सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा साविक उपविजेता सुदूरपश्चिम रोयल्सले उत्कृष्ट जित निकालेको छ।
सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सुदूरपश्चिमले काठमान्डु गोर्खाजलाई २९ रनले पराजित गरेको छ। पहिलो खेलमा साविक विजेता जनकपुर बोल्टलाई हराएको काठमान्डुको यो पहिलो हार हो।
सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याएको काठमाडौं १६.५ ओभरमा ११८ रनमै अलआउट भयो। उसका लागि ओपनर आकाश त्रिपाठीले सबैभन्दा बढी ३४ रन जोड्न सके।
काठमाडौंले राम्रो सुरूवात भने गर्न सकेन। उसका ओपनिङ ब्याटर बेन चार्ल्सवेथ दोस्रो ओभरमा सुदूरपश्चिमका हेमन्त धामीको बलमा विकेटकिपर विनोद भण्डारीबाट समातिए। धामीले आफ्नो दोस्रो स्पेलमा भीम सार्कीलाई पनि १२ रनमा क्याच गराएपछि सुदूरपश्चिमले चाहेको सुरूवात गर्यो।
यस्तै सन्तोष यादवलाई अर्को ओभरमा रनआउट गरेपछि सुदूपश्चिम सुरुमा हाबी भयो। त्यसपछि ओपनर आकाश त्रिपाठी र जोन सिमसनले काठमान्डुको इनिङ सम्हाल्न खोजे।
सिमसन ११औं ओभरमा २४ रन बनाएको स्थितिमा इशान पाण्डेको एलबिडब्लूको धरापमा परे। उनले आकाशसँग चौथो विकेटका लागि ४९ रनको साझेदारी गरेका थिए। तर अर्को ओभरमा आकाश त्रिपाठीलाई हर्तिम सिंहले ३४ रनमा पेभिलियनको बाटो देखाए। जोश ब्राउनबाट क्याच हुनुअघि आकाशले ३० बलमा १ चौका र २ छक्का प्रहार गरे। लगत्तैको बलमा हर्मितले आदिल अन्सारीलाई एलबिडब्लूको धरापमा पार्दै डकआउट गर्दा सुदूपश्चिम हाबी भयो।
त्यसपछि मिलिन्द कुमार ११ रनमा र रशिद खान ६ रनमा आउट भए। करण केसी पनि १ रनभन्दा बढी जोड्न सकेनन्। अन्तिम विकेटको रुपमा सनी पटेल १० रन बनाए। बलिङमा सुदूरपश्चिमका स्कट कुगेइलिन, हेमन्त धामी र हर्मित सिंहले २-२ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको काठमान्डुले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम २० ओभरमा १४७ रनमा अलआउट भयो।
खराब सुरूवात गरेको सुदूपश्चिमका लागि हर्मित सिंहले १९ बलमै अर्धशतक पूरा गरेका थिए।
अर्धशतक प्रहार गरे लगत्तै आउट भएका हर्मितले २ चौका र ६ छक्का प्रहार गर्दा ५३ रन बनाए।
त्यसअघि हर्मितले ४९ रनमा जीवनदान पाएका थिए। १८औं ओभरको अन्तिम बलमा काठमान्डुका रशिद खानविरूद्धको उनको प्रहार आकासिँदा भीम सार्कीले क्याच छाडेका थिए।
कप्तान दीपेन्द्रसिंह ऐरीले हर्मितसँग सातौं विकेटका लागि ४.१ ओभरमा ६१ रनको साझेदारी गरेका थिए। यहि साझेदारी सुदूरपश्चिमका लागि महत्वपूर्ण सावित भयो। दीपेन्द्रले १८औं ओभरमा आउट हुनुअघि ३० बलमा ३९ रनको योगदान गरे। उनले ३ चौका र १ छक्का प्रहार गरे।
त्यसअघि पहिलो ओभरमै काठमान्डुका कप्तान करण केसीले दुई विकेट लिएपछि सुदूरपश्चिम सुरूमै दबाबमा पर्यो। दोस्रो बलमा अस्ट्रेलियन ब्याटर जोश ब्राउनलाई करणले शून्यमा एलबिडब्लूको धरापमा पारे।
ओभरको अन्तिम बलमा विनोद भण्डारी पनि भीम सार्कीबाट समातिए। तेस्रो ओभरमा करणले अर्का अस्ट्रेलियन ब्याटर क्रिस लिनलाई दुई रनमा मिलिन्द कुमारबाट क्याच गराए। त्यसपछि इशान पाण्डेलाई मिलिन्द कुमारले पावरप्लेको अन्तिम बलमा ११ रनमा आउट गरे।
पावरप्लेमा सुदुरपश्चिमले चार विकेट गुमाउँदा २७ रन मात्र जोडेको थियो। लगातार विकेट गुमाएको सुदूरपश्चिमका नरेश साउदले १२ बलमा ६ रन मात्र जोड्न सके। पहिलो दुई ओभरमा दुई रन खर्चिएर तीन विकेट लिएका करणले १७औं ओभरमा आफ्नो तेस्रो स्पेल गरेका थिए। तर यो ओभरमा उनले २४ रन खर्चिएका थिए।
करणलाई सुदूरपश्चिमका अमेरिकी ब्याटर हर्मित सिंहले पहिलो बलमा चौका प्रहार गर्दा त्यसपछि लगातार तीन छक्का हिर्काएका थिए।
अघिल्लो ओभरमा हर्मितले मिलिन्द कुमारविरूद्ध पनि तीन छक्का प्रहार गर्दा सुदूरपश्चिमलाई निकै राहत भएको थियो।
बलिङमा काठमान्डुका करण केसीले ४ विकेट लिए। उनले ४ ओभरमा ३० खर्चिए। रशिद खान, मिलिन्द कुमार र सनी पटेलले २-२ विकेट लिए।
प्रतियोगितामा बिहीबार लुम्बिनी लायन्स र चितवन राइनोजबीच अपरान्ह चार बजे खेल हुनेछ। लुम्बिनीले पहिलो खेल खेल्न लागेको हो भने चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई पराजित गरेको थियो।