दश करोडको लगानीमा दाङमा चिस्यान केन्द्र निर्माण गरिएको छ।
दाङ देउखुरीको लमही नगरपालिका वडा नम्बर ३ टिकलीगढीमा किसानले उक्त चिस्यान केन्द्र निर्माण गरेका हुन्।
सो चिस्यान केन्द्रको निर्माण कार्यमा राप्ती उद्यम प्रालीको लगानी पनि रहेको छ। साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको दुई करोड ९९ लाख ४४ हजार तीनसय २१ रुपैयाँ र राप्ती उद्यम प्रालिमा आबद्ध किसानको लगानीमा उक्त चिस्यान केन्द्र सञ्चालनको तयारी भइरहेको प्रालिका अध्यक्ष देवानजङ चौधरीले बताए।
आगामी चैत एक गतेदेखि उक्त चिस्यान केन्द्र सञ्चालनमा आउने जानकारी दिइएको छ।
स्थानीय किसानले उत्पादन गरेका कृषि उपज फलफूल तथा तरकारी चिस्यान केन्द्रको अभावमा सड्ने तथा बिग्रने भएको हुँदा किसानको मागलाई लक्षित गर्दै चिस्यान केन्द्रको स्थापना गरिएको जानकारी दिइएको छ।
करिब ३ हजार २ सय मेट्रिक टन क्षमता रहेको उक्त चिस्यान केन्द्रबाट दाङ र छिमेकी जिल्ला सल्यान, प्यूठान, अर्घाखाँची, कपिलवस्तुसम्मका किसान लाभान्वित हुने अपेक्षा गरिएको छ।
चौधरीले तरकारी तथा फलफूलका लागि अलग/अलग तीन वटा च्याम्बर निर्माण गरिएको बताए। दश कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको चिस्यान केन्द्र प्रालिमा आबद्ध किसान मिलेर जग्गा खरिद गरेका थिए।