सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सबैभन्दा बढी समर्थक भएको टोली हो सुदूरपश्चिम रोयल्स।
सुदूरपश्चिमले यो सिजनको पहिलो खेलमा बुधबार काठमान्डु गोर्खाजसँग भिड्नुअघि नै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा समर्थकको निकै चहलपहल थियो। खेलका लागि निर्धारित १० हजार टिकट बिहानै बिक्री भइसकेको थियो।
अपरान्ह चार बजे काठमाडौंले टस जितेर पहिले ब्याटिङको निम्तो दिएपछि मैदान उत्रिएको सुदूरपश्चिको सुरूवात भने राम्रो हुन सकेन। सुदूरपश्चिमले लगातार विकेट गुमाइरहँदा उसका हजारौं समर्थकहरू निराश बनेका थिए।
१४औं ओभर चलिरहँदा सुदूरपश्चिमले आफ्ना ६ महत्वपूर्ण विकेट गुमाइसकेको थियो भने ७२ रन मात्र जोडेको थियो। यस्तो कठिन परिस्थितिमा सुदूरपश्चिमको ब्याटिङ सम्हाल्न भारतीय मूलका अमेरिकी बलिङ अलराउन्डर हर्मित सिंह क्रिजमा आए।
उनको आगमनसँगै सुदूरपश्चिमको रनले गति लिन थाल्यो भने समर्थकको उत्साहको पारो एकाएक बढ्न थाल्यो। उनले १९ बलमै अर्धशतक पूरा गरेर खेलको अवस्थानै उल्टाइदिए र सुदूरपश्चिमलाई प्रतिस्पर्धात्मक लक्ष्यतर्फ डोहोर्याए।
उनको आक्रामक ब्याटिङमा सुदूरपश्चिमले १४७ रन बनायो। हर्मितले बलिङमा पनि योगदान दिन सफल भए।
उनले काठमाडौंका लागि सर्वाधिक रन बनाएका आकाश त्रिपाठी (३४ रन) र आदिल अन्सारी (०) लाई १२औं ओभरको पाँचौंमा क्याच र एलबिडब्लू आउट गर्दा खेल सुदूरपश्चिमतर्फ मोडिएको थियो। अन्तत: उनी सुदूरपश्चिमले निकालेको २९ रनको जितमा नायक सावित भए।

हाल अमेरिकाको राष्ट्रिय टोलीबाट खेलिरहेका हर्मित भारतको मुम्बईमा जन्मिएका हुन्। ३३ वर्षीय बायाँ हाते अलराउन्डर हर्मितले भारतका लागि सन् २०१० र २०१२ गरी दुई पटक आइसिसी यू-१९ विश्वकप खेलेका थिए।
उनी भारतको यू-१९ टोलीमा परेको बेला निकै चर्चामा थिए। बलिङ गर्दा टाउको स्थिर राख्ने, बललाई घुमाएर फ्याँक्ने जस्ता खुबी भएका हर्मितले त्यति बेलाका प्रशिक्षक तथा खेलाडीहरूबाट निकै प्रशंसा पाएका थिए।
२०१० को पहिलो यू-१९ मा उनले अपेक्षाकृत भने खेल्न सकेका थिएनन्। न्युजिल्यान्डमा भएको उक्त विश्वकपमा महँगो सावित भए भने दुई वर्षपछि उनले भारतीय टोलीमा पुनरागमन गरेका थिए। तर बिरामी भएपछि उनले केही खेल गुमाए। तैपनि ३.०२ को इकोनोमी रेटसहित उत्कृष्ट प्रदर्शन गरे।
उन्मुक्त चन्दको कप्तानीमा भारतले घरेलु टोली अस्ट्रेलियालाई पराजित गरेर उपाधि जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए।
मुम्बईको यू-१६ र यू-१९ टोलीको नेतृत्व गरेका हर्मितले हिमाचल प्रदेशविरुद्धको खेलमा सात विकेट लिँदै उत्कृष्ट 'फर्स्ट-क्लास' डेब्यू गरेका थिए। सो खेलमा मुम्बई विजयी भएको थियो। २०१०-११ को सिजनमा तमिलनाडुविरुद्ध खेलेको आफ्नो तेस्रो खेलमा उनले पहिलो पटक एकै इनिङमा पाँच विकेट लिएका थिए। तर त्यसपछि उनको प्रदर्शन खस्कदै गएको थियो।
हर्मित आइपिएल टोली राजस्थान रोयल्समा समेत आबद्ध भएका थिए। तर एक खेलमा मात्र उनले मौका पाउन सके। २०१३ को आइपिएल स्पट-फिक्सिङ विवाद बाहिर आउदा उनी पनि मुछिएका थिए।
एक बुकीले हर्मितलाई पनि यसमा मुछ्न खोजेको तर खेलाडी धेरै सानो उमेरको भएकाले कुरा नमिलेको बताएका थिए। त्यसपछि बीसीसीआईले हर्मितमाथि छानबिन गर्यो। तर उनी निर्दोष साबित भएर सफाइ पाए।
त्यसपछि उनी अमेरिका गए। अमेरिकाको घरेलु क्रिकेट हुँदै उनले त्यहाँको फ्रेञ्चाइज टी-२० लिग मेजर लिग क्रिकेट विगत तीन सिजनदेखि सियाटलबाट खेल्दै आएका छन्। सन् २०२४ मा उनले अमेरिकाको राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए। गत वर्ष नै उनले अमेरिकाको टोलीबाट टी-२० विश्वकप पनि खेलेका थिए।
गत सिजनका पछिल्ला खेलमा सुदूरपश्चिमका लागि खेलेका हर्मितले यो सिजनको पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेपछि प्रशिक्षक जगत टमाटाले प्रशंसा गरे। ‘हर्मितले उत्कृष्ट इनिङग्स खेलेँ। उनलाई जुन भूमिका दिइएको थियो। उनले राम्रोसँग निर्वाह गर्न सफल भए,’ काठमान्डुविरूद्धको खेलपछि प्रशिक्षक टमटाले भने, ‘उसले १९ बलमै अर्धशतक प्रहार गर्दा प्रतिस्पर्धात्मक स्कोर बन्यो। त्यसपछि हामीलाई बलिङबाट केही गर्न सक्ने आशा पलायो।’
टमाटाले अघि भने, ‘करण केसीको ओभरमा हर्मितले जुन स्टार्ट दियो। उसलाई १५ ओभरपछि दीपेन्द्रसँग खेलेर आउने भूमिका दिएका थियौं।’

खराब सुरूवात गरेको सुदूपश्चिमका लागि हर्मित सिंहले १९ बलमै अर्धशतक पूरा गरेका थिए। अर्धशतक प्रहार गरे लगत्तै आउट भएका हर्मितले २ चौका र ६ छक्का प्रहार गर्दा ५३ रन बनाए।
कप्तान दीपेन्द्रसिंह ऐरीले हर्मितसँग सातौं विकेटका लागि ४.१ ओभरमा ६१ रनको साझेदारी गरेका थिए। यहि साझेदारी सुदूरपश्चिमका लागि महत्वपूर्ण सावित भयो। दीपेन्द्रले १८औं ओभरमा आउट हुनुअघि ३० बलमा ३९ रनको योगदान गरे। उनले ३ चौका र १ छक्का प्रहार गरे।
त्यसअघि पहिलो ओभरमै काठमान्डुका कप्तान करण केसीले दुई विकेट लिएपछि सुदूरपश्चिम सुरूमै दबाबमा पर्यो। दोस्रो बलमा अस्ट्रेलियन ब्याटर जोश ब्राउनलाई करणले शून्यमा एलबिडब्लूको धरापमा पारे।
ओभरको अन्तिम बलमा विनोद भण्डारी पनि भीम सार्कीबाट समातिए। तेस्रो ओभरमा करणले अर्का अस्ट्रेलियन ब्याटर क्रिस लिनलाई दुई रनमा मिलिन्द कुमारबाट क्याच गराए। त्यसपछि इशान पाण्डेलाई मिलिन्द कुमारले पावरप्लेको अन्तिम बलमा ११ रनमा आउट गरे।
पावरप्लेमा सुदुरपश्चिमले चार विकेट गुमाउँदा २७ रन मात्र जोडेको थियो। लगातार विकेट गुमाएको सुदूरपश्चिमका नरेश साउदले १२ बलमा ६ रन मात्र जोड्न सके। पहिलो दुई ओभरमा दुई रन खर्चिएर तीन विकेट लिएका करणले १७औं ओभरमा आफ्नो तेस्रो स्पेल गरेका थिए। तर यो ओभरमा उनले २४ रन खर्चिएका थिए।
करणलाई हर्मितले पहिलो बलमा चौका प्रहार गर्दा त्यसपछि लगातार तीन छक्का हिर्काएका थिए। अघिल्लो ओभरमा हर्मितले मिलिन्द कुमारविरूद्ध पनि तीन छक्का प्रहार गर्दा सुदूरपश्चिमलाई निकै राहत भएको थियो।
सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याएको काठमाडौं १६.५ ओभरमा ११८ रनमै अलआउट भयो। उसका लागि ओपनर आकाश त्रिपाठीले सबैभन्दा बढी ३४ रन जोड्न सके।
काठमाडौंले राम्रो सुरूवात भने गर्न सकेन। उसका ओपनिङ ब्याटर बेन चार्ल्सवेथ दोस्रो ओभरमा सुदूरपश्चिमका हेमन्त धामीको बलमा विकेटकिपर विनोद भण्डारीबाट समातिए। धामीले आफ्नो दोस्रो स्पेलमा भीम सार्कीलाई पनि १२ रनमा क्याच गराएपछि सुदूरपश्चिमले चाहेको सुरूवात गर्यो।
यस्तै सन्तोष यादवलाई अर्को ओभरमा रनआउट गरेपछि सुदूपश्चिम सुरुमा हाबी भयो। त्यसपछि ओपनर आकाश त्रिपाठी र जोन सिमसनले काठमान्डुको इनिङ सम्हाल्न खोजे।
सिमसन ११औं ओभरमा २४ रन बनाएको स्थितिमा इशान पाण्डेको एलबिडब्लूको धरापमा परे। उनले आकाशसँग चौथो विकेटका लागि ४९ रनको साझेदारी गरेका थिए। तर अर्को ओभरमा आकाश त्रिपाठीलाई हर्तिम सिंहले ३४ रनमा पेभिलियनको बाटो देखाए। जोश ब्राउनबाट क्याच हुनुअघि आकाशले ३० बलमा १ चौका र २ छक्का प्रहार गरे। लगत्तैको बलमा हर्मितले आदिल अन्सारीलाई एलबिडब्लूको धरापमा पार्दै डकआउट गर्दा सुदूपश्चिम हाबी भयो।
त्यसपछि मिलिन्द कुमार ११ रनमा र रशिद खान ६ रनमा आउट भए। करण केसी पनि १ रनभन्दा बढी जोड्न सकेनन्। अन्तिम विकेटको रुपमा सनी पटेल १० रन बनाए। बलिङमा सुदूरपश्चिमका स्कट कुगेइलिन, हेमन्त धामी र हर्मित सिंहले २-२ विकेट लिए।
०००