साताको पहिलो दिन अर्थात् आइतबार नेप्से १८.०२ अंकले घटेर २७३९.९५ विन्दुमा आएको छ।
बजार घटेपनि कारोबार रकम भने बढेको छ। अघिल्लो साता बिहीबार पाँच अर्ब दुई करोड रूपैयाँको कारोबार भएकोमा आज (आइतबार) ६ अर्ब ५४ करोड रूपैयाँको कारोबार भएको हो।
आइतबार कारोबारमा आएका समूहगत परिसूचकमध्ये उत्पादमूलक कम्पनी मात्रै ०.१५ प्रतिशतले बढेको छ। अन्य सबै परिसूचक घटेका छन्।
कारोबारमा आएका ३२३ कम्पनीमध्ये ८१ वटाको मूल्य बढेको छ। त्यस्तै, दुई सय ५१ वटाको सेयर मूल्य घटेको छ।
गतसाता बुधबारबाट कारोबारमा आएको विकास हाइड्रोको सेयर मूल्य आज पनि बढेर सर्किट ब्रेक लागेको छ। सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेर कम्पनीको सेयर तीन सय ८८ रूपैयाँ ७० पैसा पुगेको छ।
नारायणी विकास बैंकको सेयर मूल्य सबैभन्दा धेरै ७.२९ प्रतिशतले घटेर एक हजार तीन सय ३६ रूपैयाँ ६५ पैसामा कारोबार भएको छ।
यस दिन हिमालयन डिष्ट्रलरीको सबैभन्दा धेरै रूपैयाँको सेयर कारोबार भएको छ। कम्पनीको एक अर्ब ७५ करोड रूपैयाँको कारोबार भएको हो।