‘पुसको पाक्य, माघको खाक्य’ भन्ने उखान अहिले पनि सुन्न पाइन्छ।
पुस मसान्तको बेलुका उसिनेको तरुल, पिंडालु, सखरखण्डजस्ता परिकार माघे संक्रान्ती अर्थात माघ १ गते खाने चलन छ। माघे संक्रान्ती, मकर संक्रान्ति, माघी जस्ता नामले चिनिने यो चार्ड नजिकिएसँगै राजधानी लगायत देशका धेरै तरकारी पसलमा पिंडालु, सखरखण्ड र तरुलले वर्चस्व जमाएको छ।
अरु बेला वास्ता नगर्नेले पनि यस दिन पर्व मान्नैको लागि यी तरकारी खोज्दै आउने गरेको ब्यापारीहरु बताउँछन्। केही दिनयता देशको प्रमुख तरकारी बजार कालिमाटीमा यस्ता तरकारी किन्न निकै भिड लागेको देखिन्छ। माग बढेकै कारण यतिबेला यी तरकारी धेरै भित्रिएको कालिमाटी बजार विकास समितिले जनाएको छ।
कालिमाटी बजारमा पुस महिनामा करिव ७ सय टन तरुल, १ सय ५ टन सखरखण्ड र १ सय १५ टन पिंडालु भित्रिएको समितिका उप–निर्देशक बिनय श्रेष्ठले जानकारी दिए।
‘तरुल, सखरखण्ड, पिंडालु आदी मौसमी तरकारी हुन्। त्यसैले पुस र माघ बाहेकका महिनामा यी तरकारीको पर्याप्त उपलव्धता हुँदैन। पछिल्ला केही बर्षयता भने अन्य महिनामा पनि थोरै थोरै यी तरकारी भित्रिन थालेका छन्’ श्रेष्ठले भने।
धेरै तरकारी आयात भइरहँदा तरुल, सखरखण्ड र पिंडालु भने स्वदेशी उत्पादनले नै धान्ने श्रेष्ठले जानकारी दिए। यी तरकारी करिव ५० प्रतिशत सर्लाही जिल्लाबाट मात्रै तथा बाँकी ५० प्रतिशत धादिङ, चितवन, काभ्रे, मकवानपुर, नुवाकोट, नवलपरासी, पाल्पा, लगायतका जिल्लाबाट आयात हुने उनले बताए।
श्रेष्ठका अनुसार बजारमा अहिले सेतो, रातो, घर, हात्ति पाइले, पाताले, पानी, बन, सिमल जातका तरुल तथा रातो र सेतो जातको सखरखण्ड पाइन्छ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको २०७१ र २०७४ सालको मूल्य तुलना गर्ने हो भने सखरखण्डमा ५२.०८, पिडालुमा ३१.२५ र तरुलमा २०.८३ प्रतिशतले मूल्य वृद्धि भएको छ।
४ वर्षको मूल्य- प्रतिकेजी रुपैयाँमा
फल/तरकारी |
२०७१ |
२०७२ |
२०७३ |
२०७४ |
४ वर्षको मूल्य बृद्धि (प्रतिशतमा) |
सखर खण्ड |
४८ |
६५ |
७५ |
७३ |
५२.०८ |
पिंडालु |
४८ |
४५ |
४५ |
६३ |
३१.२५ |
तरुल |
४८ |
५५ |
६५ |
५८ |
२०.८३ |
पहिले–पहिले भन्दा माग धेरै र किसानको लागत बढेका कारण केही मूल्य वृद्धि भएको श्रेष्ठ स्वीकार्छन्। त्यस्तै पछिल्लो सात दिनको तथ्याङ्क हेर्ने हो भने पनि पिंडालुमा प्रतिकेजी ५ र तरुलमा १५ रुपैयाँ बढेको छ।
यो हप्ताको औसत मूल्य (प्रतिकेजी रुपैयाँमा)
फल/तरकारी |
सोम |
मंगल |
बुध |
बिही |
शुक्र |
शनी |
आइत |
सखरखण्ड |
– |
– |
७५ |
६८ |
७५ |
७५ |
७३ |
पिंडालु |
५८ |
५८ |
६३ |
५५ |
५८ |
५८ |
६३ |
तरुल |
४३ |
६३ |
५८ |
६५ |
६८ |
६८ |
५८ |
विशेषत यी तरकारी चार्डपर्वमा धेरै बिक्री हुने हुँदा त्यो बेला ह्वात्तै बढेर चार्डपर्व सकिँदा त्यसरी नै ओरालो लाग्ने गरेको श्रेष्ठको अनुभव छ।
‘माघे संक्रान्ती अगाडिको तथ्याङ्क हेर्दा यी तरकारीको मूल्य वृद्धि भएको जस्तो लाग्छ तर माघको २, ३ गते नै यसको मूल्यमा धेरै गिरावट आउँछ, त्यसैले यसलाई ठूलो अन्तर मान्नु पर्दैन’ उनले भने।