नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुक आर्थिक र राजनीतिक दुवै संक्रमणकालको अप्ठ्यारोमा रहेको भन्दै सरकारले अर्थतन्त्रलाई केन्द्रमा राखेर छिट्टै देशलाई यो अवस्थाबाट पार लगाउनुपर्ने धारणा राखेका छन्।
कर दिवसको अवसरमा आफ्नो भनाइ राख्दै अध्यक्ष पाण्डेले निजी क्षेत्रको आत्मविश्वास बढाउन र लगानीमैत्री वातावरण निर्माण गर्न सरकारको ध्यान जानुपर्नेमा जोड दिए। उनले बैंकहरूमा थुप्रिएको ठूलो रकमलाई परिचालन गर्न सके अर्थतन्त्र सजिलै अगाडि बढ्ने विश्वास व्यक्त गरे।
'मुलुक आर्थिक र राजनीतिक दुवै कारणले अप्ठ्यारोमा छ। यो संक्रमणबाट सरकारले मुलुकलाई छिट्टै पार लगाउनु पर्नेछ। अर्थतन्त्रलाई केन्द्रमा राखेर सरकारले निर्णयहरु गरोस्,' उनले आग्रह गरे।
अध्यक्ष पाण्डेले लगानीका लागि पुँजीको अभाव नरहेको भन्दै मुख्य आवश्यकता भनेको 'भयरहीत' र विश्वासिलो व्यावसायिक वातावरण रहेको उल्लेख गरे।
उनले बैंक तथा वित्तीय संस्थाहरूमा प्रशस्त तरलता रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराए।
'भयरहित वातावरण भए लगानीको कुनै समस्या हुँदैन। बैंकमा ठूलो रकम थुप्रिएको छ। यसको उपयोग गर्नसके मुलुक आर्थिक रुपमा सजिलै अगाडि बढ्छ,' उनले बताए।
उनले सरकारले दिने हरेक नीतिगत र प्रशासनिक निर्णयहरूले निजी क्षेत्रलाई उत्साहित बनाउनुपर्नेमा जोड दिँदै लगानी प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।