बुधबार मध्याह्नदेखि सिमरा विमानस्थल तनावग्रस्त छ।
नेकपा एमाले निकट युवा संघले बाराको परवानीपुरमा आयोजना गरेको जागरण अभियानमा सहभागी हुन केन्द्रीय नेताहरू जाने कार्यक्रम तय थियो। महासचिव शंकर पोखरेल र महेश बस्नेत लगायतका नेताहरू मध्याह्न सिमरा विमानस्थल पुग्ने कार्यक्रम थियो।
सिमरा विमानस्थल क्षेत्रमै रहेका जेनजी युवा र एमाले कार्यकर्ताबीच झडप भयो। झडपपछि सिमरा विमानस्थल तनावग्रस्त बनेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका एसपी सन्तोष तामाङका अनुसार सिमरा विमानस्थल क्षेत्रमा झन्डै साढे २ सय जनाभन्दा बढीको भिड जम्मा भएर एकापसमा झडप भएको थियो।
जेनजी युवाहरूले विरोध प्रदर्शन गरेको र एमाले नेताहरूलाई स्वागत गर्न विमानस्थल पुगेका युवाहरूबीच झडप भएको प्रहरीले जनाएको छ।
स्थिति तनावग्रस्त बनेपछि प्रहरीले लाठिचार्ज गरेको थियो।
सिमरा विमानस्थलमा प्रदर्शनको नेतृत्व सम्राट उपाध्यायले गरेका थिए। घटनाबारे हामीले उनैसँग कुराकानी गरेका छौं।
उपाध्यायले आफू जेनजी मुभमेन्ट अलायन्सको बारा जिल्ला संयोजक रहेको जानकारी दिए।
उनले शान्तिपूर्ण प्रदर्शन गर्दै गर्दा एमाले कार्यकर्ताहरू आएर कुटपिट गरेको बताए।
'भदौ २३ को हत्यामा संलग्न रहेकाहरूलाई कारबाहीको माग राखेर प्रदर्शन गर्दै आएका छौं। आज पनि त्यति बेलाको हत्यारा सरकारलाई अहिलेको सरकारले पक्राउ नगरेको भनेर पम्प्लेटहरू लिएर उभिएका थियौं,' उनले भने।
उनका अनुसार प्रदर्शन सुरूमा सिमरा चोकमा भएको थियो। प्रदर्शन एमाले वा तिनका नेताविरूद्ध नभएको पनि उनले बताए।
'हत्या गर्ने त्यति बेलाको सरकारलाई कारबाही गर् भनेर उभिएका हौं। महेश बस्नेतहरू विरूद्ध होइन,' उनले भने।
दुई समूहबीच छलफल हुँदा हुँदै एउटाले प्रहार गरेको उनले बताए।
'छलफल हुँदै थियो। एउटाले आएर हानिहाल्यो। त्यसपछि झडप भयो,' उनले भने।
उनका अनुसार प्रदर्शनमा १० देखि १५ जना मात्र सहभागी थिए। अकास्मात कुटपिट हुँदा ५/७ जना घाइते भएको उनले बताए।
'भिडिओहरू पनि आएका छन्। मैमाथि पनि कुटपिट भएको छ। अहिले पट्टि बाँधेर बसेको छु,' उनले भने।