मंगलबार पाँच दिनपछि सेयर बजारमा कारोबार रकम चार अर्ब नाघेपनि बुधबार यस्तो वृद्धि कायम रहन सकेन।
बुधबार बजार र कारोबार रकम दुवै घटेका छन्। बुधबार कारोबार रकम तीन अर्ब ७७ करोड रूपैयाँमा सीमित भएको छ।
मंगलबार चार अर्ब १० करोड रूपैयाँको सेयर किनबेच भएको थियो।
बुधबार साढे १२ बजेसम्म नेप्से परिसूचक अघिल्लो दिनकोभन्दा माथि नै रहेर कारोबार भइरहेकोमा त्यसपछि भने घट्न थाल्यो।
राजनीतिक कार्यक्रममा सहभागी हुन गएको एमाले दलको विराधमा जेनजी पक्षले विरोध गरेपछि बारामा तनावग्रस्त बन्यो र कर्फ्यू समेत लाग्यो।
देशमा मुठभेडको अवस्था सृजना हुने अवस्था बन्दै गएपछि लगानीकर्ता पनि अत्तालिएका हुन्।
सेयर बजार परिसूचक नेप्से बुधबार ४.९८ अंकले घटेको छ। बजार बन्द हुँदा नेप्से परिसूचक २५६१ विन्दुमा आएको छ।
यस दिन कारोबारमा आएका सबै समूह बढेका छन्। होटल, उत्पादनमूलक, सामूहिक लगानी कोष र व्यापार समूह मात्रै बढेका छन्। एक प्रतिशतभन्दा धेरैले बृद्धि हुनेमा होटल समूह मात्रै रह्यो।
यसदिन तीन सय ३८ लगानी उपकरण कारोबारमा आउँदा एक सय चार वटाको मूल्य बढेको छ। दुई सय २० वटाको मूल्य घटेको छ भने बाँकीको स्थिर छ।
हालै सूचीकरण भएकामध्ये चार कम्पनीमा हरेक दिनजसो मूल्य बढेर सर्किट ब्रेक लागेको छ।
सागर डिष्टिलरी, बुंगल हाइड्रो, दरम खोला हाइड्रो, र माबिलुङको सेयर मूल्य करिब १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको हो।
यसदिन हिम स्ट्रार उर्जा कम्पनीको सेयर मूल्य पनि बढेर सर्किट ब्रेक लागेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ।
कम्पनीको सेयर प्रतिकित्ता एक हजार सात सय ४५ रूपैयाँमा कारोबार भएको हो।
बरूण हाइड्रोको सबैभन्दा धेरै रकमको सेयर कारोबार भएको छ। कम्पनीको २७ करोड रूपैयाँको सेयर किनबेच भएको हो।