक्त कार विस्फोट भएको थियो।
अधिकारीहरूले हजारवटा सिसिटिभी क्यामराको दृश्य केलाएर विस्फोट भएको कारको यो रूट पत्ता लगाएका हुन्।
'सोमबार बिहान त्यो कार हरियाणाको फरिदाबादमा देखिनु र केही दिनअघि फरिदाबादमा फेला परेको ठूलो परिमाणको विस्फोटक पदार्थसँग डा. उमरको सम्बन्ध जोडिनुले यो घटनालाई आतंकवादी योजनासँग जोड्छ,' अनुसन्धान अधिकारीहरूलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ।
फरिदाबादमा २९ सय किलो एमोनियम नाइट्रेट लगायत अन्य विस्फोटक पदार्थ फेला परेको घटनामा दुई जना व्यक्ति पक्राउ परेका छन्। उनीहरू डा. मुजम्मिल शाकिल र अदिल अहमद हुन्। डा. मुजम्मिल शाकिल पनि पुलवामाकै हुन्।
फरिदाबादमा विस्फोटक पदार्थ फेला परेको घटनापछि नै उमर बेपत्ता थिए।
'आफ्ना दुई जना साथी पक्राउ परेपछि उनले विस्फोट गर्ने योजना बनाएको देखिन्छ,' एक प्रहरी अधिकारीले भने, 'उमर त्यसपछि हराएका थिए। यसबाट आत्मघाती आक्रमण भएको हुनसक्छ भन्ने अनुमान बलियो बनेको छ।'
हरियाणा प्रहरीले पनि डा. उमरलाई फरिदाबादबाट बरामद गरिएको २९ सय किलो विस्फोटक पदार्थसँग जोडिएको मुख्य अभियुक्तका रूपमा पहिचान गरेको छ। उनी तीन वर्षदेखि अल-फलाह मेडिकल कलेज, फरिदाबादमा कार्यरत थिए, जहाँ मुजम्मिल शाकिल पनि काम गर्थे।
पक्राउ परेका अर्का डाक्टर अदिल अहमद अनन्तनाग मेडिकल कलेजका पूर्ववरिष्ठ रेसिडेन्ट हुन्। उनले पनि उमरसँगै मिलेर लाल किल्ला विस्फोटको योजना बनाएको बताइएको छ।
प्रारम्भिक विवरणअनुसार उमर र शाकिलले फरिदाबादको धौज गाउँमा दुईवटा कोठा भाडामा लिएका थिए। एउटाको मासिक भाडा १२ सय थियो भने अर्कोको १४ सय। उनीहरूले दुई–दुई महिनाको अग्रिम भाडा जम्मा गरी त्यहाँ विस्फोटक पदार्थ भण्डारण गरेका थिए।
यसबीच जम्मु–कश्मीर प्रहरीले पनि पछिल्ला पाँच दिनदेखि विभिन्न स्थानमा छापा मारी छ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उमर उन नबीका तीन जना आफन्त पनि छन्।
***