आज अर्थात् सोमबारबाट समता घरेलु लघुवित्त कम्पनीले प्रतिकित्ता एक सय रूपैयाँको दरमा थप सेयर निष्कासन (एफपिओ) जारी गरेको छ।
हाल सेयर बजारमा भने कम्पनीको प्रतिकित्ता सेयर आठ सय ५२ रूपैयाँमा कारोबार भइरहेको छ।
कम्पनीले तीन लाख ५० हजार ९०४ कित्ता सेयर निष्कासन गरिरहेको हो।
एकपटक सर्वसाधारणमा सेयर जारी गरिसकेका कम्पनीहरूले फेरि सर्वसाधारणमा सेयर जारी गर्नुपरेमा एफपिओ गर्छन्। आइपिओ जस्तै गरेर यसमा पनि सर्वसाधारणले पनि आवेदन दिन पाउँछन्।
पहिलो पटक सेयर जारी गर्दा प्राथमिक सेयर निष्कासन अर्थात् इनिसियल पब्लिक अफरिङ (आइपिओ) भनिन्छ।
एक पटक यसरी सेयर निष्कासन गरिसकेकाले पुनः सेयर निष्कासन गर्दा त्यसलाई थप सेयर निष्कासन अर्थात् फर्दर पब्लिक अफरिङ (एफपिओ) भनिन्छ।
नेपालमा सामान्यतः आइपिओ अंकित मूल्य अर्थात् सय रूपैयाँमा जारी गर्ने व्यवस्था छ। तर, चाहने कम्पनीहरूले प्रिमियम मूल्यमा वा योग्य संस्थागत लगानीकर्ताहरूले बिडिङ गरेर निकालेको मूल्यमा १० प्रतिशत कम गरेर समेत सेयर जारी गर्न सकिने व्यवस्था छ।
एफपिओको क्रममा भने अंकित मूल्यमा वा प्रिमियम मूल्यमा सेयर जारी गर्ने गरिन्छ। प्रिमियम मूल्यमा सेयर जारी गर्दा कम्पनीको नेटवर्थ लगायतका विभिन्न मापदण्डलाई आधार मानिन्छ।
त्यस्तै, एफपिओ गर्दा विभिन्न शर्त पूरा भएको हुनुपर्छ।
विगत पाँच वर्षमा कम्तीमा पछिल्लो तीन वर्ष खुद मुनाफामा रहेको, प्रतिसेयर नेटवर्थ प्रतिसेयर चुक्ता पुँजीभन्दा बढी भएको हुनुपर्छ।
आइपिओ भएको तीन वर्ष पूरा भएको, वार्षिक साधारण सभाबाट एफपिओ प्रस्ताव पारित भएको हुनुपर्छ भने अंकित मूल्यभन्दा बढी मूल्यमा निष्कासन गर्ने भएमा मूल्य निर्धारण गरिएको विधि र सोको औचित्य पुष्टि गर्ने आधार उल्लेख भएको हुनुपर्छ।
पछिल्लो समय यसरी प्रिमियम मूल्य तोक्दा कम्पनीको नेटवर्थभन्दा धेरै नहुने गरेर मूल्य तोक्नुपर्ने व्यवस्था छ। हाल कम्पनीको प्रतिसेयर नेटवर्थ एक सय ३० रूपैयाँ ९७ पैसा र प्रतिसेयर आम्दानी ६ रूपैयाँ ३० पैसा छ।
कम्पनीले बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणमा कम्तीमा ३० प्रतिशत सेयर जारी गर्नुपर्ने व्यवस्था अनुसार अनुपात मिलाउन एफपिओ जारी गरेको हो।
सेयर निष्कासनसँगै कम्पनीको संस्थापकहरूसँग ६९.४८ प्रतिशत र सर्वसाधारणमा ३०.५२ प्रतिशत सेयर स्वामित्व पुग्ने छ।