बुङ्गल हाइड्रो लिमिटेडले यही भदौ १६ गतेदेखि आइपिओ जारी गर्ने भएको छ।
कम्पनीले सर्वसाधारणका लागि आइपिओ जारी गर्न लागेको हो।
यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गरेको आइपिओ बाँडफाँट भइसकेको छ।
कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि १७ करोड १ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यका १७ लाख १ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो।
आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।
एसजी ग्रुप अन्तर्गतको यस कम्पनीले बझाङ जिल्लामा १०.७ मेगावाट क्षमताको सानीगाड जलविद्युत् आयोजना निर्माण गरेको थियो। उक्त आयोजनाले २०८० भदौ २ गतेदेखि नै व्यावसायिक उत्पादन गरिरहेको छ।