जेनजी आन्दोलन र त्यसपछि विकास भएका घटनाक्रमले लगानीको वातावरण थप धुमिल भइरहेको छ।
आन्दोलनको प्रत्यक्ष प्रभाव परेका ठूला व्यवसायीहरू अब फेरि उठ्ने बताइरहेका छन्। यो भनाइसँगै व्यावसायिक वातावरणमा सुधार हुने अपेक्षा धेरैको छ।
तर संक्रमणकालीन अवस्थाले लगानीकर्ताहरू थप लगानी गर्न हिच्किचाइरहेकै छन्। अहिले अर्थतन्त्रका मुख्य खेलाडी मानिने वित्तीय क्षेत्रमा तत्कालीन नै भए पनि संकट देखिएको छ।
बैंक, सेयर बजार र बीमा क्षेत्रका वित्तीय विवरण, यिनमा भइरहेका गतिविधिले पनि यी क्षेत्र तंग्रिन नसकिरहेको देखाएको छ।
उठ्नै सकेन बैंकहरूको कर्जा
बैंकहरूको कर्जा उठ्ने दर यस आन्दोलनपछि थप सुस्तिएको छ। यही कारण चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० मध्ये १४ वाणिज्य बैंकको नाफा उच्च दरमा घटेको छ। यिनीहरूको नाफा २ प्रतिशतदेखि ९६ प्रतिशतसम्म घटेको हो। एउटा बैंक त नोक्सानमै गएको छ।
बैंकहरूबाट गएको कर्जा उठ्न नसक्दा पनि नाफामा प्रभाव परेको हो। कर्जा नउठेकै कारण बैंकहरूले जोखिमका लागि राखेको प्रावधान ११ अर्बबाट बढेर २० अर्ब रूपैयाँ पुगेको छ।
बैंकहरूको उठ्न नसकेको कर्जा रकम सात अर्ब ३० करोड रूपैयाँ पुगेको छ।
लामो समयदेखि कर्जा विस्तारमा समस्या आइरहेकामा अहिले यो समस्या थप चुलिएको छ। गत असारको तुलनामा हालसम्ममा बैंकहरूबाट गएको कर्जा मात्रै २.७ प्रतिशतले वृद्धि भएको छ। कर्जा लगानी ५४ खर्ब ९७ अर्बबाट बढेर ५६ खर्ब ४५ अर्ब रूपैयाँ पुगेको हो।
रेमिटेन्स बढिरहँदा निक्षेप रकम भने ७५ खर्ब रूपैयाँ पुगेको छ। बैंकहरूसँग अहिले ११ खर्ब रूपैयाँ बराबर कर्जा लगानी योग्य रकम छ। बैंकहरूबाट कर्जा नगएकै कारण उनीहरूले राष्ट्र बैंकमा लगेर राख्ने रकम आठ खर्ब रूपैयाँ नाघिसकेको छ।
सेयर बजारमा छैनन् ठूला लगानीकर्ता
गत भदौ २४ गते सेयर बजार परिसूचक नेप्से २६ सय विन्दुभन्दा माथि थियो। आन्दोलनपछिको १० दिनपछि बजार खुल्दा नेप्से एक सयभन्दा उच्च अंकले घट्यो। तर भोलिपल्टै बजार एक सय अंकले नै सुधार भयो।
कोभिडकालीन समयमा जस्तै अर्थतन्त्र संकटमा पर्दा अन्य लगानी क्षेत्र संकुचित हुन्छन् र सेयर बजार बढ्छ भन्ने मानसिकताले काम गर्दा बजार तत्कालै यू–टर्न भयो।
त्यसपछि भने बजारमा जेनजी आन्दोलनको खास प्रभाव देखिन थाल्यो। जबकि त्यसपछि बजारलाई सकारात्मक प्रभाव पार्ने केही काम पनि भयो।
सो समय राष्ट्र बैंकले सेयर धितो कर्जामा रहेको अधिकतम २५ करोड रूपैयाँसम्मको सीमा हटायो। पहिल्यैदेखि सुस्त रहेको बैंकहरूको कर्जा लगानी बढ्न थप समस्या भयो। यसले गर्दा बैंकहरूले निक्षेपमा पनि कम ब्याजदर दिन थाले।
अहिले ब्याजदर दशकयताकै न्युन विन्दुमा आइपुगेको छ। बैंकहरूले औसत ५.२ प्रतिशत ब्याजदर दिइरहेका छन्।
निक्षेपको ब्याजदर घट्दा सेयर बजार बढ्ने र ब्याजदर बढ्दा सेयर बजार घट्ने प्रवृत्ति नेपालमा मात्रै होइन, विश्व बजारमै प्रमाणीत सिद्धान्त हो। तर यो सिद्धान्त अहिले नेपालको परिवेशमा असफल भएको छ।
बजारमा अन्य कुराको प्रभाव रहेकाले पनि यी सकारात्मक प्रभावले काम गर्न नसकेको हो।
'बजार पटक पटक बढ्ने प्रयासमा देखिए पनि सफल हुन सकिरहेको छैन,' एक ब्रोकरले भने, 'यसको मुख्य कारण मुलुकको अवस्था, सुरक्षा लगायतका विषयमा लगानीकर्तामा आत्मविश्वास नदेखिएकैले हो।'
पछिल्लो समय ठूला उद्योगी, व्यवसायी घरानाका लगानीकर्ताहरू बजारमा कारोबार गर्न डराइरहेको उनको दाबी छ।
'भदौ २४ गते ठूला व्यवसायिक घरानाहरूमा र व्यवसायीमाथि व्यक्तिगत तवरमै आक्रमण भएपछि केही व्यवसायी अहिले बजारमा सक्रिय छैनन्। यसले पनि कारोबार र बजार बढ्न सकिरहेको छैन,' ती ब्रोकरले भने।
उनको दाबीलाई बजारमा घट्दो कारोबार रकमले पनि पुष्टि गरिरहेको छ। जेनजी आन्दोलनपछि दुई पटकसम्म (दुई दिन) नौ अर्ब माथि गए पनि अधिकांश दिन औसत चार–पाँच अर्ब रूपैयाँ बराबरको कारोबारमा सीमित भएको छ। पछिल्लो पाँच दिनयता त कारोबार रकम चार अर्ब रूपैयाँ नाघ्न सकेको छैन।
सबभन्दा धेरै मारमा बीमा कम्पनी
जेनजी आन्दोलनको सबभन्दा धेरै प्रभाव परेको क्षेत्र हो बीमा।
आन्दोलनका कारण सरकारी र निजी क्षेत्रमा मात्रै कुल ७८ अर्ब रूपैयाँको क्षति भएको सरकारी तथ्यांक छ।
सबै सम्पत्तिको बीमा नगरिएकाले बीमा कम्पनीहरूमा यो सबै क्षतिको दाबी भने परेन। तर जति दाबी पर्यो, बीमा कम्पनीहरूको वासलात बिगार्न पर्याप्त नै भयो।
बीमा कम्पनीहरूमा यो आन्दोलनको कारण भएको क्षतिबाट मात्रै २३ अर्ब ४६ करोड रूपैयाँभन्दा बढीको दाबी परेको छ।
दाबी परेका निर्जीवन बीमा कम्पनीहरूमा १२ वटा बीमा कम्पनी चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा नोक्सानमा गएका छन्।
१४ वटा जीवन बीमा कम्पनी र चार निर्जीवन बीमा कम्पनीमध्ये १२ वटा नोक्सानमै देखिएका हुन्। कम्पनीहरू आठ करोडदेखि २९ करोड रूपैयाँसम्म नोक्सानमा देखिएका छन्।
नेपाल बीमक संघका पूर्वअध्यक्ष तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका सिइओ चंकी क्षत्रीका अनुसार यस पटक असोज मध्यमा आएको बाढी, भदौको आन्दोलनको कारण अन्य समयमा भन्दा धेरै दाबी परेको छ।
'बैंकहरूले निक्षेपमा दिने ब्याजदर न्यून भएकाले, कम्पनीहरूको ब्याजबाट भइरहेको आम्दानी पनि घटेको छ। नाफा घट्ने कारणमध्ये यो पनि एक हो,' उनले भने।