दुई पटक पार्टी उपाध्यक्ष भएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी यसपटक नेकपा एमालेको आन्तरिक राजनीतिमा रिङभित्र छैनन्।
गत साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटी बैठकले संगठित सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि भण्डारी एमालेको राजनीतिबाट बाहिर पुगेकी हुन्।
उनी आसन्न एघारौं महाधिवेशनमा प्रतिस्पर्धा गर्न चाहन्थिन्। यही चाल पाएपछि अध्यक्ष केपी शर्मा ओलीले चलाखीपूर्वक उनको पार्टी सदस्यता रोकिदिए। यसले भण्डारीको एमाले आउने बाटो बन्द भयो।
तर ओलीले भण्डारीलाई रोक्न जे–जस्तो रणनीति अपनाए पनि आसन्न महाधिवेशनमा भण्डारी ओलीविरूद्ध मोर्चाबन्दीको 'किङ मेकर' बन्ने निश्चित छ।
उनी रिङ बाहिरैबाट ओलीलाई चुनौती दिँदै छिन्।
भण्डारीको दर्बिलो साथ पाएको इतर समूहले ओलीलाई यसपटक 'नवौं महाधिवेशन बिर्साउने गरी' प्रतिस्पर्धा दिने तयारी गरिरहेको छ।
नवौं महाधिवेशनमा अध्यक्ष अोलीलाई प्रतिस्पर्धी माधवकुमार नेपालले कडा टक्कर दिएका थिए। ओली र नेपाल समूहबीच 'नेक टू नेक' प्रतिस्पर्धा भएको थियो। पदाधिकारीमा बहुमत नेपाल समूह निर्वाचित भएको थियो। अध्यक्षमा ४३ र महासचिवमा त ७ मतले मात्र हारजित भएको थियो। नेपाल ४३ मतले अध्यक्ष ओलीसँग पराजित भएका थिए भने महासचिवमा ईश्वर पोखरेलले ७ मतले सुरेन्द्र पाण्डेलाई पछाडि पारेका थिए।
यसपालि पूर्वराष्ट्रपति भण्डारीलाई सारथि बनाउँदै पोखरेल समूहले ओलीलाई त्यसै गरी चुनौती दिने रणनीति बनाइरहेको छ।
स्रोतका अनुसार महाधिवेशनलाई प्रतिस्पर्धात्मक बनाउन भण्डारी आफै निकट नेताहरूसँग छलफलमा खटिएकी छन्। उनले आफूनिकट नेता–कार्यकर्तासँग भेटघाट मात्र गरिरहेकी छैनन्, ओलीलाई चुनौती दिन नेताहरू तयार पारिरहेकी छन्।
मदन भण्डारीको हीरक जयन्तीको मूल व्यवस्थापन समितिका लागि भनेर खोलिएको थापागाउँस्थित कार्यालयमा अहिले यही विषयमा छलफल हुने गरेको स्रोत बताउँछ। इतर समूहको मुख्य छलफलको थलो यही हो।
एमालेका एक पदाधिकारीका अनुसार भण्डारी आफै अघि सरेर वरिष्ठ उपाध्यक्ष पोखरेललाई अध्यक्षको उम्मेदवारका रूपमा प्रस्तुत गर्दै छिन्।
गत असार १४ गते मदन भण्डारीको ७४औं जन्मजयन्तीका दिन पूर्वराष्ट्रपति भण्डारीले एमाले फर्किएको घोषणा गरेकी थिइन्। पोखरेलले त्यति बेला ओलीलाई चुनौती दिँदै भण्डारीलाई अघि सार्न भूमिका खेलेका थिए।
तर घटनाक्रमले पोखरेल आफै ओलीलाई चुनौती दिने ठाउँमा पुगेका छन्। कोअर्डिनेसन केन्द्रदेखि पार्टीमा रहँदै आएका, नेकपा मालेबाट एमाले बनाउन महत्त्वपूर्ण भूमिका खेलेका, आठौं र नवौं महाधिवेशनमा दुई कार्यकाल महासचिव भएका र दसौंबाट वरिष्ठ उपाध्यक्षसम्म आइपुग्दा आन्दोलनको लामो यात्रा तय गरिसकेका पोखरेलले यो अवसर गुमाउन चाहेका छैनन्।
त्यसैले संस्थापनइतर समूहले आगामी मंसिर ८–९ गते पोखरेललाई अध्यक्षको उम्मेदवार घोषणा गर्दैछ। त्यो पनि भण्डारीकै उपस्थितिमा।
स्रोतका अनुसार इतर समूहले त्यस दिन अध्यक्षमा मात्र उम्मेदवारी घोषणा गर्नेछ, बाँकी पदाधिकारीका उम्मेदवार प्रतिनिधि छनौटपछि तय हुनेछ।
यो समूहले आफ्नो दस्तावेज प्रस्तुत गर्ने तयारी पनि गरेको छ। भदौ २३ र २४ को वस्तुपरक समीक्षा गर्दै मुलुकको राजनीतिक सिंहावलोकन गरिने एक पदाधिकारीले दाबी गरे।
'अध्यक्ष ओलीले नीतिमा बहस हुँदैन भनेर संकेत गरिसक्नुभएको छ। अझ मैले निर्देशनात्मक मन्तव्य दिएपछि महाधिवेशन नेतृत्व चयनको प्रक्रियामा अघि बढ्छ भन्दै बहसको बन्ध्याकरण गर्ने शैली अपनाउँदै हुनुहुन्छ,' ती नेताले भने, 'तर हामी त्यस्तो हुन दिने छैनौं। यो महाधिवेशनमा घनिभूत छलफल हुनेछ। हामी पूरक मत अघि सार्छौं। महाधिवेशन प्रतिस्पर्धात्मक हुनेछ।'
पार्टी उपाध्यक्ष युवराज ज्ञवाली अहिले दस्तावेज लेखनमा छन्। इतर समूहका अरू नेताहरूले उनलाई सघाइरहेका छन्। भण्डारीको साथ त छँदै छ।
खासमा उपाध्यक्ष पोखरेलको समूह अहिले नै उम्मेदवारी घोषणा गर्ने मनसायमा थिएन। पार्टीभित्र अरू ध्रुवीकरण बढोस् भन्ने चाहिरहेका थिए। ओली समूहमा रहे पनि आलोचनात्मक समर्थन गरिरहेका उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरूङहरू विपक्षमै उभिने अवस्था बनाउने उनीहरूको योजना थियो।
तर मंसिर १३ गते एमालेले देशभर एकैदिन प्रतिनिधि छान्दैछ। त्यसअगावै उम्मेदवारी घोषणा गर्दा तलबाटै प्रतिनिधि बाँडिएर आउन सक्ने अवस्थालाई ध्यानमा राखेर उनीहरूले छिट्टै उम्मेदवारी घोषणा गर्ने तयारी थालेको एक पदाधिकारीले बताए।
'उम्मेदवारी घोषणा गरौं भन्ने छलफल भएको हो, यकिन भएको छैन,' अर्का एक पदाधिकारीले सेतोपाटीसँग भने।
आसन्न महाधिवेशनमा ओलीले पार्टीभित्र आफू बलियो रहेको देखाउन बहस र छलफल नहोस् भन्ने चाहेका छन्। विधान महाधिवेशनले तय गरेको नीति हेरफेर नहोस् भन्ने पनि चाहन्छन्। नेतृत्व चयनमा पनि उनले सकेसम्म दसौं महाधिवेशनकै विधि तय गर्नेछन्।
केन्द्रीय कमिटीमा त्यसै पनि उनी उल्लेख्य बहुमतमा छन्। भूगोलबाट चुनिएर आउने प्रतिनिधि संख्या करिब ९७० मात्र हुनेछ। दुई हजार १०० हाराहारीमध्ये आधाभन्दा बढी अरू निकाय र क्षेत्रबाट चुनिएर आउनेछन्।
भूगोलको संख्या घटाउनुका कारण पनि ओलीले त्यहाँ चुनौती देखेको एमालेका पदाधिकारी बताउँछन्।
भूगोलमा ओलीइतर पक्ष बलियो नै छ। त्यसैले ओलीको प्रतिस्पर्धामा ओर्लिन खोजेको समूह केन्द्रीय कमिटी र निकायलाई आफूअनुकूल बनाउने प्रयत्नमा लागेको छ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले पनि महाधिवेशनलाई बहसको थलोका रूपमा उपयोग गर्न प्रतिनिधिहरूलाई आह्वान गरिसकेका छन्।
'भदौ २३–२४ पछि परिस्थितिमा व्यापक परिवर्तन आएको छ। राजनीतिक अवस्था, राजनीतिक दल, सरकार, संसद जस्ता संस्थाहरू हिजोको अवस्थामा छैनन्। हिजोका हाम्रा कतिपय निष्कर्षले वर्तमान र भविष्यलाई सही ढंगले मार्गनिर्देशन गर्न सक्दैन। हामीले आफूलाई अद्यावधिक गर्न आवश्यक छ,' पोखरेलले भनेका छन्।
भदौ २३ र त्यसपछि उत्पन्न परिस्थितिको गम्भीर समीक्षा गरी नयाँ कार्यदिशाका साथ अघि बढ्नुपर्ने आवश्यकता रहेको उनले बताएका छन्।
'आगामी एघारौं राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव, विधान लगायतका विषयमा थप बहस र नयाँ निष्कर्षको आवश्यकता देखिएको छ,' उनले भनेका छन्, 'जबजको संगठनात्मक सिद्धान्तअनुसार उत्साह र निर्भयताका साथ प्रतिनिधि छनोटमा सहभागी बन्न पनि सम्पूर्ण पार्टी सदस्यहरूलाई म अपिल गर्छु।'
पोखरेलको यो आह्वान बहसविहीन महाधिवेशन खोजिरहेका ओलीलाई ठाडै चुनौती पनि हो।
'हामी मिहीन ढंगले गृहकार्य गरिरहेका छौं,' एक पदाधिकारीले सेतोपाटीसँग भने, 'यो महाधिवेशनमा हामी परिणाम निकाल्छौं।'
यसबीच साउन ५–६ गतेयता बसेका पार्टी सचिवालय बैठक र केन्द्रीय कमिटी बैठकमा भण्डारीको सदस्यताको विषय उठिरहेकै छ। सचिवालयका बहुसंख्यक सदस्य भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने पक्षमा उभिएका छन्। केन्द्रीय कमिटीमा पनि ६० भन्दा बढी सदस्यले भण्डारीको सदस्यता रोक्न नहुने धारणा राखे पनि ओली निर्णय परिवर्तन गर्ने पक्षमा छैनन्।
दसौं केन्द्रीय कमिटी बैठकको समापनमा अध्यक्ष ओलीले ‘भण्डारीसँग मै कुरा गरौंला, कोही माइती बनेर आउनुपर्दैन’ भन्दै छेडखानी गरेका थिए। तर उनले अहिलेसम्म भण्डारीसँग सदस्यताबारे कुरा गरेका छैनन्।
त्यही केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले भण्डारीले प्रक्रियासंगत ढंगले निवेदन दिए नयाँ सदस्यता दिन सकिने बताएका थिए। यस कारण पनि ओली भण्डारीलाई पार्टीमा फर्काउन चाहँदैनन् भन्ने पुष्टि हुन्छ। भण्डारीले नयाँ सदस्यता लिए सदस्यता त्यागको प्रक्रियामा जान्छ। सदस्यता लिएकै वर्ष उनी महाधिवेशनमा उम्मेदवार बन्न पाउँदिनन्।
ओलीले यसो गर्न पनि सक्छन् भनेर भण्डारी पक्ष सशंकित छ। यही शंकाका कारण पनि उनी ओलीलाई चुनौती दिन नेताहरू तयार पार्ने छलफलमा लागेको स्रोत बताउँछ।
***