चोभारमा बन्न लागेको फलफूल तथा पुष्प संकलन केन्द्रको निर्माण कार्य सुस्त हुँदा विश्व बैंकको करोडौं अनुदान रकम फिर्ता हुने भएको छ।
केन्द्रको निर्माण २० प्रतिशत पनि हुन सकेको छैन। विश्व बैंकको सहयोगमा संचालित ‘व्यवसायिक व्यापार आयोजना’को अवधि सकिनै लाग्दा निर्माण भने कछुवा गतिमा छ।
बाहिरबाट आयात गरी काठमाडौ उपत्यकाको लागि फलफूल तथा पुष्प उपजहरु वितरण गर्नको लागि यो संकलन केन्द्र निर्माण गर्न लागिएको हो। दुईवटा ५ तले, एउटा ३ तले भवन र अन्य केही संरचनासहित अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्य राखिएको आयोजनाले जनाएको छ।
व्यवसायीक व्यापार आयोजनाको अवधि असार १६ गते सकिने र सोही मितिसम्म काम नभ्याए विश्व बैंकको अनुदान फिर्ता जाने अयोजनाका सूचना अधिकारी रुद्रमणी पौडेलले जानकारी दिए।
महादेव खिम्ती निमार्ण सेवा, अनक कन्ट्रक्सन र बंगलादेशी कम्पनी साम्सोजाङले संयूक्त रुपमा ३३ कारोडमा निर्माण गर्ने ठेक्का पाएका थिए। १ वर्ष अगाडि १३ महिनाको लागि ठेक्का सम्झौता गराइएको पौडेलले जानकारी दिए।
‘संकलन केन्द्र बनाउन लागिएको भु–भागको बीचबाट बाहिरी चक्रपथ पर्यो र स्थानीयको अवरोधपछि करिव ६ महिना काम प्रभावित बन्यो’ पौडेलले सेतोपाटीसँग भने।
आयोजनाको अवधि रहुन्जेलसम्म निर्माण कार्य पुरा नसकिएपनि सकेसम्म धेरै काम गरेर थोरैमात्र पैसा फिर्ता जाओस भन्ने लक्ष्य लिएर काम भइरहेको उनले बताए।
पछिल्ला दिनमा निर्माण कम्पनीले नै ढिलासुस्ती गरेको व्यवसायिक कृषि तथा ब्यापार आयोजनाका वरिष्ठ योजना अधिकृत दिनेश सापकोटाले जानकारी दिए। ‘उहाँहरुले घटीघटाउ लागतमा ठेक्का हाल्नुभयो, हाल निर्माण सामाग्रीको भाउ बढ्यो, नाफा नहुने देखेपछि आलटाल गर्दै हुनुुहुन्छ’ सापकोटाले भने।
स्रोत साधनले भ्याएअनुसारको रफ्तारमा काम भएमा ८० देखि ९० प्रतिशतसम्म सम्पन्न हुने र धेरै पैसा फिर्ता नजाने उनले बताए। यो कामबाट यी कम्पनीलाई हटाएर अर्को कम्पनी ल्याउँदा झनै समस्या थपिने सापकोटा बताउँछन्। ‘अर्को कम्पनीलाई राख्नलाई पनि समय धेरै छैन, अर्को निर्माण कम्पनीले काम सुरु नगर्दै आयोजनाको अवधि सकिन्छ’ उनले भने।
आयोजना अवधिभर काम पूर्ण रुपमा नसकिए पनि धेरै हिस्सा सम्पन्न हुने कृषि विकास मन्त्रालयका सहसचिव काशिराज दाहालले बताए। ‘समयको कारण शत प्रतिशत काम भ्याउन नसकेपनि अनुदानको धेरै रकम परिचालन होस् भन्ने हाम्रो चाहना हो, बाँकी थोरै काममा पछि लगानी गर्न सरकारलाई पनि त्यति गाह्रो पर्दैन’ उनले भने।
विश्व बैंकले आयोजनाको म्यादसम्म सम्पन्न भएको कामको मात्र पैसा ब्यहोर्ने छ। चोभारको २२ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको संकलन केन्द्रबाट उपत्यकाका बजारमा फलफूलको वितरण हुनेछ।
तस्वीरः नारायण महर्जन