सिमरा तनाव ब्रिफिङ
बाराको सिमरा विमानस्थल गेट अगाडि बुधबार एमाले कार्यकर्ता र जेनजी प्रदर्शनकारीबीच झडप भएपछि कर्फ्यू लगाउनुपर्ने स्थिति आयो।
एमालेले बाराको परवानीपुरमा आयोजित आफ्नो कार्यक्रम भाँड्न जेनजी युवाहरूले अवरोध खडा गरेको आरोप लगाएको छ। जेनजी प्रतिनिधिहरूले भने एमाले कार्यकर्ताबाट आफूमाथि कुटपिट र दुर्व्यवहार भएको दाबी गरिरहेका छन्।
खासमा भएको चाहिँ के हो?
एमाले कार्यकर्ता र जेनजी युवाहरू एकआपसमा भिड्ने स्थितिमा कसरी पुगे? उनीहरूको भिडन्तले कर्फ्यू लगाउनुपर्ने स्थिति कसरी बन्यो?
यो स्टोरीमा हामीले दुवै पक्षसँग कुराकानी गरेका छौं। बाराको सिमरा चोकमा विरोध प्रदर्शन गरेका जेनजी प्रतिनिधिसँग कुरा गरेका छौं। काठमाडौंबाट केन्द्रीय स्तरका नेता डाकेर परवानीपुरमा जागरण अभियान कार्यक्रम आयोजना गरेको एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघसँग पनि कुरा गरेका छौं।
सँगसँगै, कर्फ्यु लगाउनुपर्ने स्थिति कसरी आयो भनेर बाराका सहायक प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई सोधेका छौं।
बाराको सिमरा चोकमा बुधबार आयोजित जेनजी प्रदर्शनको नेतृत्व जेनजी मुभमेन्ट अलायन्सका जिल्ला संयोजक सम्राट उपाध्यायले गरेका थिए। उनले एक दिनअघि नै सामाजिक सञ्जालमा सिमरा चोकमा शान्तिपूर्ण प्रदर्शनी गर्ने भन्दै आह्वान गरेका थिए।
बिहान १० बजेलाई तोकिएको कार्यक्रममा भाग लिन पौने १० बजे नै १०–१५ जना युवा सिमरा चोकमा भेला भएको उपाध्याय बताउँछन्।
उनका अनुसार भदौ २३ र २४ को आन्दोलन क्रममा ज्यान गुमाएकाहरूलाई न्याय दिलाउन प्रदर्शन गरिएको थियो। निहत्था युवाहरूमाथि गोली चलाउन आदेश दिने र गोली चलाउनेलाई कारबाही नगरिएकोमा विरोध गर्नु पनि उद्देश्य रहेको उनले बताए।
'हामी १०–१५ जना साथीहरू सिमरा चोकमा भेला भएर शान्तिपूर्ण प्रदर्शनी कसरी गर्ने भनी छलफल गरिरहेका थियौं,' उपाध्यायले भने, 'त्यही बेला एमाले कार्यकर्ताहरू आएर प्रदर्शनी नगर्न आदेश दिए। हामीले साथीहरूसँग छलफल गर्छौं भन्यौं।'
भयो के भने, एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघले बुधबार नै बाराको परवानीपुरमा जागरण अभियान कार्यक्रम आयोजना गरेको थियो।
त्यसमा सहभागी हुन एमाले महासचिव शंकर पोखरेल, पोलिटब्युरो सदस्य महेश बस्नेत लगायत नेताहरू काठमाडौंबाट जाँदै थिए। स्थानीय एमाले कार्यकर्ता आफ्ना केन्द्रीय नेतालाई लिन विमानस्थलतर्फ निस्किएका थिए।
सिमरा चोकमा जेनजीहरूको प्रदर्शनी रहेको थाहा पाएपछि उनीहरूले कार्यक्रम रोक्न खोजेको उपाध्यायले बताए।
'उनीहरूले त्यसो भनेपछि हामी सिमरा चोकमा भेला भएका जेनजी साथीहरू बुधबार दिउँसो, साँझ वा भोलि बिहान कार्यक्रम गर्ने कि भनेर कुराकानी गरिरहेका थियौं। त्यसैबीच एमालेका केही कार्यकर्ता आएर एक्कासि ममाथि हात उठाए,' उनले भने, 'हामी थोरै मात्र साथीहरू भएकाले उनीहरूले कुटपिट गर्न थालेपछि भाग्यौं।'
बिहान करिब साढे १० बजेतिर आफूहरूमाथि कुटपिट भएको उनले बताए।
कुटपिटपछि भागाभाग गरेका साथीहरू आफूमाथि जाइलाग्ने एमाले कार्यकर्ता खोज्न ११ बजेतिर फेरि सडकमा निस्किएको उनको भनाइ छ।
'हामीले जेनजीमाथि एमाले कार्यकर्ताले कुटपिट गरे भनेर सामाजिक सञ्जालमा भिडिओ बनायौं। प्रत्यक्ष रूपमा साथ दिन सबैसँग आह्वान गर्यौं,' उनले भने, 'जेनजीमाथि कुटपिट भयो भनेपछि स्थानीय जनताले साथ दिनुभयो। एकैछिनमा दुई–तीन सय जना भेला भए।'
त्यही आक्रोशमा आफूहरू एमाले नेता महेश बस्नेतलाई बारा आउन नदिऊँ भन्ने नारासहित विमानस्थल गेटसम्म पुगेको उनले जानकारी दिए।
'एमाले नेताहरूलाई बारा आउन नदिने हाम्रो पूर्वनिर्धारित योजना थिएन। हामीमाथि अनाहक कुटपिट भएपछि त्यस्तो नारा लगाएका हौं,' उनले भने।
सम्राट उपाध्याय
सिमरा चोकबाट विमानस्थल करिब एक किलोमिटर दुरीमा छ। जेनजी प्रदर्शनकारीहरू विमानस्थल गेट पुग्दा १२ बज्न आँटेको थियो।
'हामीले एमाले कार्यकर्ताहरू बाहिर ल्याउन विमानस्थल प्रहरीलाई भन्यौं। उनीहरूले मानेनन्। त्यसपछि स्थानीयले आक्रोशित हुँदै विमानस्थलको गेट तोडफोड गरे। विमानस्थलको गेट धकेलेर खोले पनि हामी कोही पनि भित्र छिरेनौं,' उपाध्यायले भने।
प्रहरीसँगको झडपपछि जेनजी प्रदर्शनकारी फेरि तितरबितर भएको र पछि यही घटनाको विरोधमा सडकमा टायर बालिएको उनले बताए।
टायर बाल्ने क्रम प्रशासनले कर्फ्यू लगाएपछि पनि जारी थियो।
यसबीच जेनजी युवाहरूले आफूमाथि कुटपिट गर्ने सात जना एमाले कार्यकर्ताविरूद्ध प्रहरीमा जाहेरी दर्ता गराएका छन्।
'ती सात जनालाई भोलिसम्म पक्राउ गर्न समय दिएका छौं,' उपाध्यायले भने, 'पक्राउ नगरे हामी फेरि सडकमा आउँछौं।'
जिल्ला प्रहरी कार्यालय बाराका एसपी सन्तोष तामाङले एमालेका कार्यकर्ताविरूद्ध जाहेरी आएको पुष्टि गरेका छन्।
'सात–आठ जनाविरूद्ध अभ्रद्ध व्यवहार र कुटपिट गरेको भन्दै जेनजी युवाहरूले जाहेरी दिनुभएको छ। हामीले जाहेरी दर्ता गरेका छौं,' उनले भने, 'कुटपिट गर्नेहरूको खोजी भइरहेको छ। छिट्टै नियन्त्रणमा लिइनेछ।'
काउन्सिल अफ जेनजीका मधेस प्रदेश संयोजक शिव यादवले पनि आफूहरूले एमालेको कार्यक्रममा अवरोध नपुर्याएको र त्यस्तो मनसाय पनि नभएको बताएका छन्।
'जेनजी बारा समितिले एमालेको कार्यक्रममा कुनै प्रकारको अवरोध गरेको होइन। खासमा आज सिमरा चोकमै जेनजीको कार्यक्रम थियो,' उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'यो कार्यक्रममा एमालेद्वारा नै परिचालित गुन्डा समूहहरू पसेर बारा संयोजक सम्राट उपाध्याय लगायतका जेनजी साथीहरूलाई कुटपिट गरेका हुन्।'
उनी अगाडि लेख्छन्, 'एमालेको कार्यक्रम परवानीपुरमा थियो। तर एमालेका गुन्डाहरू सिमरा आएर जेनजी साथीहरूको अपमान गर्ने, दुर्व्यवहार गर्ने र कुटपिट गर्ने काम गरेको तथ्य स्पष्ट हुँदाहुँदै कतिपयले गलत सूचना प्रवाह गर्ने प्रयास गरेका छन्। यो अत्यन्त भ्रामक, पूर्वाग्रही र आन्दोलनलाई बदनाम गर्न गरिएको दुष्प्रयास हो।'
यो त भयो जेनजी प्रतिनिधिहरूको कुरा। हामीले सिमरा विमानस्थलको झडप कसरी सुरू भयो भनेर राष्ट्रिय युवा संघका कार्यवाहक अध्यक्ष महाराज गुरूङलाई पनि सोधेका छौं। परवानीपुरमा जागरण अभियान कार्यक्रम संघले नै गरेको हो।
महाराज गुरूङ
उनले कार्यक्रममा भाग लिन काठमाडौंबाट आउन लागेका केन्द्रीय नेताहरूलाई स्वागत गर्न जाँदा सिमरा चोकमा प्रदर्शन गरिरहेका जेनजी समूहसँग धकेलाधकेल भएको बताए।
सिमरा चोकमा आयोजित जेनजी प्रदर्शनी रोक्न सुरूमा सम्झाइबुझाइ गरेको तर त्यसैबीच मधेसका नयाँ मुख्यमन्त्री सरोज यादवको विरोधमा कुरा उठेपछि धकेलाधकेल सुरू भएको गुरूङको भनाइ छ।
'हाम्रा साथीहरू काठमाडौंबाट आइरहेका अतिथिको स्वागत गर्न विमानस्थल जाँदै थिए। बाटोमा जेनजी समूहको प्रदर्शनी रहेछ। उनीहरूलाई कार्यक्रम नगर्न सम्झाइबुझाइ गरेका थियौं। तर त्यसै बीचमा मधेसमा बनेको एमाले सरकारविरूद्ध कुरा उठेपछि धकेलाधकेल भयो,' गुरूङले भने, 'मधेसमा एमाले सरकार बनेपछि त्यसविरूद्ध सात दल आन्दोलित छन्। त्यही कुरा नमिलेको बेला जेजी समूहहरू पनि त्यसमा छिरेपछि आजको घटना भएको हो।'
'हातपातभन्दा पनि ठेलमठेल भएको हो,' उनले भने।
दुवै पक्षबीच भएको झडपले कर्फ्यू लगाउनुपर्ने स्थिति कसरी आयो भनेर हामीले बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईलाई सोध्यौं।
उनले विमानस्थलको गेट अगाडि नै एमाले कार्यकर्ता र जेनजी प्रदर्शनकारीबीच झडप भएपछि विमानस्थलको सुरक्षालाई ध्यानमा राखेर कर्फ्यू लगाइएको बताए।
'दोहोरो झडपपछि स्थिति तनावपूर्ण भएको थियो। सिमरा विमानस्थल नै घेराउ र आक्रमण हुने खतरा देखिएपछि हामीले कर्फ्यू लगाएका हौं,' उनले भने।
यसबीच राष्ट्रिय युवा संघ नेपालले परवानीपुरमा जागरण सभा भने सञ्चालन गरेको थियो। एमाले मधेस इन्चार्ज लीलानाथ श्रेष्ठ, युवा संघ इन्चार्ज राजीव पहारी, युवा संघका अध्यक्ष क्षितिज थेवे, उपाध्यक्ष महाराज गुरूङ लगायतले सम्बोधन गरेका थिए।
महासचिव शंकर पोखरेल, पोलिटब्युरो सदस्य महेश बस्नेत लगायत नेताहरू भने सहभागी हुन पाएनन्। एमाले कार्यकर्ता र जेनजी समूहबीचको झडपले सिमरा विमानस्थल बन्द हुँदा उनीहरू काठमाडौंमै रोकिएका थिए।
***