काउन्सिल अफ जेनजीका मधेस प्रदेश संयोजक शिव यादवले बुधबार सिमरा विमानस्थलमा भएको घटनामा आफूहरूले एमालेको कार्यक्रममा अवरोध नपुर्याएको र त्यस्तो मनसाय पनि नभएको बताएका छन्।
एमालेद्वारा परिचालित व्यक्तिहरू पसेर जेनजी मुभमेन्ट अलायन्सको बारा जिल्ला संयोजक सम्राट उपाध्याय लगायत जेनजी प्रतिनिधिहरूलाई कुटपिट गरेको उनले बताए।
बुधबार सिमरा विमानस्थलको गेट अगाडि एमाले कार्यकर्ता र जेनजी प्रदर्शनकारीबीच झडप भएको थियो। त्यसपछि विमानस्थलको सुरक्षालाई ध्यानमा राख्दै कर्फ्यू लगाइएको बारा जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कर्फ्यू बेलुकी ८ बजेसम्म रहनेछ।
यही झडपका कारण बारामा बुधबार आयोजित कार्यक्रममा केन्द्रीय स्तरका एमाले नेता सहभागी हुन पाएनन्। एमाले महासचिव शंकर पोखरेल सहित महेश बस्नेत लगायतका नेता बाराको कार्यक्रममा भाग लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेका थिए।
एमाले कार्यकर्ता र जेनजी प्रतिनिधिहरूको झडपले कर्फ्यू लगाउनुपर्ने स्थिति आएपछि सिमरा जाने सबै उडान रद्द गरियो। यसले केन्द्रीय नेताहरू जानै पाएनन्।
एमाले नेताहरूले जेनजीहरूले आफ्नो कार्यक्रममा अवरोध गरेको आरोप लगाइरहेका छन्।
यसको खण्डन गर्दै काउन्सिल अफ जेनजीका मधेस प्रदेश संयोजक यादवले सामाजिक सञ्जालमा लेखेका छन्, 'जेनजी बारा समितिले एमालेको कार्यक्रममा कुनै प्रकारको अवरोध गरेको होइन। खासमा सिमरा चोकमै आज जेनजीको कार्यक्रम थियो। यो कार्यक्रममा एमालेद्वारा नै परिचालित गुन्डा समूहहरू पसेर बारा संयोजक सम्राट उपाध्याय लगायतका जेनजी साथीहरूलाई कुटपिट गरेका हुन्।'
उनी अगाडि लेख्छन्, 'एमालेको कार्यक्रम परवानीपुरमा थियो। तर एमालेका गुन्डाहरू सिमरा आएर जेनजी साथीहरूको अपमान गर्ने, दुर्व्यवहार गर्ने र कुटपिट गर्ने काम गरेको तथ्य स्पष्ट हुँदाहुँदै कतिपयले गलत सूचना प्रवाह गर्ने प्रयास गरेका छन्, जुन अत्यन्त भ्रामक, पूर्वाग्रही र आन्दोलनलाई बदनाम गर्न गरिएको दुष्प्रयास हो।'
सिमरा विमानस्थलमा प्रदर्शनको नेतृत्व गरेका जेनजी मुभमेन्ट अलायन्सको बारा जिल्ला संयोजक सम्राट उपाध्यायले शान्तिपूर्ण प्रदर्शन गर्दै गर्दा एमाले कार्यकर्ताहरू आएर कुटपिट गरेको बताए।
'भदौ २३ को हत्यामा संलग्न रहेकाहरूलाई कारबाहीको माग राखेर प्रदर्शन गर्दै आएका छौं। आज पनि त्यति बेलाको हत्यारा सरकारलाई अहिलेको सरकारले पक्राउ नगरेको भनेर पम्प्लेटहरू लिएर उभिएका थियौं,' उनले भने।
उनका अनुसार प्रदर्शन सुरूमा सिमरा चोकमा भएको थियो। प्रदर्शन एमाले वा तिनका नेताविरूद्ध नभएको पनि उनले बताए।
'हत्या गर्ने त्यति बेलाको सरकारलाई कारबाही गर् भनेर उभिएका हौं। महेश बस्नेतहरू विरूद्ध होइन,' उनले भने।
दुई समूहबीच छलफल हुँदा हुँदै एउटाले प्रहार गरेको उल्लेख गर्दै उनले भने, 'छलफल हुँदै थियो। एउटाले आएर हानिहाल्यो। त्यसपछि झडप भयो।'
उनका अनुसार प्रदर्शनमा १० देखि १५ जना मात्र सहभागी थिए। अकस्मात कुटपिट हुँदा ५/७ जना घाइते भएको उनले जानकारी दिए।
'भिडिओहरू पनि आएका छन्। मैमाथि पनि कुटपिट भएको छ। अहिले पट्टि बाँधेर बसेको छु,' उनले भने।