सिमरा विमानस्थलको गेट अगाडि नै एमाले कार्यकर्ता र जेनजी प्रदर्शनकारीबीच झडप भएपछि विमानस्थलको सुरक्षालाई ध्यानमा राखेर कर्फ्यू लगाएको बारा जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
बुधबार नेकपा एमालेका महासचिव शंकर पोखरेल, महेश बस्नेत लगायतका नेताहरू काठमाडौंबाट सिमरा जाँदै थिए। त्यही बेला विमानस्थलको गेटअगाडि प्रदर्शन गरिरहेका जेनजी युवा र एमाले कार्यकर्ताबीच झडप भएको थियो।
झडपपछि जिल्ला प्रशासन कार्यालयले बेलुकी ८ बजेसम्मका लागि कर्फ्यू जारी गरेको छ।
'दोहोरो झडपपछि स्थिति तनावपूर्ण भएको थियो। सिमरा विमानस्थल नै घेराउ र आक्रमण हुने खतरा देखिएपछि हामीले कर्फ्यू लगाएका हौं,' सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले भने।
उनका अनुसार कर्फ्यू आदेशपछि पनि प्रदर्शनकारीहरू मूल सडकमै टायर बालेर बसिरहेका छन्।
'अहिले परिस्थिति शान्त भएको छ। स्थिति नियन्त्रणमा लिन केही अश्रु ग्यास प्रहार भएका छन्। नेपाली सेना पनि सडकमै छ। ज्वाइन्ट कमान्डका रूपमा प्रशासनले काम गरिरहेको छ,' उनले भने।
दुई पक्षबीच झडप हुँदा केही घाइते समेत भएको हुनसक्ने उनले बताए। यद्यपि त्यसबारे रिपोर्टिङ भइनसकेको उनको भनाइ छ।
काउन्सिल अफ जेनजीका मधेस प्रदेश संयोजक शिव यादवका अनुसार झडपमा परी सम्राट उपाध्याय लगायत घाइते भएका छन्। उनले आफूहरू कसैले पनि एमालेको कार्यक्रममा अवरोध नपुर्याएको र त्यस्तो मनसाय पनि नभएको बताए।
'जेनजी बारा समितिले नेकपा एमालेको कार्यक्रममा कुनै प्रकारको अवरोध गरेको होइन। खासमा सिमरा चोकमै आज जेनजीको कार्यक्रम थियो। यो कार्यक्रममा एमालेद्वारा नै परिचालित गुन्डा समूहहरू पसेर बारा संयोजक सम्राट उपाध्याय लगायतका जेनजी साथीहरूलाई कुटपिट गरेका हुन्,' उनले सामाजिक सञ्जालमा लेखेका छन्।'
उनी अगाडि लेख्छन्, 'एमालेको कार्यक्रम परवानीपुरमा थियो। तर एमालेका गुन्डाहरू सिमरामा आएर जेनजी साथीहरूको अपमान गर्ने, दुर्व्यवहार गर्ने र कुटपिट गर्ने काम गरेको तथ्य स्पष्ट हुँदाहुँदै कतिपयले गलत सूचना प्रवाह गर्ने प्रयास गरेका छन्, जुन अत्यन्त भ्रामक, पूर्वाग्रही र आन्दोलनलाई बदनाम गर्न गरिएको दुष्प्रयास हो।'