केही समयदेखि २७ सयमा प्रतिरोध पाइरहेको नेप्सेले यो तह सजिलै पार गरेको छ। बुधबार नेप्से ४३.२२ अंकले बढेर २७४२.८८ विन्दुमा आएको हो। केही समयदेखि नेप्सेले २७ सयको विन्दुमा प्रतिरोध परिक्षण गरिरहेको थियो।
दसैं अगाडी बजारले बढ्न सक्ने संकेत गरेको थियो। सो समय नेप्सेको रेखा चित्रमा बनेको पाँच दिने मुभिङ एभरेज रेखाले २० दिने मुभिङ एभरेज रेखालाई पार गरेर माथि लागेको थियो। यस्तो भएमा बजार थप बढ्ने अनुमान गरिन्छ। यदी २० दिने रेखा बढ्न थालेर पाँच दिनेलाई तल पारेर माथि गयो भने बजार घट्न थाल्ने मानिन्छ।
दसैंपछि दुई दिनको कारोबारमा नेप्से परिसूचक ७५ अंकले बढ्न सफल भएको छ। कारोबार रकममा पनि सुधार देखिएको छ। मंगलबार तीन अर्ब ६ करोड रूपैयाँको कारोबार भएकोमा बुधबार पाँच अर्ब ६६ करोड रूपैयाँ पुगेको छ। कारोबार रकम ८४ प्रतिशतले बढेको हो।
कारोबारमा आएका सबै समूहगत परिसूचक बढेपनि व्यापारमूलक समूह, जलविद्युत, बैंकिङ र जीवन बिमा समूहको परिसूचक उच्चले बढेको छ। यी समूहमा १.८० प्रतिशतदेखि ३.४४ प्रतिशतसम्म वृद्धि भएको छ।
उच्चले मूल्य बढ्ने कम्पनीहरूमा लघुवित्त र जलविद्युत् कम्पनीहरू नै रहेका छन्। विजय लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ९.३३ प्रतिशतसम्म वृद्धि भएको छ। इष्टर्न हाइड्रोपावरको पनि ९ प्रतिशतभन्दा धेरैले मूल्य बढेको छ।
अप्पर स्याङजे हाइड्रोको सेयर मूल्य १० प्रतिशत घटेर सर्किट ब्रेक लागेको छ। नेपाल फाइनान्स र हिमालयन रि इन्स्योरेन्सको धेरै रकमको सेयर कारोबार भयो। नेपाल फाइनान्सको १५ करोड नौं लाख र हिमालयन रिको १५ करोड चार लाख रूपैयाँ बराबरको सेयर किनबेच भयो।
यसदिन तीन सय २० स्क्रिप्सको कारोबार हुँदा दुई सय ५० को मूल्य बढ्यो र ५४ वटाको मूल्य घटेको छ।